काठमाडौँ । अखिल (छैठौं) ले लामो समयदेखि विद्यार्थी सङ्गठनमा भूमिका खेल्नुभएका स्मृतिशेष नारायण सापकोटाप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
अध्यक्ष देवेन्द्र कुँवरको हस्ताक्षरमा २०८१ जेठ ३० गते शोकवक्तव्य जारी गर्दै युनियनले श्रद्धाञ्जली व्यक्त गरेको हो ।
शोकवक्तव्यमा स्मृतिशेष सापकोटाले अखिल (छैठौं) को बागलुङ जिल्ला समिति, धवलागिरी क्याम्पस बागलुङमा स्ववियु निर्वाचन तथा युनियनको चौधौँ, पन्ध्रौँ र सोह्रौँ राष्ट्रिय सम्मेलनमा खेल्नुभएको भूमिकाबारे चर्चा गरिएको छ ।
सापकोटालाई सिद्धान्तनिष्ठ, अध्ययनशील, जुझारु, कर्तव्यनिष्ठ र अनुशासित व्यक्तित्वको रूपमा उल्लेख गरिएको उक्त शोकवक्तव्यमा उहाँको निधनबाट कम्युनिस्ट आन्दोलनमा अपुरणीय क्षति पुगेको उल्लेख छ ।
यस्तो छ, शोकवक्तव्यको पूर्ण पाठ :
“बागलुङ जिल्ला गल्कोट निवासी नारायण सापकोटाको जेठ २८ गते अल्पायुमै भएको असमायिक निधनले हाम्रो सङ्गठन अत्यन्तै दुखी भएको छ । हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको सम्पुर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ ।
उहाँले लामो समयसम्म हाम्रो सङ्गठनको विभिन्न तहमा रहेर काम गर्नुभएको थियो । बागलुङ जिल्लाको अखिल (छैठौं) को चौधौँ र पन्ध्रौँ सम्मेलनबाट उहाँ जिल्ला अध्यक्षमा दुई कार्यकाल निर्वाचित हुनुभएको थियो । त्यसैगरी, २०५१ सालमा भएको स्ववियु निर्वाचनमा धवलागिरी क्याम्पस बागलुङमा अखिल (छैठौं) को तर्फबाट सभापति पदको उम्मेदवारसमेत रहनुभएको थियो ।
त्यसैगरी, उहाँ अखिल (छैठौं) को २०५५ सालमा सम्पन्न चौधौँ राष्ट्रिय सम्मेलनवाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । २०५७ सालमा सम्पन्न पन्ध्रौँ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सचिवमा निर्वाचित हुनुभयो । अखिल (छैठौं) र अखिल २०२२ बिच २०५९ सालमा एकता भई अखिल एकीकृत हुँदा पनि उहाँ पुनः केन्द्रीय सचिवमा निर्वाचित हुनुभयो । अखिल (छैठौं) को सोह्रौँ राष्ट्रिय सम्मेलनपछि भने उहाँले विद्यार्थी राजनीति छाडेर मजदुर मोर्चामा सामेल भई नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।
सरल स्वभावका सापकोटा अत्यन्तै सिद्धान्तनिष्ठ, अध्ययनशील, जुझारु, कर्तव्यनिष्ठ र अनुशासित व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको निधनले नेपालको कम्युनिस्ट आन्दोलनमा अपुरणीय क्षति भएको छ ।
अन्तमा, हामीले उहाँलाई हाम्रो सङ्गठनप्रति पुर्याउनुभएको अमूल्य योगदानको उच्च कदर गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछौँ ।”