काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली टोलीबाट मैदानमा उत्रिने भएका छन् ।
अमेरिकाले भिसा नदिँदा अमेरिका जान नपाएका सन्दीप वेस्टइन्डिज हुने दुईवटा खेलमा सहभागी हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
नेपालले वेस्टइन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशसँग प्रतिस्पर्धा गर्ने तालिका छ। दुवै खेलमा सन्दीपले सहभागिता जनाउने क्यानका सचिव पारस खड्काले विज्ञप्तिमार्फत् जानकारी दिएका छन्।
खड्का आज (२८ जेठमा) जारी गरेको विज्ञप्तिमा सन्दीप गत मे १६ देखि नै नेपालको अफिसियल स्क्वाडमा रहेको उल्लेख छ।
‘उनको अमेरिकी भिसा प्राप्त नभए पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेश विरुद्ध नेपालका दुई खेलमा उनको उपस्थित रहने जानकारी गराउन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ।
साथै सन्दीपको भिसासँग सम्बन्धित क्यानप्रति लक्षित नकारात्मक वक्तव्यबाजी सत्य नरहेको दाबी पनि विज्ञप्तिमा गरिएको छ।
सन्दीपले दिए धन्यवाद
आफू विश्वकप खेल्न वेस्ट इन्डिज पुगेपछि सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) लगायत सबैलाई धन्यवाद दिएका छन् ।
उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै क्यानअध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काजस्ता हस्तीको छवि धूमिल पार्न भइरहेको प्रयासले आफू दुःखी भएको उल्लेख गरेका छन्।
‘मेरो यात्रा सम्भव बनाउन हाम्रा अध्यक्ष चुतरबदहाुर चन्द सर, सचिव तथा मेरा प्रिय दाइ पारस खड्का, वकिल सरोज के घिमिरे दाइ, विनोद दास दाइ, प्रबल गौतम दाइ तथा प्रिय बालकृष्ण लामिछाने दाइको असधारण र समर्पित प्रयासका लािग अभार व्यक्त गर्छु’, सन्दीपले भनेका छन्, ‘आईसीसी र सम्बन्धित सबै आधिकारिक सञ्जालको समन्वयबाट म यो टी२० विश्वकमा भाग लिन सम्भव भएको हो’ उनले लेखेका छन् ।