काठमाडौं । भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीले आज (आइतबार) पदको शपथ खाँदै छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार मोदीले तेस्रो कार्यकालका लागि आज साँझ ७ः१५ बजे प्रधानमन्त्री पदको शपथ खाने कार्यक्रम छ।
शपथ ग्रहण समारोह राष्ट्रपति भवनमा हुनेछ।
शपथ नेपालसहित श्रीलंका, बंगलादेश, माल्दिभ्स, सेशेल्स, मौरिसस र भुटान गरी ७ राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहनेछ। चीन, पाकिस्तान र अफगानिस्तानका राष्ट्र प्रमुख भने सहभागी हुने छैनन्।
मोदीसँगै ४० सांसदले पनि मन्त्रीको शपथ लिन सक्नेछन्। यीमध्ये एनडीए गठबन्धनका १४ साझेदारका १८ सांसद समावेश हुन सक्छन्। टीडीपी र जेडीयूबाट २र२ र शिवसेनाबाट एक जना क्याबिनेट मन्त्री बन्न सक्नेछन्।
भर्खरै सम्पन्न १८औँ लोकसभा निर्वाचनमा उनको पार्टी भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धन एनडीएले ५४३ सदस्यीय लोकसभामा बहुमत २९२ सिट जितेपछि मोदी लगातार तेस्रोपटक भारतका प्रधानमन्त्री बनेका हुन्।
यसपटक भाजपा एक्लैले भने २४० सिट मात्र जितेको छ। यसअघि पनि मोदी एनडीएबाटै प्रधानमन्त्री बनेका थिए। तर त्यतिबेला भाजपा एक्लैले बहुमत सिट जितेको थियो।
आजको शपथ लिएपछि उनले भारतीय इतिहासमा लगातार तीनपटक प्रधानमन्त्री बनेका जवाहरलाल नेहरुको कीर्तिमान बराबरी गर्ने छन्। नेहरु सन् १९५२, १९५७ र १९६२ मा लगातार प्रधानमन्त्री बनेका थिए।
मोदी पहिलोपटक सन् २०१४ मा प्रधानमन्त्री बनेका थिए। यसपछि मोदी सन् २०१९ मा प्रधानमन्त्री बने।
प्रधानमन्त्री प्रचण्ड भारत जाँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न नयाँदिल्ली जाँदै छन्।
प्रधानमन्त्री प्रचण्डका साथमा उनकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी रहनेछन्।
मोदीले शपथ लिएपछि प्रधानमन्त्री प्रचण्ड र उनीबीच आज साँझ नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ।
प्रधानमन्त्री प्रचण्ड भोलि सोमबार स्वदेश फर्किने कार्यक्रम छ।
यसअघि सन् २०१४ मा प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए।