काठमाडौं । काठमाडौँमा सम्पन्न आठौँ प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि टिपटप हेल्प नेपालले उचालेको छ।
शनिबार त्रिपुरेश्वरस्थित राष्टिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न पुरुषतर्फको फाइनलमा गण्डकीलाई ३–१ को सेटमा हराउँदै हेल्प नेपालले उपाधि उचालेको हो।
उपाधिसँगै हेल्प नेपालले ८ लाख रुपैयाँ प्राप्त गर्नेछ। दोस्रो भएको गण्डकी प्रदेशले ४ लाख रुपैयाँमा हात पारेको छ।
हेल्प नेपालले गण्डकीलाई २५–२२,२०–२५,२५–० र २५–२० ले हराएको हो।
आजै भएको पुरुषतर्फको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब तेस्रो भएको छ। पुलिस क्लबले आर्मीलाई ३–२ को सेटमा हराएको हो। पुलिस क्लबले आर्मीलाई ३१–२९,१३–२५,२२–२५,२५–२३ र १५–८ को जित निकाल्यो।
तेस्रो भएको पुलिस क्लबले २ लाख रुपैयाँ प्राप्त गरेको छ।
आजै भएको महिलातर्फको खेलमा एभरेष्ट भलिबल क्लबलाई हराउँदै पुलिस क्लब च्याम्पियन बनेको छ।
यस्तै, त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै नेपाल एपीएफ क्लब तेस्रो भएको छ।