काठमाडौं । भारतको तल्लो सदन लोकसभाको निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले बहुमत ल्याउन सकेन ।
निर्वाचनको अन्तिम परिणाम अनुसार १० वर्षदेखि सत्ता सम्हालेका बहालवाला प्रधानमन्त्री नरेन्द्र मोदीले उल्लेख्य शक्ति गुमाएका छन्।
भाजपा नेतृत्वको गठबन्धन नेसनल डेमोक्रेटिक एलायन्स (एनडीए) सामान्य बहुमत ल्याएको छ । भाजपा नेतृत्वको गठबन्धन एनडीएले कुल २९३ सिट जितेको छ।
त्यहाँ सरकार बनाउन लोकसभामा २७२ सिट आवश्यक हुन्छ।
भारतभरिमा कुल ५४३ सिट रहेको लोकसभामा सत्तारुढ भाजपाबाट प्रधानमन्त्री मोदीसहित २४१ सांसद निर्वाचित भएका छन्।
यसपालि कंग्रेसले लोकसभामा झण्डै दोब्बर उपस्थिति बढाएको छ। कंग्रेस एक्लैले ९९ सिट जित्दा उसको नेतृत्वको गठबन्धन ‘इन्डिया’ले २३३ सिट बनाएको छ।
अघिल्लो लोकसभा चुनावमा भाजपा एक्लैले ३०३ सिट जितेको थियो र यो संख्या एक्लै सरकार बनाउन पर्याप्त थियो। सिंगो गठबन्धनको सिट जोड्दा ३५३ हुन्थ्यो। कुल मतको ३७ प्रतिशत बीजेपीको भागमा परेको थियो भने समग्र एनडीएको जोड्दा ४५ प्रतिशत हुन्थ्यो।
अहिले बीजेपी २४१ सिटमा सीमित भएको छ भने एनडीएको उपस्थिति २९३ मा खुम्चिएको छ।
बीजेपीले अघिल्लो चुनावको तुलनामा यसपालि लोकसभामा २० प्रतिशतभन्दा बढी शक्ति गुमाएको छ।
यसअघि एकल बहुमतमा रहेको बीजेपी त्यो हैसियतमा त रहेन नै, उसले सरकार बनाउन पनि गठबन्धनका अन्य घटकको साथ लिनैपर्ने अवस्था बनेको छ।
अघिल्लो चुनावमा भारतीय राष्ट्रिय कंग्रेस ५२ सिटमा झरेको थियो, जुन संसदमा प्रमुख प्रतिपक्षीको मान्यता पाउन आवश्यक १० प्रतिशतभन्दा पनि कम थियो। कंग्रेस नेतृत्वको गठबन्धनका सबै घटक जोड्दा भने ९१ सिट हुन्थ्यो।
१० वर्षपछि भारतमा विपक्षी बेञ्च बलियो बनेको छ भने प्रधानमन्त्री नरेन्द्र मोदीको शक्ति ह्वात्तै घटेको छ ।