काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घ काठमाडौँको दोस्रो जिल्ला भेला रोशन दानीलाई अध्यक्षमा निर्वाचन गर्दै सम्पन्न भएको छ ।
केन्द्रीय अध्यक्ष श्यामलाल पोखरेलको प्रमुख आतिथ्यमा २०८१ जेठ १९ गते बागबजारमा उक्त भेला सम्पन्न भएको हो ।
११ पूर्ण तथा तीन सल्लाहकार रहनुभएको उक्त समितिको उपाध्यक्षमा लक्ष्मी चौधरी, सचिवमा लक्ष्मण बेलबासे, कोषाध्यक्षमा किरण पाण्डे तथा सदस्यहरूमा ध्रुव बस्याल, खेमराज अधिकारी, समष्टि बुढा, नेसन महर्जन, अस्मिता क्षेत्री र प्रशिद्ध बेलबासे रहनुभएको छ । सदस्यको एक स्थान रिक्त राखिएको छ ।
समितिको सल्लाहकारमा समीर सिंह, लक्ष्मणदेव पाण्डे र विपिन पोखरेल रहनुभएको छ ।
अनुशासित भएर काम गर्नुस : पोखरेल
भेलामा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै अध्यक्ष पोखरेलले अनुशासित भएर काम गर्न सम्पूर्ण पत्रकार साथीहरूसित आग्रह गर्नुभयो ।
‘अरू पत्रकार जस्तो पार्टीको विरुद्धमा जथाभावी बोल्ने, लेख्ने प्रगतिशीलका पत्रकारहरूले गर्नुहुँदैन’ उहाँले भन्नुभयो– ‘प्रगतिशील पत्रकार सङ्घका पत्रकार अनुशासित हुन्छन् भन्ने सबैलाई थाहा छ । हामी अनुशासित हुनैपर्छ । अनुशासविहीन प्रकारले लेख्ने, बोल्ने छुट हाम्रा साथीहरूलाई छैन ।’
सम्बोधनको क्रममा उहाँले आसन्न नेपाल पत्रकार महासङ्घको चुनावको बारेमा पनि सङ्गठनको धारणा राख्नुभएको थियो ।
उहाँले सङ्गठनको स्वतन्त्र भूमिकाका साथै वामपन्थी वा लोकतान्त्रिक दुवै प्यानलसित सहकार्य गर्ने प्रगतिशीलको निर्णय रहेको जानकारी दिनुभयो ।
महासचिव प्रकाश थापामगरले नयाँ समितिको प्यानल प्रस्तुत गर्नुभएको सो भेलालाई अखिल नेपाल कानुन व्यवसायी सङ्घ (अन्ला) का महासचिव लक्ष्मणदेव पाण्डे, जातीय समता समाजका महासचिव भक्त विक, अखिल नेपाल युवक सङ्घका सचिव डम्मर कार्की, राष्ट्रिय जनमोर्चा काठमाडौँका अध्यक्ष झविन्द्र बेलबासे र नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगत्प्रसाद रेग्मीले शुभकामना दिनुभएको थियो ।
रोशन दानीको अध्यक्षता तथा लक्ष्मण बेलबासेको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा उपस्थित जनसमुदायलाई ध्रुव बस्यालले स्वागत गर्नुभएको थियो ।