निस्वार्थ ममताकी जननी आमालाई छ नमन।
स्वर्णिम संसारकी विधाता आमाप्रति छ नमन।।
सन्तानको दुःख र पीडा देख्नै खप्नै नसक्ने आमा।
सुख भोक प्यास सबै भुल्ने सन्तानका लागी आमा।।
दश महिनाको गर्भमा पालन कति कठिन थियो।
झरी बतास गर्मीवाट हुर्काउनै कठिन थियो।।
उकाली अनि ओरालीसँग घाँस दाउराको भारी ।
त्यो भारी माथि अझ हाम्रो पनि जीउकोसम्म भारी।।
चुहिने झुप्रो त्यो माथि रातभरको चिच्चाइ हाम्रो।
आफू चिसोमा सुतेर ओवानो विस्तारा थियो हाम्रो।।
मेलोपातोबाट पनि छिट्टै विदा लिई आउन पर्ने ।
आफू भोकै बसी खाना हामीलाई खुवाउनु पर्ने।।
म जन्मँदै अनेकौं दुःखकष्ट सहनु भयो आमा।
रोगभोकमा पनि खुसियालीमा रमाउनु भो आमा।।
सुख त कहिल्लै दिन सकेनौं हजुरलाई आमा।
प्रदेशबाटै स्मरण गर्दै नमन गर्दछौं आमा ।।
उपहार छैन केही नत साथमै रहन सक्यौं।
नत सुख र खुसी जीवनमा कहिल्लै दिन सक्यौं।।
तर आमा म मनैभरी हजुरको पीडा सम्झन्छु।
हर कदम हजुरकै आशिर्वादलाई सम्झन्छु।।
खिमराज चालिसे (चंडीगढ, भारत)