टेकराज भुसाल, बुटवल ।
शिक्षाप्रेमी कुलानन्द बन्जाडेको अठाह्रौँ स्मृतिदिवसको अवसर पारेर भूमिकास्थान नगरपालिका वडा नम्बर १ र २ (साविक ढाकाबाङ गाविस) का उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ ।
कुलानन्द बन्जाडे स्मृति प्रतिष्ठानले २०८१ जेठ १६ गते बुधबार भूमिकास्थान–२ का वडाअध्यक्ष बुद्धिबहादुर थापाको विशेष उपस्थितिमा १५ विद्यालयका उत्कृष्ट ३० जना छात्रछात्रालाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो ।
सो अवसरमा मन्तव्य राख्द वडाध्यक्ष थापाले स्मृतिशेष बन्जाडेको योगदान शिक्षा क्षेत्रसँगै नेपालको कम्युनिस्ट आन्दोलन, समाज र राष्ट्र परिवर्तनमा रहेको बताउनुभयो ।
प्रत्येक वर्ष स्मृतिशेष बन्जाडेको सम्झनामा विद्यार्थीलाई प्रोत्साहनस्वरूप गरिने सम्मान कार्यक्रमले विद्यार्थीलाई हौसला मिल्ने प्रतिष्ठानका अध्यक्ष भुवानन्द भुसालले बताउनुभयो ।
प्रतिष्ठानका अध्यक्ष भुसालको अध्यक्षता, उपाध्यक्ष बाबुराम खनालको स्वागत मन्तव्य र सचिव हिमलाल खनालको सञ्चालनमा सम्पन्न सो कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाप्रेमी जनप्रतिनिधि, सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
विश्व माध्यमिक विद्यालय ढाकाबाङका तत्कालीन प्रधानाध्यापक बन्जाडेको २०६३ जेठ १६ गते ५८ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको थियो ।
चार दशक लामो शिक्षण पेसासँगै नेपालको कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्याउनमा अर्घाखाँची ढाकाबाङका कुलानन्द बन्जाडेको योगदान रहेको मानिन्छ । शिक्षण पेसासँगै कम्युनिस्ट आन्दोलनलाई समयअनुसार भूमिगत र खुल्ला रूपले योगदान पुराएका बन्जाडेको असमायिक निधन भएको आज १८ वर्ष पुगेको छ ।


