काठमाडौं । पोखरा विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालनमा ल्याएको छ। स्थापनाको २७ वर्षपछि विश्वविद्यालयले सोमबारदेखि पोखरा ३०,लेखनाथमा रहेको विश्वविद्यालय हाताभित्र १ सय शय्याको अस्पताल सुरु गरेको हो।
सो अस्पतालको गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरे।
१० करोड रुपैयाँको लागतमा अस्पताल बनेसँगै अब त्यहाँ अध्ययनरत विद्यार्थीलाई प्रयोगात्मक कक्षा लिन बाहिर जानुपर्ने बाध्यता हटेको स्वास्थ्य विज्ञान संकायका डीन डा. अमर नागिलाले बताए।
विश्वविद्यालयले यसअघिबाटै प्यारामेडिक्स,बीडीएस नर्सिङ बीएससी नर्सिङ, बिएनएस,बिएमएलटी (ल्याब साइन्स) बीपीएस, बी फार्मेसी, बीपीटी (फिजियो का स्नातक तहका तथा ल्बाब्रोटरी साइन्स, फार्मेसी र पब्लिक हेल्थका स्नातकोत्तरका कक्षाहरु संचालन गरिरहेको छ।
ती कोर्ष पढ्ने विद्यार्थीहरुलाई विश्वविद्यालयले तत्कालीन पश्चिमाञ्चल अस्पताल (हालको स्वास्थ्य विज्ञान प्रतिष्ठान) मा प्रयोगात्मक कक्षाका लागि पठाउने गर्थ्यो।
अहिले अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा दिइरहेको छ भने इसीजी, रेडियोलोजी पनि त्यहीँ उपलब्ध छ। अस्पतालले फार्मेसी पनि चलाएको छ।
शल्यक्रिया सेवा, सघन उपचार कक्ष (आईसीयू), नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) र अन्तरंग सेवा सञ्चालनको तयारी गरेको विश्वविद्यालयका निर्देशक डा. दीपेन्द्रकुमार यादवले जानकारी दिए।
अस्पतालमा अहिले ४० जना कर्मचारी रहेका छन्। तीमध्ये ६ जना कन्सल्टेन्ट डाक्टर तथा ६ जना मेडिकल अफिसर रहेका, प्रयोगशालादेखि अस्पताललाई आवश्यक पर्ने सबै सामग्री तम्तयार रहेको पनि डा. नागिलाको भनाइ छ।
अस्पतालाई बढाएर ३ सय शय्याको बनाउने र त्यसपछि एमबीबीएस र एमडीका कक्षाहरु पनि चलाइने उनले बताए।
पोखरा विश्वविद्यालय २०५४ साल साउन १ गते विधिवत् रुपले स्थापना भएको हो।