देबेन्द्र बस्याल
घना जंगलको मुनी
मेरो सानो घर छ
हरियो घाँसको बीचमा
मेरो उजाड बास छ
मेरो घरको पारिपट्टी
माटोको थुप्रैथुप्रा छन्
थुप्राको वरीपरी दुलैदुला छन्
एकदिन मैले देख्छु
त्यहाँ एउटा मुसा
दुलोबाट बाहिर निस्केर
पल्याकपुलुक हेरेको देख्छु
मेरो बारीको अन्नपात
खाएर उ ढुस्स मोटाएको देख्छु
फेरि पनि आगनीको अनाज चोर्न
बाउन्न जाल चालेको देख्छु
मैले बारेको बार भत्काउन
उसका तिखा दाँतहरु प्रयोग गर्छ
उसका धारीला दाँतहरुले
बारका डण्डीहरु भाँच्ने कुचेष्टा गर्छ
मेरो आस्थाको बार गर्ल्याम्मै ढाल्न
उ निकै उद्यत र सक्रीय देखिन्छ
म उसलाई पारि बुटाको
छेलपारेर टुलुटुल हेरिरहन्छु
उसका हर्कतहरु पढिरहन्छु
उसले चालेका गोटीहरुको
हिसाब किताब गरिरहन्छु
मैले उसलाई धम्क्याएर
उसका दाह्रानङग्रा थुतेर
फ्याक्न चाहन्छु
उसको घरबास खनेर
उठिबास बनाउन चाहान्छु
उसलाई दुलोभित्रै
घाँटी अँठ्याउन चाहन्छु
दुलोबाट थुतेर पछार्न चाहन्छु
आगोको लप्कामा पोलेर
छाला काड्न चाहन्छु
सत्यनास होस गरिबको शत्रु मुसा
अनि उसले थुपारेका
अन्नपात म वापस गर्न चाहान्छु
देबेन्द्र बस्याल (हाल जापान)

