काठमाडौं । सरकारले घोषणा गरेर लामो समयदेखि रोकिएको खेलाडीको पुरस्कार रकम निकासा गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले खेलाडीलाई २ करोड ९७ लाख १० हजार नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
युवा तथा खेलकुद मन्त्रालयले पेश गरेको प्रस्तावलाई मन्त्रिपरिषदले अनुमोदन गरेसँगै १९औं एसियन गेम्समा पदक विजेता, क्रिकेट टिम र पारा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकले नगद पुरस्कार पाउने भएका हुन्।
यस्ता छन् मन्त्रिपरिषदका मुख्य चार निर्णय
१) प्रहरी नायव महानिरीक्षकहरू उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने।
२) अन्तर्राष्ट्रियस्तरको क्रिकेट, कराते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृति दिने।
३) समाजकल्याण परिषदको रिक्त उपाध्यक्ष पदमा नन्दलाल माझी, सुनसरीलाई मनोनयन गर्ने।
४) भाषा आयोगको रिक्त सदस्य पदमा सुरेश मानन्धर, काठमाडौंलाई नियुक्त गर्ने।