काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आइसिसी टी–२० वरियताको अलराउन्डरतर्फ एघारौँ स्थानमा उक्लिएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले जारी गरेको नयाँ वरियतामा दीपेन्द्र चौधौँ स्थानबाट सुधार गर्दै एघारौँ स्थानमा पुग्न सफल भएका हुन् ।
त्यसैगरी, ब्याटिङतर्फको विश्व वरियतामा १६ स्थान सुधार गर्दै ऐरी बैसट्ठिऔँ स्थानमा उक्लिएका छन् ।
ऐरी हाल ओमानमा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरिरहेका छन् । उनले उक्त प्रतियोगताअन्तर्गत कतार विरुद्धको खेलमा एकै ओभरमा छ छक्का प्रहार गरेका थिए ।
ब्याट्सम्यानको नयाँ वरियतामा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल त्रिपन्नौँ स्थानमा रहँदा आसिफ शेखले ३६ स्थान सुधार गर्दै पचहत्तरौँ स्थानमा उक्लेका छन् ।
त्यस्तै, कुशल मल्ल नौ स्थान सुधार गर्दै सयौँ स्थानमा पुगेका छन् ।