काठमाडौं । कर्णाली नदीमा सोमबार एक युवक डुबेर बेपत्ता भएका छन् । कैलाली र बर्दियालाई जोड्ने चिसापानीस्थित कर्णाली पुलबाट होली मनाइहेका युवाहरूको समूह नदीमा हामफाल्दा एकजना बेपत्ता भएका हुन् ।
होली मनाउन पुलमा जम्मा भएको सयौँ जनाको भीडबीच १७ जना पालैपालो कर्णालीमा हामफालेका थिए ।
होली पर्वको रमाइलोबीच एकपछि अर्को गर्दै १७ जना हाम फाले । जसमा १६ औँ नम्बरमा हामफालेका युवक डुबेका हुन् । उनी अघिका १५ जना र उनीअघि १७ औँ नम्बरमा हामफालेका युवक पनि तैरिँदै बाहिर निस्कँदा सयौँजनाको सामु ति युवक भने तैरिन सकेनन् ।
कर्णालीको पुलमाथि वारिपारि जम्मा भएर हेरिरहेकाहरू ती युवक डुबिरहेको देखेर आत्तिए। तत्कालै किनारमा रहेका दुईवटा डुंगा ती युवकको खोजीमा नदीमा हेलिए। तर डुबिसकेका ती युवकलाई डुंगा चालहरूले भेट्टाउन सकेनन्।
ती युवक डुबिरहेको दृश्य कैलालीकी पत्रकार इन्दु केसीले कैद गरिरहेकी थिइन्। उनले कैद गरेको भिडिओमा हेर्दा हेर्दै ती युवक कर्णालीमा बिलाउन पुगेको देखिन्छ ।
‘जिन्दगीमा साह्रै ठूलो पछुतो रह्यो। आँखैअगाडि यसरी हाम फालेको देखियो, हाफफालेका १७ जनामध्ये एक जना बेपत्ता भए’ इन्दुले पछुतो मान्दै सामाजिक सञ्जालमा भिडिओ पोस्ट गरेर भनेकी छन्, ‘प्रत्यक्षदर्शी भएर म पनि रमिता हेर्ने जमातमा परेँ। हामफाल्दैछ्न भन्ने थाहा पाउनेबित्तिकै प्रहरीलाई खबर गर्छु भन्ने सोच्दा सोच्दै हामफाले। समयमा खबर गरेको भए सायद घटना हुने थिएन कि ।’
बेपत्ता हुनेमा कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीका ३० वर्षीय लोकेन्द्र शाही रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दले बेपत्ता शाहीको खोजी भइरहेको बताए ।