काठमाडौँ । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले सुन तस्करीमा आफ्नो संलग्ना अस्वीकार गरेका छन् ।
२०८० चैत ८ गते बिहीबार सरकारी वकिल कार्यालयमा भएको बयानमा उनले संलग्नता अस्वीकार गरेका हुन् ।
महरासँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो )सिआइबी) ले बुधबारदेखि बयान लिन सुरु गरेको छ । बयानमा उनले आफ्नो संलग्नता अस्वीकार गरेका सिआइबीका एक अधिकृतले बताए ।
पूर्व सभामुखसमेत रहेका महरा यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ परेका थिए।
महरालाई काठमाडौँ जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति दिएको छ।
अस्पतालमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट आदेश भएपछि उनलाई नर्भिक अस्पतालमा राखिएको छ।
गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोटमा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग उनको नाम जोडिएको छ।
त्यस बेला सिआइबीले उनलाई बयान कागज गरेर मात्रै छाडेको थियो। यो प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसकेका छन्। राहुल हाल पुर्पक्षमा थुनामा छन्।