काठमाडौं । डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने कि नगर्ने भन्ने विषयले फुटको संघारमा पुगेको छ ।
माओवादीसँग एकता गर्ने विषयमा अध्यक्ष डा। बाबुराम भट्टराई र अर्का अध्यक्ष महिन्द्र राय यादवबिचको विवाद उत्कर्षमा पुगेको छ ।
अध्यक्ष डा भट्टराईले बोलाएको बैठक महिन्द्र पक्षले बहिष्कार गर्ने घोषणा गरेको छ । भट्टराईले चैत ४ गते केन्द्रीय कार्यकारिणी समिति र ५ गते केन्द्रीय समिति बैठक बोलाएका छन् ।
यादवसँग सल्लाह नगरी एक पक्षीय रुपमा भट्टराईले बैठक बोलाएको भन्दै महिन्द्र पक्षधरले विरोध गरेका हुन् ।
बिहीबार नेसपाका महासचिव रमेशप्रसाद यादवले एक विज्ञप्ति जारी गर्दै भट्टराईले बोलाएको बैठक आधिकारिक नभएको जानकारी गरेका छन् ।
‘नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक मिति २०८० चैत ४ र ५ गते बोलाइएको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ । अध्यक्षद्वयको सहमतिमा बोलाउनुपर्ने बैठक अध्यक्ष महिन्द्र राय यादवको सहमतिबिनै एकपक्षीय रूपमा अध्यक्ष डा बाबुराम भट्टराईको निर्देशनमा बोलाइएकोले उक्त बैठक नेपाल समाजवादी पार्टीको बैठक नभएको जानकारी गराउँदछु’ विज्ञप्तिमा उल्लेख छ ।
यसअघि नेसपाका अध्यक्ष यादवलाई यसअघि नै माओवादी केन्द्रले लिखित पत्र पठाएरै एकताका लागि प्रस्ताव गरेको थियो। तर त्यसबेला माओवादीले डा। भट्टराईलाई सम्बोधन गरेको थिएन। यस्तोमा डा। भट्टराई नेसपा निर्माण अभियानमा लागिरहँदा यादव भने माओवादीसँग एकताको पक्षमा देखिएका छन् ।
२०७९ मंसिरको चुनावमा माओवादीकै चुनाव चिह्नबाट संघीय संसद्मा विजयी भएका यादव यसअघि प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री नै भइसकेका छन्।
भट्टराई प्रचण्डसँग रुष्ट हुँदै दूरी बढाइरहँदा यादव भने माओवादीसँग एकता गर्ने तयारीमा छन्। भट्टराईले आफूहरू एकता गर्ने पक्षमा रहे पनि प्रचण्डले केही नेता कार्यकर्तालाई पार्टी प्रवेश मात्रै गराउन चाहेको बताउँदै आएका छन् ।
