काठमाडौँ । राष्ट्रिय जनमोर्चाले फागुन ३० गते प्रतिनिधि सभामा सरकारको विश्वासको मतदान हुँदा तटस्थ बसेको नभएर सरकारको विरोधमा मतदान गरेको स्पष्ट पारेको छ ।
रातो पाटी डट कमले राजमो तटस्थ बसेको समाचार प्रकाशन गरेपछि पार्टी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले २०८० फागुन ३० गते बुधबार नै स्पष्टीकरण दिँदै सो जानकारी दिएको हो ।
स्पष्टीकरणमा पार्टी अध्यक्ष चित्रबहादुर केसीले नयाँ गठबन्धनको विरोध गर्दै मतदानमा हुन्न भनेको स्मरण गराइएको छ ।
स्पष्टीकरणमा पौडेलले लेख्नुभएको छ–
“आज प्रधानमन्त्री प्रचण्डले संसद्मा राखेको विश्वासको प्रस्तावमा भएको मतदानको समाचार दिदै “रातोपाटी” अनलाइनले लेखेको छ– “प्रधानमन्त्रीले राखेको विश्वासको प्रस्तावमा मतदान हुँदा विपक्षी दलबाट ११० मत परेको थियो । त्यसैगरी राष्ट्रिय जनमोर्चा कसैको पनि पक्षमा संलग्न नभई तटस्थ बस्यो ।”
बताइरहनुपर्ने आवश्यकता छैन कि त्यो समाचार पूरै नै असत्य र निराधार हो । सम्पूर्ण संसद तथा त्यहाँ उपस्थित सबै पत्रकारहरू त्यो कुराको साक्षी छन् ।
हिजो राष्ट्रियसभामा अध्यक्षको चुनावमा भएको मतदानमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा सांसद का. तुलबहादुर विश्वकर्म (राजेश) तटस्थ बस्नुभएको कुरा सत्य हो तर आज संसद्मा प्रधानमन्त्रीको विश्वासको प्रस्तावबारे आफ्नो वक्तव्य दिँदा हाम्रो पार्टीका अध्यक्ष का. चित्रबहादुर केसीले नयाँ बनेको गठबन्धनको विरोध गर्नुभएको थियो र मतदान हुँदा “हुन्न” भन्नुभएको थियो । त्यो अवस्थामा “रातोपाटी” ले जुन झुटा समाचार दिएको छ, त्यसका लागि हामीले आश्चर्य र दु:ख व्यक्त गर्न चाहान्छौँ ।”