काठमाडौँ । राष्ट्रिय जनमोर्चाले गठबन्धन विघटन भएकोमा प्रतिगमनलाई बल पुग्ने सम्भावना देखा परेको बताएको छ ।
अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८० फागुन २२ गते मङ्गलबार प्रेसवक्तव्य जारी गर्दै राजमोले यस्तो आशङ्का व्यक्त गरेको हो ।
देशमा बहुदलीय व्यवस्था, गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध खतरा बढ्दै गएको विश्लेषण गर्दै वक्तव्यमा भनिएको छ– “२०६२–६३ सालको ऐतिहासिक आन्दोलनका उपलब्धिको रक्षामा हाम्रो जोड हुने छ ।”
राजमोले यी विषयका साथै राष्ट्रियता र जनजीविकाको सवालमा दृढतापूर्वक सङ्घर्ष गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“प्रतिगमनका विरुद्ध गठन भएको गठबन्धनको विघटन भएको कार्यप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । पूर्व गठबन्धनको विघटन भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा नयाँ गठबन्धनको सरकार निर्माण भएको छ ।
यो बताइरहनुपर्ने आवश्यकता छैन कि विगतमा प्रतिगमनका विरुद्ध गठन भएको गठबन्धनले प्रतिगमनलाई परास्त गर्न महत्त्वपूर्ण भूमिका खेलेको थियो । प्रतिगमन विरुद्ध सङ्घर्षको दौरान नै त्यसको निर्माण भएको थियो । प्रतिगमनका विरुद्धमा महत्त्वपूर्ण भूमिका खेलेको गठबन्धनलाई विघटन गराउने कार्यको हाम्रो दलले तीव्र विरोध र आलोचना गर्दछ । गठबन्धनको विघटनबाट प्रतिगमनलाई बल पुग्ने सम्भावना देखा परेको छ ।
वर्तमान सरकारले अपनाउने नीति र कार्यक्रमको आधारमा सरकारप्रति हाम्रो पार्टीले आफ्नो नीति निर्धारित गर्ने छ ।
आज देशमा बहुदलीय व्यवस्था, गणतन्त्र, धर्मनिरपेक्षता विरुद्ध खतरा बढ्दै गएको हुनाले २०६२–६३ सालको ऐतिहासिक आन्दोलनका उपलब्धिको रक्षामा हाम्रो जोड हुने छ । त्यसका साथै देशको राष्ट्रियताको अगाडि पनि गम्भीर रूपले खतरा बढ्दै गएको छ । यी सबै प्रश्नका साथै जनजीविकाको सवालमा हाम्रो पार्टीले दृढतापूर्वक सङ्घर्ष गर्दै जाने प्रतिबद्धतासमेत व्यक्त गर्दछौँ ।”