काठमाडौं । चितवनको रत्ननगर नगरपलिका–१० स्थित एकता शिशु निकेतनको छात्रावासमा मृत्यु भएकी १४ वर्षीया छात्रा शालीन पोखरेलको बलात्कार नभएको पोस्टमार्टम रिपोर्ट आएको छ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको पोस्टमार्टमको रिपोर्ट आइतबार आएको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले जनाएको छ।
मृत्युको कारण आत्महत्या हो भन्ने पोस्टमार्ट रिपोर्ट अस्पतालले दिएको र पोस्टमार्टम रिपोर्टले शालिनको बलात्कार भएको पुष्टि नभएको स्रोतले बतायो ।
गत शनिबार बिहान १० बजेको समयमा चितवनको रत्ननगर नगरपालिका–१५ माधवपुर मामाघर भएकी एकता शिशु निकेतन स्कुलको होस्टलमा बस्दै आएकी १४ वर्षीया शालीनको शंकास्पद मृत्यु भएको थियो।
अर्की साथीसहित बस्ने होस्टलको कोठामा रहेको सिलिङको पंखामा डोरीको सहयोग लिएर झुन्डिएको अवस्थामा उनी मृत भेटिएकी थिइन्। शालीनको मृत्युपछि आफन्तले ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएका थिए।
जाहेरीपछि प्रहरीले प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सह(प्रधानाध्यापक ४० वर्षीय किरणबहादुर अधिकारी र होस्टेल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो। उनीहरू अझै प्रहरीको हिरासतमै छन्। उनीहरूलाई चितवन जिल्ला अदालतको आदेशमा अनुसन्धानका लागि सात दिनसम्म हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।
उता शालीनका आफन्ताहरू उनको बलात्कारपछि हत्या भएको दाबीसहित आन्दोलित छन्। सामाजिक सञ्जालमासमेत शालीनको पक्षमा न्याय अभियान चलाइएको छ।