काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सांसदको कार्यकाल आज (फागुन २०) बाट सकिँदैछ। ६ वर्षे कार्यकाल निर्धारण भएका २० सांसदको कार्यकाल आज रातिबाट सकिन लागेको हो।
आजबाट पदावधि सकिनेमा नेकपा एमालेबाट ९, नेपाली कांग्रेसबाट ४, माओवादी केन्द्रबाट ३, एकीकृत समाजवादीबाट २, जसपाबाट १ र एकजना स्वतन्त्र सांसद रहेका छन्।
आजबाट रिक्त हुने २० मध्ये १९ पदमा निर्वाचन भइसकेको छ। सो निर्वाचनबाट चुनिएका सांसदको सोमबार शपथ ग्रहण कार्यक्रम राखिएको छ।
बाँकी एक पदमा सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्थ छ। राष्ट्रिय सभा सदस्यको पदावधि ६ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाइ सदस्यको निर्वाचन हुने व्यवस्था छ।
यी हुन पदावधि सकिने सांसद
नेकपा एमाले– राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रमुख सचेतक भैरव सुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार, रामचन्द्र राई र विमला राई पौड्याल।
नेपाली कांग्रेस– रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्रनारायण देव।
माओवादी केन्द्र– विना पोखरेल, महेशकुमार महरा, हरिराम चौधरी।
एकीकृत समाजवादी– नन्दा चपाईं, सिंगबहादुर विश्वकर्मा।
जसपा– प्रमिलाकुमारी यादव
स्वतन्त्र सांसद– खिमलाल देवकोटा