चितवन । चितवनको रत्ननगर नगरपालिका १० मा रहेको एकता शिशु निकेतन विद्यालयको होस्टेलमा एक बालिका मृत फेला परेकी छन् । सोही होस्टेलमा बसेर कक्षा ८ मा १४ वर्षीया शालिन पोखरेल गत शनिबार मृत फेला परेकी हुन् ।
आइतबार साँझ हजुरआमासँग बिदा भएर होस्टेल फर्किएकी बालिका शनिबार विहानै होस्टेलको कोठामा मृत भेटिएपछि आफन्तले बालिकाको बलात्कारपछि हत्या भएको दाबी गरेका छन् ।
शालिनको आमा बुवाको केही वर्षअघि सम्बन्ध विच्छेद भएपछि उनी मामाघरको हजुरआमाको साथमा रहेकी थिइन्। उनका बुवा काठमाडौं बस्ने र आमा विदेशमा रहेको पारिवारिक स्रोतले बताएको छ।
रत्ननगर नगरपालिका १५ माधवपुरमा शालिनको मामाघर छ। मामाघरमा उनको हजुरआमा मात्रै छिन्। पढ्न सिकाउने मान्छे घरमा नभएपछि हजुरआमाले उनको दिदीको घर नजिकै रहेको उक्त विद्यालयमा भर्ना गरिदिएकी थिइन्।
शनिबार बिहान शालिनसँगै बस्ने बालिकाहरूले उनलाई मृत अवस्थामा देखेपछि रोइकराई गर्दै होस्टेल बाहिर निस्किएका थिए। उनीहरूको कोलाहाल सुनेर विद्यालय नजिकै रहेका स्थानीयहरु पुग्दा शालिनलाई घाँटीमा डोरी लगाएर झुण्डिएको अवस्थामा फेला पारेका थिए।
घाँटीमा डोरी लगाएर पंखामा झुण्डिएको अवस्थामा भेटिएकी शालिनको आत्महत्या नभएर बलात्कारपछि हत्या गरेर झुण्ड्याइएको आफन्तले दाबी गरेका छन्। आफन्तहरूले बलात्कारपछि हत्या गरेर झुण्ड्याइएको भन्दै प्रहरीमा जाहेरी दिएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी श्रीराम भण्डारीका अनुसार उक्त घटनाको अनुसन्धान गर्न तीनजनालाई पक्राउ गरिएको छ।