काठमाडौं । भारतमा एउटा मालवाहक रेल बिनाचालक ७० किलोमिटर गुडेको छ ।
उक्त रेल आइतवार जम्मु तथा कश्मीरको कठुआबाट पन्जाबको होशियारपुर जिल्लासम्म बिनाचालक कुदेको बीबीसीले जनाएको छ ।
सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा उक्त रेल तीव्र गतिमा विभिन्न स्टेशन हुँदै गुडेको देखिन्छ।
भारतीय रेल सेवाका अनुसार पछि त्यो रेललाई रोकियो। उक्त घटनाक्रममा कोही पनि घाइते भएनन्।
समाचारसंस्था प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) का अनुसार उक्त घटना बिहान ७ः२५ देखि ९ः०० बजेसम्म भएको अधिकारीहरूले बताएका छन्।
त्रिपन्नवटा डब्बा भएको उक्त रेल जम्मुबाट चिप पत्थर लिएर पन्जाबका लागि हिँडेको थियो।
चालकदल फेर्न कठुआमा रोकिएको बेला अकस्मात् उक्त घटना भएको हो।
अधिकारीहरूका अनुसार जम्मुबाट चलाएर ल्याएका चालक र उनका सहायक ओर्लिएपछि उक्त रेल रोकिएको ठाउँमा पटरीमा ओरालोतिर गुडेको थियो।
रेल बिनाचालक झन्डै १०० किमि प्रतिघण्टाको गतिमा कुदेको थियो।
रोकिनुअघि उक्त रेलले पाँचवटा स्टेशन पार गरेको थियो।
उक्त अनियन्त्रित रेलबारे सूचना पाउनासाथ अधिकारीहरूले दुर्घटना हुन नदिन रेलमार्गमा पर्ने सबै क्रसिङ बन्द गरिदिएका थिए।
काठका मुढाले रेलको गति घटाउन सघाएका थिए।
अधिकारीहरूका अनुसार रोकिएको रेल कसरी गुड्यो भन्ने वास्तविक कारण पत्ता लगाउने प्रयास भइरहेको छ। गुडेपछि भारतीय रेल सेवाले छानबिन गर्न आदेश दिएको अधिकारीहरूले बताएका छन्।
कारण पत्ता लागे भविष्यमा त्यस प्रकारको घटना रोक्न सकिने उनीहरूको अपेक्षा छ।