तौलिहवा । राष्ट्रिय जनमोर्चाले कपिलवस्तु शिवराज नगरपालिका वडा नं। ३ मा रहेको सबडिभिजन वन कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएको छ ।
वनमा काठदाउरा चोरीनिकासी रोक्न राजमो कपिलवस्तुका सचिव केरसिंह अदैको नेतृत्वमा २०८० फागुन १० गते बिहीबार चन्द्रौटास्थित वन कार्यालयमा ध्यानाकर्षण बुझाएको हो ।
टोलीमा राजमो शिवराज नगर समितिका सचिव श्यामप्रकाश खनाल, राजमो जिल्ला सदस्य रामबहादुर चमार, राजमो शिवराजकै नगर सदस्यहरू रामदेव कुर्मी, श्याममोहन केवट, झकबहादुर विक, बुद्धिजीवी छन्दबहादुर केसी, राजमो शिवराज ३ का वडासमिति सदस्य भीमसरा अदै हुनुहुन्थ्यो ।
टोलीले वडाको देउराली सुगुरपुरुवा क्षेत्रबाट रातको समयमा काठतस्करले गुल्ली, काँचो काठदाउरा चोरीनिकासी गरेको, नर्सरीमा लगाइएको बिरुवासमेत काटिएको, दुमानिया, गोबाइया जङ्गल उजाड बन्दै गएको शनिबार मात्र जङ्गल खुल्ला गरिए पनि रातको समयमा बढी चोरीनिकासी हुने गरेको बताउँदै सम्बन्धित निकायको ध्यान नगएकोमा यस्ता क्रियाकलाप तुरुन्त रोक्न कडा व्यवस्था गर्न सम्बन्धित निकायसित आग्रह गरिएको छ ।
सब डिभिजन वन कार्यालय खरेन्द्रपुरका अधिकृत सञ्जयकुमार मिश्राले कमजोरी स्वीकार गर्दै सबैले साथ दिनुपर्ने बताउनुभयो ।
राजमोले चन्द्रौटामा रहेको डिभिजन वन कार्यालय गौतमबुद्धमा पनि आजै चोरी निकासी रोक्न ध्यान आकर्षण गराएको छ ।
व्यापक मात्रामा जङ्गल फडानी भएपछि र जनताको धेरै गुनासो आएपछि राजमोले वन कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएको राजमोले बताएको छ ।
