• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नेपालको कम्युनिस्ट आन्दोलनको सन्दर्भमा रणनीति र कार्यनीतिसम्बन्धी विवाद


  •   शुक्रबार, माघ २६, २०८० मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    —क—

    माक्र्सवादी–लेनिनवादी सिद्धान्तमा रणनीति र कार्यनीतिका बिचमा अत्यन्त गम्भीर सम्बन्ध छ । ती दुईका बिचको त्यो सम्बन्ध गम्भीर हुनुका साथै अत्यन्त जटिल पनि छ ।

    समाजवाद, साम्यवाद हाम्रा दीर्घकालीन उद्देश्य हुन् । समाजवादको विकास उच्च अवस्थामा पुगेपछि नै साम्यवादको स्थापना हुन सक्दछ । जुन देशमा पुँजीवाद वा औद्योगिक विकास उच्च अवस्थामा पुग्दछ वा अर्का शब्दमा पुँजीवादी प्रजातान्त्रिक क्रान्ति सम्पन्न हुन्छ, त्यो देशमा नै समाजवादको विकास हुन्छ । पहिले पुँजीवादी प्रजातान्त्रिक क्रान्ति पुँजीपति वर्गको नेतृत्वमा नै हुने गर्दथ्यो तर आज विश्व साम्राज्यवादको युगमा पुँजीपति वर्गको नेतृत्वमा पुँजीवादी प्रजातान्त्रिक क्रान्ति सफल हुन सक्दैन किनभने त्यस प्रकारको क्रान्तिमा साम्राज्यवाद बाधक भएर उभिन्छ । त्यसैले त्यो क्रान्तिलाई सफल पार्नका लागि साम्राज्यवादका विरुद्ध पनि सङ्घर्र्ष गर्नुपर्ने आवश्यकता हुन्छ । कुनै देशको पुँजीपति वर्गका लागि साम्राज्यवादका विरुद्ध सङ्घर्र्ष गर्नु सम्भव हुँदैन । त्यो अवस्थामा सामन्तवादका साथै साम्राज्यवादका पनि विरुद्ध सङ्घर्र्ष गर्ने शक्तिको नेतृत्वमा नै पुँजीवादी प्रजातान्त्रिक क्रान्ति सफल हुन सक्दछ । त्यस प्रकारको सङ्घर्र्ष गर्न सक्ने शक्ति सर्वहारा वर्गको पार्टी वा कम्युनिस्ट पार्टी नै हो । कम्युनिस्ट पार्टीको नेतृत्वका कारणले पुँजीवादी प्रजातान्त्रिक क्रान्ति नयाँ जनवादी क्रान्ति बन्न जान्छ र त्यही नेपाल जस्तो अर्धसामन्ती र अर्धऔपनिवेशिक देशका लागि रणनीति पनि बन्न जान्छ ।

    रणनीति कुनै देशको समग्र ऐतिहासिक र वस्तुस्थितिसित सम्बन्धित हुन्छ । त्यो सम्पूर्ण स्थितिमा परिवर्तन भएपछि नै रणनीतिमा परिवर्तन हुन्छ । त्यसरी रणनीतिको चरित्र स्थायी र दीर्घकालीन प्रकृतिको हुन्छ । त्यसको विपरीत कार्यनीतिको प्रकृति अस्थायी प्रकारको हुन्छ । तात्कालिक राजनीति वा घटनाक्रममा केही परिवर्तन हुनेबित्तिकै कार्यनीतिमा परिवर्तन हुन्छ । कुनै एउटा रणनीतिलाई पूरा गर्नका लागि कार्यनीतिका कैयौँ चरणमा जानुपर्ने आवश्यकता हुन्छ ।

    कार्यनीति कुनै समयसीमामा बाँधिएको हुँदैन । कुनै बेला त्यसमा परिवर्तनका लागि वर्षौंको समय पनि लाग्न सक्दछ भने कुनै बेला लेनिनले भनेजस्तो २४ घण्टामा पनि कार्यनीतिको परिवर्तन हुन्छ । कार्यनीतिको परिवर्तन हाम्रो इच्छामाथि मात्र भर पर्दैन । घटनाक्रममा परिवर्तन भएपछि एउटा कार्यनीति अकस्मात अर्काे कार्यनीतिमा पनि बदलिन जान्छ वा बदल्नु आवश्यक हुन्छ ।

    कार्यनीतिको त्यस प्रकारको परिवर्तनको प्रक्रिया वस्तुस्थिति वा राजनीतिक स्थितिमा हुने परिवर्तनको ठोस विश्लेषणमाथि निर्भर गर्दछ । त्यसरी घटनाक्रम वा तात्कालिक राजनीतिक स्थितिको कुनै पार्टीले कहाँसम्म सही विश्लेषण गर्न सक्दछ ? त्यसमाथि नै पूरै पार्टीको कुशलता निर्भर गर्दछ । त्यसको विपरित कतिपय बेला कुनै पार्टीको नेतृत्वले ठोस स्थितिको ठोस विश्लेषण नगरिकन आत्मगत वा भावनात्मक आवेगका आधारमा पनि कार्यनीति निश्चित गर्ने गर्दछन् । त्यसका कैयौँ दुष्परिणामहरू उग्र“वामपन्थी”, दक्षिणपन्थी, “मध्यपन्थी” वा सङ्कीर्ण “वामपन्थी” गल्ती पनि हुन जान्छन् । त्यसको परिणामस्वरूप देश, पार्टी वा आन्दोलनलाई गम्भीर प्रकारका क्षति पनि पुग्ने गर्दछन् । विश्वको र नेपालको पनि कम्युनिस्ट आन्दोलनमा पनि बारम्बार त्यस प्रकारका गल्ती धेरै पल्ट हुने गरेका छन् । त्यस प्रकारका गल्तीमध्ये उग्र“वामपन्थी” गल्तीलाई लेनिनले एउटा बालब्याधि पनि बताएका छन् । त्यो भनाइको अर्थ हो, जस्तो कि कुनै बालकले कुनै विषयमा बुद्धि पुर्‍याउन नसक्दा कैयौँ प्रकारका गल्ती गर्दछ, त्यही प्रकारले उग्र“वामपन्थी” गल्ती पनि एउटा बालव्याधि नै हो ।

    माक्र्सवादी–लेनिनवादी दर्शनको आधार द्वन्द्वात्मक भौतिकवाद हो । माक्र्सवादी–लेनिनवादी दर्शनले सबै कुराको निर्धारण भौतिक परिस्थितिको मूल्याङ्कन गरेर नै गर्दछ तर माक्र्सवादले भौतिकवादलाई यान्त्रिक रूपमा होइन, द्वन्द्वात्मक रूपमा नै बुझ्दछ ।

    दर्शनको क्षेत्रमा द्वन्द्वात्मक भौतिकवादले अधिभूतवादसित सधैँ कडा सङ्घर्र्ष गर्दै आउनुपरेको छ । त्यो सङ्घर्र्ष वैचारिक रूपले अत्यन्त कठिन हुन्छ किनभने एङ्गेल्सले आफ्नो प्रसिद्ध पुस्तक ‘ड्युहरिङ मतखण्डन’ मा बताए जस्तै समाजमा मानिसको आम चिन्तनप्रणाली अधिभूतवादी प्रकारको हुन्छ । द्वन्द्वात्मक प्रक्रिया बढी कठिन र जटिल हुन्छ भने अधिभूतवाद सरल प्रकारको हुन्छ । त्यसैले धेरै मानिसले अधिभूतवादी प्रणालीलाई नै अपनाउँछन् । मानिसमा जन्मजात रूपमा नै अधिभूतवादी स्वभाव हुन्छ ।

    द्वन्द्वात्मक प्रणाली वैज्ञानिक प्रणाली हो । त्यसैले कुनै निष्कर्षमा पुग्नका लागि कुनै विषयमा विस्तृत र गहन रूपले अध्ययन, अनुसन्धान वा जाँचबुझ गर्नुपर्ने आवश्यकता हुन्छ । अर्को शब्दमा कुनै विषयमा विभिन्न कोणबाट छानबिन वा विश्लेषण गर्नुपर्ने आवश्यकता हुन्छ र त्यही द्वन्द्ववाद हो । त्यसैले आम मानिसले त्यसो गर्नुको सट्टा मनको आवेगअनुसार बेग्लाबेग्लै विचार प्रकट गर्ने गर्दछन् । विभिन्न राजनीतिक पार्टी वा कैयौँ कम्युनिस्टले पनि त्यही अर्थात् अधिभूतवादी तरिका अपनाउँछन् । रणनीति र कार्यनीतिको सम्बन्धको सन्दर्भमा पनि त्यस प्रकारका गल्ती विश्व कम्युनिस्ट आन्दोलनमा अत्यधिक रूपमा हुने गरेका छन् ।

    —ख—

    कम्युनिस्ट आन्दोलनमा दर्शन वा सिद्धान्तको प्रदर्शनले सैद्धान्तिक महत्त्व राख्दछ तर व्यवहारमा सबैभन्दा ठुलो महत्त्व तात्कालिक राजनीतिक लाइनले नै राख्दछ । तात्कालिक राजनीतिक लाइन निर्धारण गर्ने सिलसिलामा सबैभन्दा महत्त्वपूर्ण कुरा कार्यनीति नै हुन्छ । अरू सबै सिद्धान्त वा दृष्टिकोण सही भए पनि कार्यनीति गलत भयो भने त्यसबाट पार्टी कैयौँ प्रकारका भड्कावको सिकार हुन्छ र आन्दोलनलाई धेरै नै क्षति पुग्दछ । निश्चय नै आन्दोलनमा पुग्ने क्षति दुस्मनका हमला, गतिविधि वा कार्यविधिबाट पनि पुगेको हुन्छ तर त्यसका साथै आफ्ना गल्ती वा कमजोरीबाट पनि कैयौँ पल्ट ठुलो क्षति पुगेको हुन्छ । खास गरेर कार्यनीतिसम्बन्धी गल्तीका कारणले त्यसरी धेरै नोक्सान पुग्ने गरेका थुप्रै उदाहरण विश्व कम्युनिस्ट आन्दोलनमा पाइन्छन् ।

    बेग्लाबेग्लै परिस्थितिमा खास गरेर परिस्थितिको सही विश्लेषण गर्न नसकेर त्यस प्रकारका गल्ती हुने गर्दछन् । कम्युनिस्ट आन्दोलनका संस्थापक नेताहरू माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन र माओबाट पनि त्यस प्रकारका कतिपय गल्ती हुने गरेका छन् । कैयौँ पल्ट ती गल्तीका कारणले कम्युनिस्ट आन्दोलनलाई धेरै नोक्सान पुगेको हुन्छ । कतिपय कम्युनिस्ट नेताले आफ्नो जीवनकालमा नै त्यस प्रकारका गल्तीलाई सच्याएका छन् वा गल्ती महसुस गरेका छन् । कतिपय नेताहरूले आफ्नो जीवनकालमा नै त्यस प्रकारका गल्तीलाई महसुस गर्न वा सच्याउन पाएनन् । त्यस प्रकारका गल्तीको लामो सूची छ । जे भए पनि कुनै गल्तीलाई सच्याउनु वा आत्मालोचना गर्नु बोल्सेभिक स्प्रिटअन्तर्गतको कुरा हो तर कतिपय पार्टी वा व्यक्तिले त्यस प्रकारका गल्तीलाई लगातार अगाडि बढाउने प्रयत्न गर्दछन् र त्यसबाट खालि कम्युनिस्ट आन्दोलनलाई नोक्सान मात्र पुगेको हुँदैन, त्यो क्रममा त्यस प्रकारका पार्टीको पनि पतन भएर जाने गर्दछ यद्यपि उनीहरूले आफूलाई सच्चा माक्र्सवादी–लेनिनवादी पार्टी नै बताइरहेका हुन्छन् । संसारमा त्यस प्रकारका थुप्रै उदाहरण छन् ।

    माथि कार्यनीतिसम्बन्धी गल्तीको जुन उल्लेख गरियो, विश्व कम्युनिस्ट आन्दोलनमा त्यस प्रकारका उदाहरण थुप्रै पाइन्छन् । प्रसङ्गवश तिनीहरूबारे यो लेखमा पछि केही चर्चा गरिने छ । त्यस सन्दर्भमा हामीले सर्वप्रथम नेपालको कम्युनिस्ट आन्दोलनमा गरिएका त्यस प्रकारका गल्तीको नै केही चर्चा गर्न चाहान्छौँ ।

    एकातिर माक्र्सवाद र अर्कातिर अधिभूत र अराजकतावादका बिचमा लामो समयदेखि सङ्घर्र्ष चल्दै आएको छ । माक्र्सवाद एउटा भौतिकवादी दर्शन हो । त्यसैले त्यसले कुनै पनि विषयमा विचार गर्दा भौतिक पक्षलाई नै आधार मान्दछ । उदाहरणको लागि त्यस सन्दर्भमा सर्वप्रथम यो प्रश्न नै लामो समयदेखि उठ्ने गरेको छ : भौतिक पक्ष र चेतनामध्ये कुन प्रधान हो । माक्र्सवादले भौतिक पक्षलाई नै प्रधान मान्दछ तर अधिभूतवादले चेतनालाई नै प्रधान मान्दछ । माक्र्सवादले त्यही प्रकारले कुनै राजनीतिक कार्यक्रम, नीति वा कार्यनीतिसमेतको निर्धारणका लागि माक्र्सवाद–लेनिनवादले भौतिक परिस्थितिलाई नै आधार बनाउँछ तर अराजकतावादले त्यो सोचाइलाई अस्वीकार गर्दछ र यो मान्दछ कि विचार वा आन्दोलनले नै परिस्थितिको निर्माण गर्दछ । ती दुवै प्रकारका विचारधारा अर्थात् अधिभूतवाद र अराजकतावाद, विश्व कम्युनिस्ट आन्दोलनमा विभिन्न प्रकारले प्रतिबिम्बित हुँदै आएका छन् र त्यसको परिणामस्वरूप कम्युनिस्ट आन्दोलनमा कैयौँ गम्भीर प्रकारका गल्ती वा भड्काव पैदा हुने गरेका छन् । त्यस प्रकारका गलत विचारले कार्यनीतिमा पनि कैयौँ नकारात्मक असर पार्ने गरेका छन् ।
    नेपालको कम्युनिस्ट आन्दोलनसित सम्बन्धित केही उदाहरणबाट पनि त्यो कुरा प्रष्ट हुने छ ।

    कम्युनिस्ट आन्दोलनमा कुनै पनि प्रकारको गलत सोचाइको सो अधिभूतवाद वा अराजकतावाद नै हुन्छ । अधिभूतवाद जनतामा आम रूपमा प्रचलित चिन्तन पद्धति हो । उनीहरूको कुनै पनि विचार अत्यन्त सरलीकृत प्रकारको हुन्छ । उनीहरूले कुनै पनि चिजबारे एकाङ्की प्रकारले नै विचार गर्दछन् । कुनै चिजमाथि द्वन्द्वात्मक प्रकारले विचार गर्नेतिर उनीहरूको रुचि हुँदैन । त्यस प्रकारको अधिभूतवादी सोचाइ माथिल्लो तहका विद्वान वा दार्शनिकमा पनि पाइन्छ ।

    मानिसको सोचाइ जन्मजात रूपमा नै अधिभूतवादी प्रकारको नै हुन्छ तर द्वन्द्ववादले चिजबारे विश्लेषणत्मक रूपले विचार गर्ने कुरामा जोड दिन्छ । त्यस सन्दर्भमा सर्वप्रथमत: कुनै चिजमाथि भौतिक पक्ष वा भौतिक वास्तविकतामाथि विचार गरेर नै कुनै निष्कर्षमा पुग्नुपर्छ । भौतिक पक्ष अत्यन्त गहन र जटिल विषय हो । त्यसका सयकडौँ, हजारौँ पक्ष हुन्छन् । तिनीहरूबारे जति विचार गर्दै गयो, त्यति नै बढी नयाँ पक्ष देखा पर्दछन् वा नयाँ नयाँ पक्षको उद्घाटन हुँदै जान्छ ।

    भौतिक पक्षको प्रकृति द्वन्द्वात्मक प्रकारको हुन्छ । त्यसको गतिमा विविधता हुन्छ । त्यो विविधतामा कैयौँ परस्पर विरोधी पक्ष वा विचित्र पनि हुन्छन् । कुनै पदार्थमा एक पल्ट देखा परेको कुनै पक्षको अर्काे अवस्थामा त्यसको अभाव हुन्छ वा त्यसमा त्यो नयाँ रूपमा प्रकट हुन्छ । अधिभूतवादी वा अध्यात्मवादीका लागि कुनै चिजको अध्ययन अत्यन्त सरल हुन्छ । अर्काे शब्दमा त्यो मनोगत प्रकारको हुन्छ । मनको लहडअनुसार उनीहरूले कुनै पनि बेला कुनै पनि कुराको कल्पना गर्न सक्दछन् र त्यसका लागि सत्य पनि मान्न सक्दछन् । बेग्लाबेग्लै देशका धार्मिक ग्रन्थको अध्ययन गर्ने हो भने त्यस प्रकारका सयकडौँ हजारौँ उदाहरण पाइन्छन् तर भौतिकवादका लागि कुनै निष्कर्षमा पुग्नका लागि भौतिक आधार चाहिन्छ । भौतिक पक्षमा हुने परिवर्तनअनुसार उसले आफ्ना विचारमा निष्कर्ष बदल्दै जानुपर्छ । त्यही सत्य हुन्छ तर सत्यको रूप सधैँ एउटै हुँदैन । वास्तविकतामा परिवर्तन वा त्यसबारे पनि ज्ञानको वृद्धिअनुसार सत्यको स्वरूप परिवर्तन हुँदै जान्छ ।

    माथि जे कुरा भनियो, त्यो कुरा खालि भौतिक रूपमा मात्र सत्य होइन, सामाजिक, आर्थिक, राजनीतिक विचार वा दर्शनको क्षेत्रमा पनि त्यो कुरा सत्य हो । ती सबैको निर्माणको आधार भौतिक पक्ष नै हुन्छ । त्यसकारण तिनीहरूमा कति सत्यता छ वा छैन भन्ने कुराको कसी भौतिक पक्ष नै हुन्छ । त्यसको अर्थ कुनै पनि सामाजिक वा वैचारिक पक्ष खालि भौतिक पक्षको पूरै प्रतिबिम्बमा नक्कल मात्र हुन्छन् भन्ने होइन ।

    एउटा उदाहरणबाट त्यो कुरा प्रष्ट हुने छ । दुध, घिउ आदि गाई, भैँसीले खाने घाँसपात वा खाद्यान्नबाट नै बनेका हुन्छन् तर दुध, घिउ आदिको प्रकृति घासपात वा खाद्यान्नको प्रकृतिभन्दा बेग्लै परिष्कृत प्रकारको हुन्छ । त्यही प्रकारले हाम्रो सामाजिक वा राजनीतिक जीवन वा विचार र दर्शनको मूल स्रोत भौतिक पक्ष नै हो तर नीतिको स्वरूप वा प्रकृति भौतिक पक्षको भन्दा बेग्लै वा परिस्कृत प्रकारको हुन्छ तैपनि तिनीहरूको मूल स्वरूप वा प्रकृतिलाई बुझ्न हामीले भौतिक पक्षको नै अध्ययन गर्नुपर्दछ । उदाहरणका लागि हिमालयमा बस्ने मानिसको जीवन त्यहाँको भौतिक परिस्थितिअनुसार नै बनेको हुन्छ भने तराईमा बस्ने मानिसको जीवन त्यहीँको भौतिक परिस्थितिअनुसार नै बनेको हुन्छ । त्यही कुरा कम्युनिस्ट आन्दोलनका सन्दर्भमा पनि सत्य हो ।

    कुनै देशको कम्युनिस्ट आन्दोलन वा त्यहाँका नीति र कार्यक्रमका निर्माण गर्दा भौतिक पक्षको नै अध्ययन गर्नुपर्छ र हाम्रो कार्यक्रम वा नीति कति सही छन् वा गलत ? त्यो कुराको निर्धारण भौतिक पक्ष वा भौतिक परिस्थितिसित तिनीहरूले कति मेल खान्छन् वा खाँदैनन् ? त्यो कुराले नै निर्धारण गर्दछ । त्यसैले हामीले कुनै पनि बेला, चाहे त्यो रणनीति होस् वा कार्यनीति, त्यसको मूल्याङ्कन गर्दा भौतिक वा वस्तुगत अवस्थाको मूल्याङ्कन गर्नुपर्ने आवश्यकता हुन्छ । यदि त्यससम्बन्धी मूल्याङ्कन गलत भयो भने हाम्रो रणनीति वा कार्यनीति गलत हुन जान्छ तर उक्त विषयमा चिजमाथि वस्तुगत रूपले विचार गर्नेभन्दा आत्मगत रूपले विचार गर्दा प्रायश: रणनीति वा कार्यनीति अवस्तुवादी बन्ने गरेका छन् ।

    नेकपा (माओवादी–केन्द्र) ले तत्कालका लागि नेपालको आधारभूत कार्यक्रम समाजवाद बनाएको छ तर त्यो सोचाइले नेपालको वस्तुस्थितिसित मेल खान्न । समाजवादी कार्यक्रम बनाउनका लागि पुँजीवादको उच्च विकास भएको हुनुपर्दछ वा देशमा औद्योगिक क्रान्ति सम्पन्न भइसकेको हुनुपर्दछ अथवा नयाँ जनवादी क्रान्ति सम्पन्न भइसकेको हुनुपर्दछ तर नेपाल अझै पनि अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा छ । नेपालको अहिलेको अवस्थाको व्याख्या कुन शब्दावलीमा गर्ने ? त्यसबारे बेग्लाबेग्लै व्याख्या वा मतभेद हुन सक्दछन् तैपनि यो वस्तुस्थितिबारे कुनै मतभेद हुन सक्दैन कि औद्योगिक विकासका दृष्टिकोणले नेपाल पिछडिएको र कृषिप्रधान अवस्थामा नै छ । त्यो अवस्थामा नेपालमा समाजवादी कार्यक्रम वा रणनीतिको व्याख्या गर्नु वस्तुस्थितिसित मेल नखाने र सैद्धान्तिक दृष्टिकोणले पूरै नै गलत भएको कुरा बुझ्न गाह्रो पर्दैन ।

    विप्लवले पनि वैज्ञानिक समाजवादलाई नै आफ्नो अहिलेको रणनीति बताएका छन् । मजदुर किसान पार्टीले पनि समाजवादलाई नै आफ्नो अहिलेको कार्यक्रम बताएको छ ।

    माथि उल्लेखित बेग्लाबेग्लै समूहका समाजवादी कार्यक्रम अवस्तुवादी तथा सैद्धान्तिक दृष्टिकोणले गलत भएको प्रष्ट नै छ । उनीहरूले उच्च क्रान्तिकारिताको प्रर्दशन गर्नका लागि त्यस प्रकारका अवस्तुवादी कार्यक्रम अपनाएको देखिन्छ । त्यस सिलसिलामा पहिलेको नेकपाबाट विभाजित भएर बनेको नेकपा (बहुमत) ले पनि वैज्ञानिक समाजवादलाई नै आफ्नो कार्यक्रम वा रणनीति बनाएको थियो तर नेकपा (क्रान्तिकारी–माओवादी) सित एकता गर्ने क्रममा उनीहरूको नयाँ जनवाद र नेकपा (बहुमत) को वैज्ञानिक समाजवादका बिचमा जबर्जस्ती सैद्धान्तिक मेलमिलाप गर्ने जुन प्रयत्न गरिएको छ, सैद्धान्तिक दृष्टिकोणले त्यो गलत हुनुका साथै त्यस प्रकारको सैद्धान्तिक एकीकरणले उनीहरूलाई विचित्र र हास्यास्पद अवस्थामा पनि पुर्‍याइदिएको छ ।

    कार्यनीतिका प्रश्नमा पनि नेपालका वामपन्थीमा गम्भीर प्रकारका सैद्धान्तिक अस्पष्टता देखा पर्ने गरेका छन् । त्यो क्रममा नेपालको कम्युनिस्ट आन्दोलनमा बारम्बार उग्र“वामपन्थी” भड्काव, “वाममन्थी” सङ्कीर्णतावाद वा राजावादी र प्रतिगमनोन्मुख सोचाइ देखा पर्ने गरेका छन् । त्यो सिलसिला सर्वप्रथम डा. केशरजङ्ग रायमाझीबाट सुरु हुन्छ ।

    २००७ सालको राजनीतिक परिवर्तनपछि सार्वभौमसत्ता कसको हातमा रहने वा संविधान सभाको चुनाव गर्ने वा त्यसलाई खारेज गर्ने ? कार्यनीतिसम्बन्धी त्यो बेलाको सबैभन्दा विवादग्रस्त विषय थियो । वास्तवमा त्यो विषय त्यो बेलाको मात्रै होइन, नेपालको राजनीतिको करिब छ दशकको नै अत्यन्त विवादग्रस्त कार्यनीतिक प्रश्न बन्यो । त्यो विवादमा नेपालका सबै वामपन्थी वा सबै बुर्जुवा राजनीतिक दलहरू पनि गम्भीर रूपले जोडिएका थिए । हामीले यो कुरा गर्वपूर्वक दाबी गर्न सक्दछौँ कि कार्यनीतिसम्बन्धी त्यो लामो विवादमा हाम्रो पार्टीले मात्र सुरुदेखि अन्त्यसम्म लगातार सही नीति लिएको थियो ।

    २००७ सालको संविधानले दुई वर्षभित्र संविधान सभाको चुनाव गर्ने व्यवस्था गरेको थियो तर राजालाई यो कुराको डर लागेको थियो कि संविधान सभाले सार्वभौमसत्ता जनतामा हस्तान्तरण गर्ने र राजतन्त्रसमेतको पनि अन्त्य हुने छ । त्यसैले उनले संविधान सभाको चुनाव नै हुन नदिने प्रयत्न गर्न थाले । व्यवहारले प्रष्ट गर्‍यो : अन्त्यमा संविधान सभाको चुनाव भएपछि २०६५ सालमा राजतन्त्रको अन्त्य भयो । यदि राजाको प्रयत्नलाई राजनीतिक पार्टीले साथ नदिएको भए करिब साढे पाँच दशकपहिले नै नेपालमा राजतन्त्रको अन्त्य भइसकेको हुन्थ्यो । नेपालमा हाम्रो पार्टीले मात्र राजाको त्यस प्रकारको षड्यन्त्रका विरुद्ध सङ्घर्ष गर्‍यो । त्यसले बताउँछ : संविधान सभासम्बन्धी हाम्रो पार्टीको कार्यनीति अत्यन्त सही थियो ।

    राजाले आफ्नो उद्देश्य पूरा गर्न देशका विभिन्न राजनीतिक पार्टीलाई आफ्नो पक्षमा मिलाउँदै गए । सर्वप्रथम टङ्कप्रसाद र केआई सिंह प्रधानमन्त्रीको पद पाएपछि संविधान सभाको नारा त्याग्न तयार भए । टङ्कप्रसादले राणाशासनअन्र्तगत लामो समयसम्म जेलमा कठोर जीवन बिताएका थिए । त्यसरी उनको राजनीतिक जीवन त्याग र बलिदानले भरिएको थियो । उनलाई नेपालको जिउँदो सहिद पनि भनिन्थ्यो तर प्रधानमन्त्रीको पद पाएपछि उनी संविधान सभाको नारालाई त्याग्न तयार भए । केआई सिंहले भैरहवा जेल तोडेपछि र सिंहदरवारमा विद्रोह गरेर चीन गएपछि उनी सम्पूर्ण देशका नायक नै बनेका थिए तर प्रधानमन्त्री पद पाएपछि उनी पनि संविधान सभाको चुनावलाई रद्दीको टोकरीमा फाल्न तयार भए । राजाले सुवर्णसमसेरलाई मन्त्रिमण्डलको प्रमुख बनाइदिने भएपछि नेपाली काङ्ग्रेस पनि संविधान सभाको नारा त्याग्न तयार भयो ।

    पार्टीको २०१४ सालमा सम्पन्न द्वितीय महाधिवेशनमा गणतन्त्रको प्रश्नमा मतभेद थियो तर संविधान सभाको प्रस्ताव महाधिवेशनद्वारा सर्वसम्मतिले पारित भएको थियो तर राजाको प्रभावमा परेर रायमाझी पनि त्यो नारालाई त्याग्न तयार भए । निश्चय नै पार्टीभित्रको अल्पमतले माझीको त्यस प्रकारको प्रयत्नका विरुद्ध अन्तसम्म सङ्घर्र्ष गरिरह्यो तर हाम्रो प्रस्तावको पक्षमा बहुमत आउन सकेन र केन्द्रीय कमिटीको बहुमतले औपचारिक रूपले नै संविधान सभाको नारालाई त्याग्ने निर्णय गर्‍यो । दरभङ्गा प्लेनम (२०१८ साल) मा संविधान सभाको पक्षमा बहुमत आयो तर केन्द्रीय कमिटीको बहुमतले त्यो बहुमतलाई अस्वीकार गरेको थियो । त्यसपछि पनि हाम्रो पार्टीले संविधान सभाको पक्षमा लगातार सङ्घर्र्ष गरिरह्यो । २०४८ सालको चुनावमा अन्य सबै दलले संविधान सभाको नारालाई त्याग गरे तर हाम्रो पार्टीले संविधान सभाको चुनावमा जोड दिँदै २०४८ सालको चुनावलाई बहिष्कार गरेको थियो ।

    २०६४ मा निर्वाचित पहिलो संविधान सभाले संविधान बनाउन सकेन र त्यो खारेज भयो । त्यसरी संविधानको निर्माणका लागि बेग्लाबेग्लै विचार आएका थिए । कतिपय पक्षले आयोग बनाएर संविधान निर्माण गर्ने सुझाव दिएका थिए । कतिपय पक्षले राजासहितको गोलमेच सम्मेलन गरेर पनि संविधान निर्माण गर्ने सुझाव दिएका थिए तर त्यो बेला पनि हाम्रो पार्टीले संविधान सभाको नै चुनाव गरेर संविधान निर्माण गर्ने अडान लिएको थियो । अन्त्यमा त्यसअनुसार नै संविधान सभाको निर्माण भयो र त्यही संविधान सभाले राजतन्त्रलाई समाप्त गरेर गणतन्त्र र धर्मनिरपेक्षतासहितको संविधान निर्माण गर्‍यो । त्यसरी इतिहासले संविधान सभाको हाम्रो कार्यनीतिलाई सही सावित गर्‍यो । त्यो संविधानमा स्वीकृत सङ्घीयतासित हाम्रो मतभेद थियो र त्यो मतभेद अहिले पनि कायम छ ।

    हाम्रो पार्टीको इतिहासमा संविधान सभासम्बन्धी कार्यनीतिको लामो इतिहास छ र त्यस सन्दर्भमा पार्टीभित्र र बाहिर पनि हामीले लामो सङ्घर्ष गर्दै आउनुपरेको छ । त्यो बाहेक बेग्लाबेग्लै समयमा अपनाएका अन्य बेग्लाबेग्लै कार्यनीति पनि रहेका छन् र तिनीहरूमध्ये कतिपय गलत पनि रहेका छन् । उदाहरणका लागि हाम्रो पार्टीको चौथो महाधिवेशनले देशभक्त, जनतान्त्रिक र वामपन्थी शक्तिको सरकारको कार्यनीतिक नारा दिएको थियो तर त्यसलाई हाम्रो पार्टीले कार्यनीतिक नारा बनाए पनि त्यसको प्रकृतिमाथि विचार गर्दा त्यो रणनीतिक प्रकारको थियो । त्यसकारण पाँचौँ महाधिवेशनका दस्तावेज तयार गर्ने सिलसिलामा हामीले त्यसलाई गलत ठहरायौँ र फिर्ता लिऔ“ । 

    पार्टीमा विवादमा आएको अर्को कार्यनीतिक सम्बन्धी नारा चुनावसित नै सम्बन्धित थियो । २०३१ सालमा सम्पन्न पार्टीको चौथो महाधिवेशनले पञ्चायतको चुनावलाई बहिष्कार गर्ने निर्णय गरेको थियो तर पछि पार्टीमा त्यसलाई उपयोग गर्नुपर्छ भन्ने एउटा मत आयो । त्यो मतको नेतृत्व कामरेड निर्मल लामाले गर्नुभएको थियो तर पार्टीका केन्द्रीय समितिका सबै बैठक, भेला वा सम्मेलनमा त्यो मत कहिल्यै पनि पारित हुन सकेन । त्यसैले पञ्चायतको सम्पूर्ण कालमा हाम्रो पार्टीले चुनावको बहिष्कार नै गर्ने नीति अपनायो ।

    २०४६ सालको आन्दोलनपछि देशमा बहुदलीय व्यवस्था कायम भयो । २०४८ सालमा संसदीय चुनाव सम्पन्न भयो । त्यो चुनावलाई बहिष्कार गर्ने वा उपयोग गर्ने ? त्यसबारे केन्द्रीय समितिमा मतभेद भयो । कामरेड चित्रबहादुर केसी त्यो चुनावको उपयोग गर्ने पक्षमा हुनुहुन्थ्यो । केन्द्रीय समितिमा उहा“ले बहुमत प्राप्त गर्नुभयो । पछि त्यसबारे राष्ट्रिय सम्मेलन भयो र त्यो सम्मेलनमा चुनावको बहिष्कार गर्ने हाम्रो मतले बहुमत प्राप्त गर्‍यो ।

    त्यो बेला एकातिर २०४६ सालको जनआन्दोलनको उभार थियो भने अर्कोतिर त्यो बेलाको चुनाव राजाले दिएको संविधानका आधारमा संसद्को नै चुनाव हुन थालेको थियो । त्यो अवस्थामा हामीले संविधान सभा चुनावको माग गर्दै संसदीय चुनाव बहिष्कार गर्ने निर्णय गरेका थियौ“ । पछि आन्दोलनको उभार कम हुँदै जानुका साथै हामीले स्थानीय चुनाव र संसदीय चुनावमा समेत भाग लिँदै गयौँ । हाम्रो त्यो नीति लेनिनले अपनाएको “डुमा” को चुनावको उपयोग र बहिष्कारको नीतिअनुरूप नै थियो । लेनिनले पहिले सन् १९०५ को क्रान्तिपछिको आन्दोलनको उभारको बेलामा उनले चुनावको बहिष्कार गर्ने नीति अपनाएका थिए भने पछि आन्दोलन शिथिल हुँदै गएपछि चुनावको उपयोग गर्ने नीति अपनाएका थिए ।

    २०६२–६३ को जनआन्दोलनपछि दुई दुई पल्ट संविधान सभाका चुनाव भएर हामीले नै ती दुवै चुनावमा भाग लियौ“ र त्यसपछिका संसदीय चुनावमा पनि हामीले भाग लिने नीति अपनायौ“ । त्यसपछि हाम्रो नीति लगातार नै चुनावको उपयोग गर्ने रहँदै आएको छ । हामीले लामो समयसम्म चुनावको उपयोग गर्ने नीति अपनाएकाले त्यसको प्रकृति कार्यनीतिकभन्दा रणनीतिक प्रकारको भयो भनेर पार्टीमा मतभिन्नता पनि देखा पर्ने गरेको थियो । त्यस प्रकारका मतभेद राख्ने साथीहरू अब हाम्रो पार्टीबाट फुटेर गइसकेका छन् । हाम्रो पार्टीबाट अलग भएपछि उनीहरूले चुनावमा भाग लिने नीति अपनाएका थिए र स्थानीय चुनावमा भाग पनि लिएका थिए तर स्थानीय चुनावमा कुनै पनि सिट प्राप्त गर्न नसकेपछि उनीहरूले खालि चुनावको बहिष्कार गर्ने नीति मात्र अपनाएनन्, उनीहरूले आफ्नो सङ्गठन “राष्ट्रिय जनमोर्चा” लाई नै विघटन गरिदिएका थिए ।

    कार्यनीति परिवर्तनको सम्बन्ध समयको गणनासित हुँदैन । तत्कालीन राजनीतिक स्थितिमा हुने परिवर्तनअनुसार नै कार्यनीति बदलिने गर्छ । पञ्चायती कालमा हाम्रो पार्टीले तिस वर्षसम्म पञ्चायती चुनावको बहिष्कार गरेको थियो अनि त्यसरी चुनावको त्यो बहिष्कार पनि रणनीति नै भएको थियो भनेर अर्थ निकाल्नु सही हुने छैन ।

    कार्यनीति भन्नाले तत्कालीन राजनीतिक लाइन, सङ्गठनको स्वरूप, संयुक्त मोर्चाको नीति र आन्दोलनका तरिका नै आउँछन् । त्यस सन्दर्भमा सङ्घर्षको रूप कस्तो हुनुपर्छ भन्ने विषयमा नेपालको कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि गम्भीर प्रकारको मतभेद चल्दै आएको छ । त्यस सन्दर्भमा संयुक्त मोर्चाको नीति र आन्दोलनका तरिका कस्तो हुनुपर्दछ ? त्यसबारे नेपालको कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि गम्भीर प्रकारका मतभेद चल्दै आएका छन् । खास गरेर आन्दोलन शान्तिपूर्ण प्रकारको हुनुपर्छ वा सशस्त्र सङ्घर्ष ? त्यसबारे कम्युनिस्ट आन्दोलनमा विश्वव्यापी रूपमा नै धेरै मतभेद चल्दै आएका छन् र नेपालको कम्युनिस्ट आन्दोलनमा पनि बारम्बार त्यस प्रकारका मतभेद चल्दै आएका छन् ।

    नेपालमा प्रथमत: वस्तुस्थितिको सही र ठोस प्रकारले विश्लेषण गर्न नसकेर तथा द्वितीय, कतिपय अवस्थामा विदेशी आन्दोलनको उपरी प्रकारले अन्धानुकरण गरेर नेपालमा सशस्त्र सङ्घर्ष हुने गरेका छन् । त्यस सिलसिलामा सुरुमा भारतको नक्सलवाडी आन्दोलनको अन्धानुकरण गरेर भएको झापा आन्दोलन र त्यसलाई रिमको अन्धानुकरण गरेर भएको माओवादी आन्दोलन उल्लेखनीय छन् । ती दुवै कार्यनीति उग्रवामपन्थी प्रकारका थिए र इतिहासले तिनीहरूलाई गलत साबित गर्‍यो ।

    कतिपय अवस्थामा व्यवहारमा सशस्त्र सङ्घर्षको नीति नअपनाए पनि सशस्त्र सङ्घर्षका चर्का गफ गरेर “क्रान्तिकारिता” को प्रदर्शन गर्ने गरिन्छ । त्यसलाई “क्रान्तिकारी लफ्फाजी” भन्ने गरिन्छ । हाम्रो पार्टीबाट सबैभन्दा पछि फुटेर गएका साथीहरूले त्यही प्रकारको “क्रान्तिकारी” लफ्फाजीको प्रदर्शन गरेका थिए । उनीहरूले लडाकु दल, गुरिल्ला युद्ध आदिको कुरा गरेका थिए । त्यसरी कैयौ“ “क्रान्तिकारी” लफ्फाजीको प्रयोग गरेर आफूलाई “क्रान्तिकारी” देखाउने प्रयत्न पनि गरेका थिए । माले वा माओवादीले व्यवहारमा नै सशस्त्र सङ्घर्षमा भाग लिएका थिए र त्यो क्रममा धेरै नै त्याग र बलिदान पनि गरेका थिए तर हाम्रो नया“ “क्रान्तिकारी” साथीहरूले पहिल्यै त्यस प्रकारका “क्रान्तिकारी” लफ्फाजीको कुरा गरे पनि पछि उनीहरूको त्यस प्रकारको क्रान्तिकारिता खालि व्यवहारमा लफ्फाजी मात्र सावित भयो । पछि उनीहरूले “वामपन्थी” सङ्कीर्णवादी नीति अपनाउन पुगे । त्यति मात्र होइन उनीहरूले प्रतिगामी दिशाउन्मुख नीति अपनाउन पुगे । त्यसको अर्थ हो– उनीहरूले एकातिर नयाँ जनवादी क्रान्तिका कुरा गरेर कार्यनीतिक रूपमा प्रतिगमनसित सम्झौता गर्ने, प्रतिगमन विरुद्धको सङ्घर्षलाई अवमूल्यन गर्ने, राजावादीसित समझौतापरस्त नीति अपनाउने वा गणतन्त्रको विरोधमा जोड लगाउनेसमेत कार्य गर्न थाले । त्यो वास्तवमा प्रतिगमनोन्मुख राजनीतिक दिशा नै हो । उनीहरूको “वामपन्थी” सङ्कीर्णवादी नीति सबैभन्दा बढी यो कुरामा देखा पर्‍यो कि उनीहरूले नया“ जनवादी कालको रणनीतिलाई तात्कालिक कार्यदिशा नै बनाइदिए र त्यसरी नया“ जनवादी गणतन्त्रलाई कार्यनीतिक नारा बनाइदिए ।

    अहिले हामीले आफ्नो आधारभूत कार्यक्रम नया“ जनवादी क्रान्तिलाई बताए पनि मूल रूपमा त्यो पु“जीवादी प्रजातान्त्रिक क्रान्ति नै हो । त्यसैले नया“ जनवादी क्रान्तिले मूल रूपमा पुँजीवादी प्रजातान्त्रिक क्रान्तिको कार्यभार नै पूरा गर्नुपर्दछ तर जस्तो कि माथि पनि उल्लेख गरियो, आजको युगमा त्यो कार्यभार पुँजीपति वा पु“जीपति वर्गको नेतृत्वमा सम्पन्न हुन नसक्ने भएकाले त्यसका लागि सर्वहारा वर्गको पार्टीको नेतृत्व आवश्यक हुन्छ र त्यही कारणले त्यो नयाँ जनवादी क्रान्ति बन्न जान्छ तर नयाँ जनवादी क्रान्ति भए पनि त्यसको आधारभूत कार्यभार पुँजीवादी प्रजातान्त्रिक क्रान्ति वा नयाँ जनवादी क्रान्तिको मुख्य कार्यभार भनेको अर्धसामन्ती वा अर्धऔपनिवेशिक अवस्थालाई समाप्त गर्नु र औद्योगिक विकास गर्नु नै हुन्छ ।

    हाम्रो देशमा लामो समयदेखि हामीहरूले त्यही उद्देश्य पूरा गर्नका लागि नै सङ्घर्ष गरिरहेका छौ“ । त्यो उद्देश्य पूरा गर्न हामीले बेग्लाबेग्लै समयमा बेग्लाबेग्लै कार्यनीति अपनाउँदै जानुपर्दछ ।

    नेपालमा राजतन्त्र समाप्त भयो तर त्यसको आधार एकातिर, सामन्ती वर्गीय आधार र अर्कातिर, पुरातन सामन्ती मानसिकता पनि काफी हदसम्म कायम नै छ । त्यसैले त्यसले बारम्बार आफ्नो रूप फेर्दै पुन:स्थापनाका लागि प्रयत्न गरिरहन्छ । २०४६ सालमा निरङ्कुश राजतन्त्र समाप्त भयो र देशमा वैधानिक राजतन्त्र कायम भयो । त्यसले २०५९ सालमा निरङ्कुश राजतन्त्रको रूपमा पुनस्र्थापना गर्ने प्रयत्न गर्‍यो । २०६२–६३ सालको आन्दोलनपछि देशमा राजतन्त्र समाप्त भएर गणतन्त्र कायम भयो तर राजतन्त्रले पुनस्र्थापनाका लागि लगातार गणतन्त्र र वैधानिक व्यवस्थालाई समेत समाप्त गरेर राजतन्त्रको पुनस्र्थापनाका लागि योजनाबद्ध प्रकारले प्रयत्न गरिरहेको छ । त्यो अवस्थामा प्रतिगमन विरुद्धको सङ्घर्ष अहिलेको हाम्रो कार्यनीतिको एउटा प्रमुख कार्य बन्न गएको छ । त्यो कार्यनीतिअन्तर्गत प्रतिगमन विरुद्धको सङ्घर्ष र गणतन्त्र, धर्मनिरपेक्षताको रक्षा अहिलेका हाम्रा प्रमुख जिम्मेवारी बन्न गएका छन् ।

    यस सन्दर्भमा यो पनि उल्लेखनीय छ कि नेपाल अहिले अर्धसामन्ती अवस्थामा रहेको कुरा मान्दामान्दै पनि कतिपय पक्षले सामन्तवादसितको अन्तर्विरोधलाई गौण बनाउने वा अस्वीकार गर्ने, प्रतिगमन विरुद्धको सङ्घर्षलाई कमजोर पार्ने प्रकारका समेत नीति अपनाउने गरेका छन् । यो आम रूपमा थाहा भएको कुरा हो कि जुन देश अर्धसामन्ती अवस्थामा छ, त्यहाँ नयाँ जनवादी क्रान्तिको एउटा मुख्य पक्ष सामन्तवादका विरुद्ध सङ्घर्ष नै हुन्छ ।

    कुनै देशको अर्धसामन्ती अवस्था समाप्त भएर पुँजीवादी अवस्थाको विकास भयो भने त्यहाँ नयाँ जनवादी क्रान्तिको सट्टा समाजवादी कार्यक्रम अपनाउने आवश्यकता हुन्छ । यो एउटा विडम्बना नै हो कि कतिपय वामपन्थी पक्षले नेपालको अवस्था अर्धसामन्ती भएको र त्यसैले नेपालमा समाजवादी क्रान्ति आवश्यक भएको सही विचार अपनाउ“दा अपनाउ“दै पनि सामन्तवादसितको अन्तर्विरोधलाई गौण बताउने गर्दछन् । त्यो निश्चित रूपले सैद्धान्तिक दिवालियापन नै हो ।

    यो स्वाभाविक नै हो कि प्रतिगमनका विरुद्धको सङ्घर्षलाई जोड दिने हाम्रो कार्यनीतिलाई गलत बताइरहेका छन् र त्यसको विरोधमा पूरा शक्ति लगाइरहेका छन् तर त्यस सिलसिलामा कतिपय वामपन्थी पक्षले पनि हाम्रो प्रतिगमनका विरुद्धको सङ्घर्षलाई जोड दिने नीतिलाई गलत बताएर त्यसको विरोध गरिरहेका छन् । उनीहरूको त्यस प्रकारको सोचाइको मूलमा चिजलाई माक्र्सवादी–लेनिनवादी सिद्धान्तको आधारमा भन्दा तात्कालिक घटनाको आधारमा हेर्ने पिछडिएको दृष्टिकोणले नै काम गरेको हुन्छ ।

    कार्यनीतिसित सम्बन्धित एउटा अर्को महत्त्वपूर्ण पक्ष संयुक्त मोर्चा वा कार्यगत एकतासित पनि सम्बन्धित हुन्छ । माक्र्सवादी–लेनिनवादी सिद्धान्तले अन्य विभिन्न प्रश्नबारे जस्तै संयुक्त मोर्चा वा कार्यगत एकताबारे पनि निश्चित सिद्धान्त प्रतिपादन गरेको छ तर माक्र्सवादी–लेनिनवादी अन्य सबै सिद्धान्तलाई जस्तै संयुक्त मोर्चा वा कार्यगत एकतासम्बन्धी नीतिलाई पनि ठोस स्थितिको ठोस विश्लेषण गरेर नै प्रयोग गर्ने आवश्यकतामा जोड दिन्छ । माक्र्सवाद–लेनिनवादका संस्थापकहरूले त्यसबारे कैयौँ सिद्धान्त प्रतिपादन गरेका छन् । कतिपय मानिसले माक्र्सवादी–लेनिनवादी सिद्धान्त तथा कुनै खास बेलाको वस्तुगत स्थितिको ठोस विश्लेषण गरेर भन्दा आफ्ना पिछडिएका वा स्वत:स्फूर्त भावनाका आधारमा नै त्यससम्बन्धी आफ्ना विचार वा नीति बनाउने गर्दछन् । हामीले कुनै पनि बेला संयुक्त मोर्चा वा कार्यगत एकताको नीति निर्धारित गर्दा त्यो बेलाको मुख्य राजनीतिक धार वा दिशा के हो ? त्यसका आधारमा नै कुनै शक्तिसित एकता वा सङ्घर्षको नीति निर्धारित गर्नुपर्दछ ।

    पहिलो कुरा त यो स्पष्ट हुनुपर्दछ कि संयुक्त मोर्चाको स्वरूप कार्यनीतिक मात्र नभएर रणनीतिक प्रकारको पनि हुन्छ । कम्युनिस्ट पार्टी भनेको मुलुकमा सर्वहारा वर्गको पार्टी हो तर क्रान्तिका विभिन्न चरणमा सर्वहारा वर्गको पार्टीले अन्य कैयौँ क्रान्तिकारी वर्गसित कुनै बेला प्रतिक्रियावादी वा दुस्मन वर्गसित पनि संयुक्त मोर्चा वा कार्यगत एकता बनाउने काम गर्दछ । त्यस सन्दर्भमा लेनिनले मजदुर र किसान वर्गको संयुक्त मोर्चामा विशेष जोड दिएका छन् । नयाँ जनवादी क्रान्तिको कालमा माओले किसान वर्गका साथै राष्ट्रिय पुँजीपति वर्ग, धनी किसान आदिसित र निम्न पुँजीपति वर्गसित पनि संयुक्त मोर्चामा जोड दिएका थिए । निश्चय नै संयुक्त मोर्चाको नीतिबारे कम्युनिस्ट आन्दोलनमा बारम्बार मतभेद देखा पर्ने गरेका छन् ।

    माथि संयुक्त मोर्चाका बारेमा जुन चर्चा गरियो, तिनको प्रकृति रणनीतिक प्रकारको नै रहेको थियो तर कतिपय अवस्थामा तात्कालिक राजनीतिक कारणले पनि संयुक्त मोर्चा वा कार्यगत एकता गर्नुपर्ने आवश्यकता हुन्छ । तात्कालिक राजनीतिक आवश्यकताअनुसार गरिने संयुक्त मोर्चा वा कार्यगत एकताको प्रकृति कार्यनीतिक प्रकारको हुन्छ; जस्तै कि स्टालिनले फासिवादी आक्रमणका विरुद्ध साम्राज्यवादी शक्तिसित वा माओले जापानी आक्रमणका विरुद्ध च्याङकाइसेकसित गरेको संयुक्त मोर्चाको प्रकृति कार्यनीतिक प्रकारको थियो । त्यस प्रकारको संयुक्त मोर्चासम्बन्धी नीतिबारे पनि कम्युनिस्ट आन्दोलनमा धेरै मतभेद रहने गरेका छन् । स्टालिनले साम्राज्यवादी शक्तिसित गरेको संयुक्त मोर्चाको लागि ट्राटस्कीले उनलाई गद्दार बताएका थिए भने च्याङकाइसेकसित माओले गरेको संयुक्त मोर्चाका लागि वाङमिङले उनलाई गद्दार बताएका थिए तर त्यस बेला स्तालिन वा माओले साम्राज्यवादी वा दुस्मन शक्तिसित जुन संयुक्त मोर्चा वा कार्यगत एकताको नीति अपनाएका थिए, त्यो बेलाको वस्तुस्थितिमा ती दुबै सही थिए ।

    साम्राज्यवादी शक्तिसितको संयुक्त मोर्चाको अभावमा हिटलरलाई पराजित गर्नु सम्भव थिएन । त्यही प्रकारले च्याङकाइसेकसितको संयुक्त मोर्चाको अभावमा जापानी आक्रमणबाट चीनको रक्षा गर्नु सम्भव थिएन तर कम्युनिस्टले कुनै बेला कुनै प्रतिक्रियावादी वा दुस्मन शक्तिसित संयुक्त मोर्चा वा कार्यगत एकता गरे पनि त्यसको प्रकृति अस्थायी प्रकारको नै हुन्छ र उनीहरूका विरुद्धको सङ्घर्र्षको पक्ष नै प्रधान हुन्छ ।

    हिटलरको पराजयपछि साम्राज्यवादी शक्तिसितको स्तालिनको वा जापानलाई पराजित गरेपछि च्याङकाइसेकका विरुद्ध माओको सङ्घर्र्षको नीतिबाट त्यो कुरा प्रष्ट हुन्छ । त्यो बेलाको त्यो वस्तुस्थितिमाथि ध्यान नदिइकन ट्राटस्कीले स्टालिनको वा वाङमिङले माओको संयुक्त मोर्चा नीतिको विरोध गर्नु “वामपन्थी” सङ्कीर्णतावादी दृष्टिकोण नै थियो ।

    नेपालको कम्युनिस्ट आन्दोलनमा पनि संयुक्त मोर्चा वा कार्यगत एकतासम्बन्धी विभिन्न प्रयोग हुने गरेका छन् वा त्यसबारे कतिपय थुप्रै मतभेद पनि देखा पर्ने गरेका छन् । कतिपय अवस्थामा स्थितिमा परिवर्तन भएका कारणले तथा कतिपय अवस्थामा विभिन्न राजनीतिक शक्तिका नीति वा हाम्रो उनीहरूप्रतिका दृष्टिकोणमा परिवर्तन भएका कारणले पनि कार्यगत एकतासम्बन्धी हाम्रा नीतिमा परिवर्तन हुने गरेको छ । पञ्चायती कालमा प्रकाशित हाम्रो एउटा पुस्तिका ‘कार्यगत एकताको द्वन्द्वात्मक प्रकृति’ मा कार्यगत एकतासम्बन्धी हाम्रो द्वन्द्वात्मक दृष्टिकोणबारे प्रकाश हालिएको छ । त्यसैले हामीले कार्यगत एकताबारे कट्टरपन्थी दृष्टिकोण होइन, द्वन्द्वात्मक दृष्टिकोण नै अपनाउने गरेका छौँ ।

    राजालाई हामीले दुस्मन शक्ति मान्दै आएका छौँ तर राजाको कोदारी राजमार्ग वा पूर्वपश्चिम राजमार्ग निर्माणको कार्यलाई हामीले समर्थन गरेका थियौँ । त्यही प्रकारले महाकाली सन्धिका विरुद्ध सङ्घर्र्षको बेलामा हाम्रो राप्रपासित पनि कार्यगत एकता कायम भएको थियो ।

    हाम्रो पार्टीले पहिले राजा र नेका दुबैलाई समान दुस्मन शक्ति मानेको थियो । त्यो बेलामा हामीले नेकासित पनि कुनै कार्यगत एकता नगर्ने नीति अपनाएका थियौँ तर पछि हाम्रो पार्टीले यो विश्लेषण गर्‍यो कि नेकाको वर्गचरित्र राजाको जस्तै भए पनि राजनीतिक दृष्टिकोणले उनीहरूका बिचमा भिन्नता थियो । राजा निरङ्कुश शासक थियो भने नेकाले त्यसका विरुद्ध प्रजातन्त्रका लागि सङ्घर्र्ष गरिरहेको थियो । त्यो अवस्थामा हाम्रो पार्टीले नेकासित कार्यगत एकता गर्ने नीति अपनाएको थियो र त्यही नीतिअनुसार २०४६ सालमा, २०६२–६३ सालमा तथा पछि प्रतिगमन विरुद्धको सङ्घर्र्षका सन्दर्भमा पनि हामीले त्योसित कार्यगत एकता गर्ने नीति अपनायौँ । हाम्रो यो विश्लेशण रहेको छ कि अहिले पनि देशमा प्रतिगमन वा राजतन्त्रको पुनस्र्थापनाको गम्भीर खतरा छ । त्यसैले अहिले पनि हाम्रो त्योसित कार्यगत एकताको नीति कायम छ ।

    पहिले हामीले पुष्पलाललाई ‘गद्दार’ बताएका थियौँ र उनीसित कैयौँ समयसम्म कार्यगत एकता नगर्ने नीति थियो । पछि हाम्रो पार्टीले त्यो सोचाइ सच्यायो र उनीहरूसित कार्यगत एकताको नीति खुल्ला गर्‍यो । त्यही प्रकारले पहिले एमालेसित कुनै कार्यगत एकता नगर्ने हाम्रो नीति थियो तर पछि हामीले त्यो सङ्गठनलाई कम्युनिस्ट नमाने पनि त्यसलाई देशभक्त, जनतान्त्रिक, वामपन्थी र मित्रशक्तिका रूपमा विश्लेषण गर्‍यौँ । त्यसपछि त्योसित हामीले कैयौँ पल्ट कार्यगत एकता वा सहकार्य गर्दै आएका थियौँ र त्यसको नेतृत्वको सरकारलाई पनि समर्थन गरेका थियौँ तर पछि त्यसले दुई दुई पल्ट संसद् विघटन गरेर प्रतिगामी दिशा समातेपछि त्यससित कार्यगत एकता नगर्ने नीति अपनाएका छौँ ।
    माथिका केही उदाहरणबाट प्रष्ट हुन्छ : हामीले कुनै पक्षसित कार्यगत एकता गर्ने वा नगर्ने भन्ने नीति कसैसितको कुनै प्रकारको पूर्वाग्रह वा दाउपेचका आधारमा हुँदैन र त्यसको ठोस राजनीतिक आवश्यकता अन्य पार्टीको भूमिका वा कुनै खास स्थितिमा हामीले लिएका नीतिका अनुसार नै हुन्छ । अर्काे शब्दमा हाम्रो संयुक्त मोर्चा वा कार्यगत एकताको नीति कसैप्रतिको कुनै प्रकारको पूर्वाग्रहका आधारमा नभएर कुनै खास बेलाको देशको आवश्यकतामाथि ध्यान दिएर नै निर्धारित हुने गर्दछ । त्यस सन्दर्भमा अहिले हामीले गरेको गठबन्धनको नीतिको पनि मूल्याङ्कन गर्नुपर्दछ ।

    यो त प्रष्ट नै छ कि अहिले हामीले गठबन्धनको जुन नीति अपनाएका छौँ, त्यो नीति अहिले देशमा भएको प्रतिगमन तथा राजतन्त्र पुनस्र्थापनाको खतरामाथि ध्यान दिएर नै अपनाइरहेका छौँ । त्यो अहिलेको देशको ऐतिहासिक र राष्ट्रिय आवश्यकता हो । कतिपय पक्षले नेपाली काङ्ग्रेस, माओवादी वा गठबन्धनमा सामेल अन्य कतिपय पक्षका बेग्लाबेग्लै नीति, क्रियाकलाप वा विगतमा उनीहरूले गरेका गल्ती वा उनीहरूसितको हाम्रो सङ्घर्र्षको पृष्ठभूमिको उल्लेख गरेर उनीहरूसितको हाम्रो कार्यगत एकता वा गठबन्धनको नीतिलाई आलोचना गर्ने गरेका छन् । त्यस प्रकारको आलोचना तीनओटा कोणबाट आएको कुरा प्रष्ट छ ।

    प्रथमत: जुन पक्षहरू प्रत्यक्ष वा अप्रत्यक्ष प्रकारले प्रतिगमन वा राजतन्त्रको पुनस्र्थापनाका पक्षमा छन्, उनीहरूले नियतवश नै हाम्रो गठबन्धनको नीतिको विरोध गरिरहेका छन् र उनीहरूका लागि त्यो स्वाभाविक पनि हो । त्यस प्रकारका तत्त्वले २०४६ साल वा २०६२–६३ सालमा पनि हाम्रो कार्यगत एकताको नीतिलाई गलत बताएर आलोचना गरेका थिए । यो कुरा उनीहरूलाई कहिल्यै चित्त बुझेको थिएन कि हाम्रो त्यस प्रकारको कार्यगत एकताको नीतिका कारणले नै राजाको निरङ्कुश शासन, पञ्चायती तानाशाही व्यवस्था वा राजतन्त्रको समेत अन्त भएको थियो ।

    द्वितीय– कतिपय वामपन्थी शक्तिले संयुक्त मोर्चा वा कार्यगत एकताको माक्र्सवादी–लेनिनवादी द्वन्द्वात्मक दृष्टिकोणलाई सही प्रकारले बुझ्न नसकेर वा अर्काे शब्दमा “वामपन्थी” सङ्कीर्णतावादी गलत दृष्टिकोणका कारणले हाम्रो गठबन्धन नीतिको विरोध गरिरहेका छन् ।

    तृतीय– आफ्नो पिछडिएको वा अधिभूतवादी दृष्टिकोणका कारणले हाम्रो कार्यगत एकताको नीतिको द्वन्द्वात्मक दृष्टिकोणलाई बुझ्न नसकेर कैयौँ इमान्दार मान्छेले पनि हाम्रो गठबन्धन नीतिको विरोध गरेको सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न तर इतिहासले यो कुरा सिद्ध गरिसकेको छ कि इतिहासका बेग्लाबेग्लै कालखण्डमा हामीले त्यस प्रकारको एकता वा गठबन्धनको नीति नअपनाएको भए निरङ्कुश राजतन्त्र, पञ्चायती तानाशाही व्यवस्था वा राजतन्त्रसमेत समाप्त हुने थिएनन् । त्यसरी व्यवहारले नै इतिहासका बेग्लाबेग्लै कालखण्डमा हामीले अपनाएका गठबन्धन वा कालखण्डका नीति सही भएको प्रमाणित गर्दै आएको छ । त्यही प्रकारले पाँचदलीय गठबन्धन नभएको भए ओलीका दुई दुई पल्टका संसद्लाई विघटन गर्ने प्रयत्नलाई पराजित गर्नु सम्भव हुने थिएन ।

    वास्तवमा सही रणनीति र कार्यनीतिको समस्या विश्व काम्युनिस्ट आन्दोलनको नै गम्भीर समस्या हो । त्यसबारे अपनाइने गलत नीतिका कारणले संसारका कैयौँ देशमा समाजवादी व्यवस्था नै समाप्त हुन गएका छन् वा कतिपय लामो र क्रान्तिकारी इतिहास भएका ठुला ठुला कम्युनिस्ट पार्टीको पनि विघटन हुन गएको छ वा उनीहरूले दक्षिणपन्थी संसोधनवादी दिशा समातेका छन् । अहिले नेपालको सन्दर्भमा पनि कतिपय कम्युनिस्ट सङ्गठनले त्यस प्रकारका विभिन्न रणनीतिक वा कार्यनीतिक गल्ती गरेका कैयौँ उदाहरण हाम्राअगाडि छन् । त्यस्ता गल्ती हुन नदिन हामीले सधैँ उच्च सतर्कता अपनाउनुपर्ने आवश्यकता छ । त्यसरी नै हामीले नेपालको कम्युनिस्ट आन्दोलनलाई सही र क्रान्तिकारी दिशामा अगाडि बढाउन सक्ने छौँ र बढाउनु पनि पर्दछ ।

    शुक्रबार, माघ २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.