दुर्गानाथ खरेल ##
सङ्गठनको अर्थ व्यावहारिक काममा एकता हो । पार्टीको सङ्गठन र अनुशासन सर्वहारा क्रान्तिलाई अगाडि बढाउनका लागि हो । कम्युनिस्ट आन्दोलनलाई सिद्धान्त र क्रान्तिको हितको अधीनमा राख्ने तथा जनवादी हित र अधिकारका साथै अन्तरपार्टी अधिकारको सीमाभित्र बुझ्ने, ग्रहण गर्ने र पालना गर्ने गरेपछि मात्र जनवादी केन्द्रीयताले क्रान्तिकारी रूप लिएर क्रान्तिको सेवा गर्छ । अनुशासन र जनवादी केन्द्रीयतालाई सिद्धान्त, क्रान्ति र पार्टीका हितको मातहतमा राख्न सक्नुपर्छ ।
जनवाद व्यक्तिगत स्वतन्त्रतासँग, केन्द्रीयता अनुशासनसँग र दुवै विश्वदृष्टिकोणसँग जोडिएका विषय हुन् ।
विश्वदृष्टिकोण शोषणरहित, वर्गरहित र शासनरहित सामाजिक व्यवस्था बनाउने उद्देश्यसँग सम्बन्धित हुन्छ ।
सामूहिकताले व्यवहारमा सामूहिक अनुशासनको मातहतमा आफू बस्ने पाठ सिकाउँछ ।
राजनीति खुला गर्ने र पार्टी भूमिगत राख्ने कामको सुरुवात लेनिनका पालादेखि भएको हो । त्यस्तो गर्नुपरेका कारण क्रान्तिमा धेरै धनजनको क्षति हुन नदिने उद्देश्यले गर्दा हो । सदस्यताका तीन शर्त पनि क्रान्ति सम्पन्न गर्ने पार्टीको जिम्मेवारी पूरा गर्नका लागि हो । पहिलो शर्त पार्टीको राजनीति स्वीकार गर्नुपर्ने, दोस्रो शर्त नियमित रूपमा प्रतिमहिना लेबीका रूपमा तोकिएको रकम तिर्नुपर्ने र तेस्रो शर्त कुनै न कुनै समितिमा आबद्ध भएर समितिले दिएको जिम्मा पूरा गर्नुपर्ने हुन् ।
आफ्नो देशको परिस्थितिको ख्याल गर्न र आफ्ना कामको गतिविधि आफ्नो उद्देश्यको अनुकूल हुने गरी अगाडि बढाउन पनि लेनिनको निर्देशन थियो । केन्द्रीयताको अर्थ कम्युनिस्ट क्रियाकलापको केन्द्रीकरण हो । सर्वहारा वर्गको अधिनायकत्वमा अरू मजदुर, किसान र बुद्धिजिवीले काम गर्न र गराउनुपर्ने लेनिनको प्रयत्न थियो ।
पार्टीलाई मजदुर वर्गको अगुवा बनाउने काम पहिलो प्राथमिकतासहित आफूले काम गर्नुपर्छ । सर्वसाधारण मजदुर र अरू श्रमजीवी जनताको पिछडिएको राजनैतिक चेतनाबाट फाइदा उठाउन छाडेर उनीहरूलाई सचेत र सङ्गठित बनाउन आफू अगाडि लाग्नुपर्छ ।
आम जनताको बिचमा पार्टीको नीति र राजनैतिक प्रतिष्ठा छैन भने पार्टीले वर्गको नेतृत्व गर्न सक्दैन । चेतना, अध्ययन, अनुशासन र नैतिकताको ख्याल गर्ने व्यक्तिले मजदुर वर्गका नेतालाई प्रशिक्षित गर्ने सर्वोत्तम पाठशाला हो । सामूहिक काम गर्ने र योग्यताअनुसार काम गर्ने भएपछि गुटबन्दीको कुनै आवश्यकता पर्दैन । अवसरवादी तत्त्वलाई अल्पमतमा पार्न पनि गुटबन्दी बढाएर होइन, चेतनास्तर उठाएर समाधान गर्ने प्रयत्न गर्नुपर्छ । माथिल्ला सङ्गठनले जनताको जीवन र तल्ला सङ्गठनको स्थितिलाई जान्नुपर्छ । त्यसले सही निर्देशनका लागि वस्तुगत आधार प्राप्त हुने छ ।
निम्न राजनैतिक चेतनास्तर भएका व्यक्तिले सैन्यशक्ति र अधिनायकत्वमा विश्वास गर्छन् । प्रत्येक क्रान्तिकारीले र कम्युनिस्टले विचारधारात्मक सङ्घर्षको हतियार प्रयोग गर्नैपर्छ । उदारवाद निम्नपुँजीवादी स्वार्थबाट जन्मन्छ ।
आफूसित क्रान्तिकारी सिद्धान्त नभइकन तथा इतिहास र व्यावहारिक आन्दोलनलाई नबुझिकन कसैले पनि विजयी हुने गरी नेतृत्व सम्हाल्न सक्दैन ।
माक्र्सवाद लेनिनवादमा कुनै रहस्य छैन । यसको अध्ययनले सर्वहारा वर्गको क्रान्तिकारी उद्देश्यलाई विजयतर्फ डोर्याउँछ । उद्देश्यपूर्ण समर्पण जनसमूहसित अटुट सम्पर्क, स्वतन्त्र रूपले आफ्नो दायित्व वहन गर्ने क्षमता र अनुशासनको पालना चारओटै शर्तसहित सतर्क र सचेत भई काममा खट्नुपर्छ । सामूहिक व्यवहारबाट जनतालाई आकर्षित गर्न सकिन्छ । छलफल गर्न र सत्यको पक्ष लिन प्रयत्न र प्रोत्साहन गर्नुपर्छ ।
ाफ्नो वरिष्ठतामाथि नभई सही ढङ्गले समस्या समाधान गर्ने आफ्नो क्षमतामाथि भर पर्नुपर्छ । उपलब्धि र कमजोरीको बयान गर्ने द्वन्द्ववादी विश्लेषणको तरिका हो । मजदुर र किसानमध्ये पनि विशेष गरी सर्वहारा तत्त्वलाई छनौट गरेर उनीहरूको विश्वदृष्टिकोणमा सर्वहाराकरण नगरेसम्म निरन्तर खट्ने र खटिरहने बनाउन सकिन्न । तिनीहरूलाई नै सचेत सङ्गठित र अनुशासित बनाउन प्रयत्न गर्नुपर्छ । कम्युनिस्टको सट्टा गैरकम्युनिस्टको नेतृत्व भयो भने उसले व्यक्तिगत सम्पत्तितर्फ र व्यक्तिगत नेतृत्वतर्फ ढल्काउँछ । नेतृत्वका लागि सर्वहारा जनसमूहसँग घनिष्ट सम्पर्क आवश्यक पर्छ । केन्द्रीयता लागु गर्नु भनेको कामको केन्द्रीकरण नै हो ।
पार्टीभित्र सत्ताका लागि हुने कुनै प्रतिद्वन्द्विता र प्रभुत्वका लागि हुने सङ्घर्ष कम्युनिस्ट पार्टीको जनवादी केन्द्रीयताको आधारभूत सिद्धान्तसँग पटक्कै मेल खान्न । साझा हितका लागि साझा प्रयत्नको जीवित सामूहिकता हुनुपर्छ । पार्टीभित्र निर्देशक समिति र सदस्यबिच मात्र होइन, पार्टीभित्रका सर्वहारा वर्ग र पार्टीबाहिरका सर्वहारा जनसमूहका बिच जीवन्त एकता र पारस्परिक सम्बन्ध विकासको काम सङ्गठनको केन्द्रीयता निर्माणको आवश्यक शर्त हो ।
कम्युनिस्ट पार्टी क्रान्तिकारी माक्र्सवादको प्रशिक्षण प्राप्त गर्ने पाठशाला हुनुपर्छ । सबैभन्दा महत्त्वपूर्ण पक्ष पार्टीका दैनिक काममा प्रत्येक सदस्यको सहभागिता हुनु नै हो । समग्र पार्टी नै क्रान्तिका लागि लडाकु सङ्गठनमा विकसित हुनुपर्छ । कम्युनिस्ट पार्टीका सदस्यहरू सर्वसाधारण जनताभन्दा बढी सचेत अनुशासित र जुझारु भए मात्र लेनिनले प्रतिपादन गरेको जनवादी केन्द्रीयता र छलफलको स्वतन्त्रता तथा कामको एकताको सिद्धान्तलाई पालना गर्न सक्छन् । त्यस्ता अग्रगामी र अनुशासित सदस्यद्वारा निर्देशित पार्टी नै क्रान्तिकारी पार्टी बन्न सक्छन् ।
केन्द्रीयता वा एकताका पक्षमा काम गर्नु भनेको आफ्नो इच्छा विरुद्ध काम गर्नु पनि हो । त्यो कार्यान्वयन गर्न अप्ठेरो पनि हुन्छ । सचेत तत्त्वलाई नै पार्टीमा भर्ना गर्ने, लेनिनवादी सङ्गठनात्मक सिद्धान्तबारे लगातार प्रशिक्षण दिने, पार्टी अनुशासनको लगातार निरीक्षण गर्ने तीनओटै काममा बेवास्ता गर्दा पार्टीभित्रको एकता र अनुशासनमा क्षति पुग्न जान्छ ।
पार्टीसदस्यले पार्टीको सिद्धान्त र राजनैतिक लाइनलाई समर्थन गर्नुका साथै इमान्दारीपूर्वक जिम्मेवारी पूरा गर्ने र अनुशासनको पालना गर्ने गर्नुपर्छ । विधान र सङ्गठनात्मक सिद्धान्तको प्रशिक्षण दिएर अनुशासनको अवस्थालाई सुधार्ने प्रयत्न गर्नुपर्छ । वर्तमान व्यवस्थामा आमूल परिवर्तन नगरिकन समस्या समाधान नहुने सैद्धान्तिक चेनता पनि दिंँदै जानुपर्छ । वैधानिक मोर्चा र जनवर्गीय सङ्गठनको विस्तार गर्दै जाने पेसेवर कार्यकर्ताको निर्माण र परिचालन गर्दै जाने आधारभूत वर्ग र श्रमिक जनताका बिचबाट कार्यकर्ता निर्माण गर्ने, साथै कार्यकर्ता तथा पार्टीको आर्थिक पक्षमा ध्यान दिनु पनि आवश्यक छ । आर्थिक पक्षलाई सैद्धान्तिक, राजनीतिक, सङ्गठनात्मक र आन्दोलनसित पनि सम्बन्धित विषयका रूपमा बुझ्नुपर्छ । अनुशासित, सक्रिय र जिम्मेवार बनाउन माथिल्लोबाट तल्लो समितिमा, पार्टी सदस्यबाट समर्थकमा र खास अवस्थामा पार्टीबाट निष्काशनसमेत गर्नुपर्ने हुन्छ ।
पार्टीसदस्य इमान्दार भएर मात्र पुग्दैन, सक्रिय भई जिम्मेवारी पालन गर्न सक्ने र अनुशासित पनि हुनुपर्छ । कुनै खास अवस्थामा पार्टीमा शुद्धीकरण अभियान चलाएर पार्टीका नीति, कार्यक्रम आदिको कार्यान्वयनमा भएको कमजोरीलाई पनि प्रशिक्षण, आलोचना र कारबाहीबाट हटाउनुपर्ने हुन्छ ।
पार्टीसङ्गठनले मात्र होइन, विभिन्न मोर्चा र जनवर्गीय सङ्गठनले पनि आआफ्नो स्तरमा केन्द्रदेखि विभिन्न तल्ला तहसम्म अध्ययन र अनुसन्धानका लागि विभाग वा समितिको गठन गर्ने र कार्य पूरा गर्न ध्यान दिनुपर्छ ।
पार्टीबाहिर सरकार विभिन्न सङ्घसस्था र देशभित्र वा बाहिरका शोधकर्ताको अध्ययन–अनुसन्धानबाट फाइदा उठाएर आफ्नो अध्ययन–अनुसन्धानको क्षेत्रलाई विस्तार गर्नुपर्ने आवश्यकतासमेत पार्टीले औल्याएको छ ।
पेसेवर कार्यकर्ताको सैद्धान्तिक स्तर उठाउन र उनीहरूका लागि आर्थिक आधार तयार पार्न योजनाबद्ध प्रकारले काम गर्नुपर्ने छ । पार्टीस्कुललाई नियमित र व्यवस्थित पार्ने कामसमेत गर्नुपर्छ । केन्द्र र जिल्लास्तरमा समेत धेरैभन्दा धेरै सङ्गठनकर्ता तयार पार्न प्रयत्न गर्नुपर्छ ।
जनवादी केन्द्रीयता तथा छलफलमा स्वतन्त्रता र काममा एकता लेनिनवादी सङ्गठनात्मक आधार हुन् । तिनैमाथि पार्टीको अनुशासन टिकेको हुन्छ । सबै पार्टी समिति र सदस्यले अनुशासन कायम राख्न र बलियो बनाउन सधैँ ध्यान दिनुपर्छ । सिद्धान्त र राजनीतिको प्रश्नमा सही र दृढ नीति अपनाएकाले र लेनिनवादी सङ्गठनात्मक प्रणालीको आधारमा पार्टीको सङ्गठन र अनुशासनलाई कायम राख्ने प्रयत्नले हाम्रो पार्टी बलियो सैद्धान्तिक, राजनीतिक र सङ्गठनात्मक धरातलमा स्थापित छ । जनवादपछि केन्द्रीयता र छलफलपछि एकता उल्लङ्घन नगरिकन विधानअनुसार सबै चल्नुपर्छ ।
दर्शन र सिद्धान्तको क्षेत्रमा माक्र्स–एङ्गेल्सको र सङ्गठनात्मक प्रणाली र अनुशासनको विषयमा लेनिनको बढी योगदान रहेको छ । लेनिनवादी सङ्गठनात्मक सिद्धान्तअनुसार पार्टीमा अनुशासन कायम राख्नु कठिन र जटिल काम हो । एकातिर प्रशिक्षण अर्कोतिर अनुशासनको कारबाही गर्दै अगाडि बढ्ने र गोपनियता कायम राख्ने गर्दा अनिश्चितकालका लागि पार्टीबाट निष्काशितहरू मात्रैको सबै विवरण बाहिर आउछन् । सङ्गठनसम्बन्धी दक्षिणपन्थी वा उदारवादी सोचाइबाट बचेर लेनिनवादी प्रणालीअनुसार पार्टीसङ्गठन र अनुशासनलाई सुदृढ पार्नुपर्छ । यो विश्वदृष्टिकोणसँग पनि जोडिएको प्रश्न भएकाले स्तर उठाएर अनुशासित, मिलिट्यान्ट र जुझारु पार्टीको निर्माणतर्फ लाग्नैपर्छ अन्यथा कम्युनिस्ट पार्टी हुने छैन ।
पार्टीको सङ्ख्यात्मक वृद्धिलाई मात्र नभएर गुणात्मक वृद्धि गर्न सदस्यता दिने बेलामै लेनिनवादी प्रणालीलाई कडाइपूर्वक लागु गर्नुपर्छ । बुर्जुवा र संशोधनवादी पार्टीहरूले आफ्नो प्रणालीलाई सर्वश्रेष्ठ राजनीतिक पार्टी बताएर लेनिनवादी प्रणालीलाई अधिनायकवादी बताउने गरेको हुनाले क्रान्तिकारी कम्युनिस्ट पार्टीले कडा सङ्घर्ष गर्नुपरेको छ । कम्युनिस्ट पार्टीले अपनाउने गरेको अनुशासनको पद्धति सर्वहारा वर्गको अनुशासन हो । सानो प्रकारको उत्पादन प्रणाली र जीविकाको व्यक्तिगत तरिका दुवैले गर्दा निम्नपुँजीवादी चिन्तन उत्पादन भइरहन्छ ।
सर्वहाराकरण, विधान र नियमावली तीनओटै पक्षमा अनुशासनको स्तर उठाउनुपर्दछ । नकारात्मक प्रवृत्तिलाई पनि सम्भव भएसम्म सैद्धान्तिक र मैत्रीपूर्ण तरिकाले समाधानको प्रयत्न गर्नुपर्छ । विधान, नियमावली जानकारी गराएर सङ्गठनात्मक प्रणालीलाई व्यवस्थित पार्दै लग्दा अनुशासनको मुख्य समस्या समाधान हुन्छ । गैरसर्वहारा प्रवृत्ति नहटाउने, गल्तीमा पछुतो नगर्ने र अकाट्य तथ्यबाट शत्रुको दलाल र गद्दार र दलाल तत्त्वलाई पार्टीबाट निकालेर फेरि प्रवेश बन्द गराउनुपर्छ । अनुशासनको आधारमा मात्र पार्टी एकता कायम हुन सक्छ । लेनिनवादी सङ्गठनात्मक सिद्धान्त र पार्टीका हितको पक्षमा बाहेकको एकता सम्भव र उचित हुन्न । इमान्दारिता र निष्क्रिय भए समर्थक हुनुपर्छ ।
केन्द्रीय समिति आफू महाधिवेशनको निर्णयको मातहतमा रहेपछि मात्र त्यसको निर्देशन सबै तल्ला समितिले पालन गर्नुपर्छ । बहसको स्वतन्त्रता र कार्यको एकताको लागु गर्दा अल्पमतको अधिकारलाई बहुमतले ग्यारेन्टी दिनुपर्छ । त्यसका लागि आलोचनाको अधिकारलाई अनुशासित गर्नुपर्छ । केन्द्रीयताको साथै जनवाद, अनुशासनका साथै स्वतन्त्रता र एकीकृत एकताका साथै व्यक्तिगत सकृयताको राजनीतिक स्थिति सृजना गर्न आवश्यक हुन्छ ।
सर्वहारा विश्वदृष्टिकोणले नै सङ्गठन र अनुशासनसम्बन्धी माक्र्सवादी–लेनिनवादी र अराजकतावादी दृष्टिकोणको फैसला गर्छ । सचेत मजदुरले माथिल्लो तहका नेताकार्यकर्ताले पनि पार्टीसदस्यको कर्तव्य पूरा गर्नुपर्ने माग गर्न सिक्नुपर्छ । पार्टीसित कार्यकर्ताको निकटताको स्तर पनि छुट्टाउन सक्नुपर्छ । केन्द्रीयताले आफ्नो अधिकार जनवादबाट नै पूरा गर्छ ।
सर्वहारा क्रान्तिको उद्देश्य शोषणप्रधान व्यवस्थाको सम्पूर्ण रूपमा अन्त्य हो । मध्यपन्थीको राजनीतिक चरित्रमा कुरा माक्र्सवादप्रति आस्था, व्यवहारमा अवसरवादको सेवा गरी दुवै मिश्रण हुन जान्छ । यो बिचको सङ्क्रमणकालीन रूप हो । छिटै सुधार गरिएन भने विकास भई दक्षिणपन्थी अवसरवादमा पतन हुन्छ ।
माक्र्स–एङ्गेल्सको पालामा व्यवस्थित सङ्गठन थिएन । सङ्गठन र सदस्यतासम्बन्धी नियममा लेनिनले बढी जोड दिए । व्यक्ति बिग्रेर जादा कम क्षति हुन्छ तर अनुशासन बिग्रेर जाँदा पार्टी सीमित हुन्छ । महत्त्वका हिसाबले सिद्धान्त र राजनीतिपछि सङ्गठन भए पनि पार्टीका कार्यकर्ता मुख्य कडी हुन् । पूर्णकालीन कार्यकर्ता थोरै हुने र समाजको असर पार्टीमा पनि पर्ने हुनाले कम्युनिस्ट बन्ने कुरा सङ्गठनात्मक अनुशासनले निश्चित गर्छ । जनताको बिचमा काम गर्दा किसानको काम व्यक्तिवादी प्रकृतिको र मजदुरको काम सामूहिक प्रकृतिको हुन्छ ।
अन्य पार्टीले यही व्यवस्थाभित्रै आफ्नो स्थान सुरक्षित पार्ने हुन् । हामीले आमूल परिवर्तन गर्नुपर्ने हुनाले उदीयमान वर्गको भूमिका निर्वाह गर्नु पर्ने हुन्छ । त्यसैले कडा अनुशासन चाहिन्छ ।
आन्दोलनमा धेरै जनता सहभागी नहुने कारण राजनैतिक चेतनास्तर कम भएकाले हो । सचेत र सङ्गठित बनाउनुपर्छ । जनताले राजनीति व्यवहारबाट सिक्छन् । मजदुर वर्गको मुक्तिको अर्थ वर्गका विशेष अधिकार तथा दलालीका लागि होइन बरु समान अधिकार र कर्तव्य तथा समस्या वर्गशासनको उन्मूलनका लागि सङ्घर्ष गर्न हो ।
कम्युनिज्मको उद्देश्य व्यक्तिगत सम्पत्तिको उन्मूलन गर्न सामूहिक सम्पत्तिको रक्षा र विकास गर्न हो । पुँजी सामूहिक उपज हो । सामूहिक हुँदा सम्पत्तिको वर्गचरित्र नष्ट हुन्छ । आम जनताको बिचमा, खासगरी श्रमजीवीका बिचमा जीवन्त सम्बन्ध कायम राख्ने र विकास गर्ने काम पार्टीका र व्यक्तिगत रूपमा पार्टी सदस्यका पनि आवश्यक पूर्वशर्त हुन् ।