प्रिय प्रवासमा काम गर्ने मजदुर साथीहरु !
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले आज तपाईं हामी सबैलाई तड्पाइ रहेको छ । सर्वप्रथम यो विपद्को घडिमा आफू सुरक्षित रहौं र अरूलाई पनि सुरक्षित राखौं । लकडाउनको पूर्ण पालना गरौं भन्न चाहन्छु ।
विशेष गरी भारतमा काम गर्ने मजदुर नेपाली दाजुभाइ हरुलाई यो महामारीले ठूलो असर पारेको छ । ठूलो मात्रामा नेपालीहरु आफ्नो देशको सीमा क्षेत्रमा आएका छन् । भारतले लकडाउन गरेपनि नेपाली रुलाई कुनै वास्ता गरेन । नेपालीहरु नेपाल नै गए हुनेथियो भन्ने आशय भारतले देखायो । काम गरिहरको कम्पनीले जबर्जस्ती बाहिर निकालिदिए । भारत सरकारले गास बासको कुनै पहल गरेन ।
नेपाल सरकारले आफ्ना देशका नागरिकलाई सीमा क्षेत्रमा क्वारेन्टिनमा राख्ने, स्वास्थ्य परीक्षण गर्ने, खानपिनको व्यवस्था गर्नुपर्ने थियो । उल्टो डण्डा वर्षायो । यो अत्यन्त दुःखको कुरा हो । नेपालका शासकलाई महाकाली नदीको ढोका खोलिदिनु, हामी बालबच्चा सहित आफ्नो देशमा आएको छौं । कति दिनदेखि भोक भोकै छौं भनेर जानकारी गराउन महाकाली नदी पौडिएर पार गरी आउने ति नेपाली वीरलाई हाम्रो उच्च सम्मान छ ।
प्रिय प्रवासमा काम गर्ने मजदुर साथीहरु, हामी प्रवासमा रहरले गएका होइनौं, हाम्रो देशमा रोजगारी न पाएर बालबच्चा पाल्न, पढाउन, सुखी परिवार बनाउँला भन्ने उद्देश्य लिएर भारत गएका हुन्छौं । दुई छाक टार्न र एक आङ लगाउन खुन पसिना बगाएका हुन्छौं । तर कैले घर व्यवहार सुध्रिएको हुँदैन ।आखिर र्काको देशमा कैले सम्म भौतारिरहने ? हामीले यो बुझ्नु पर्छ कि राजनीतिक व्यवस्थाले सिर्जना गरेको यो बाध्यता हो ।
नेपालमा आजसम्मको भएका सबै राजनीतिक परिवर्तनमा तपाईं हामी प्रवासमा बस्ने नेपालीको महत्त्वपूर्ण योगदान छ । तर प्रवासी नेपाली कामदारको हक अधिकारको पक्षमा शासक वर्ग मौन छ।
संविधान सभाको चुनावमा प्रवासी नेपाली हरूले आ– आफ्नो ठाउँबाट नै मतदान गर्ने व्यवस्था गर्नुपर्छ भन्ने कुरा राष्ट्रिय जनमोर्चाले उठायो तर त्यो मागको सुनुवाई भएन । अहिले पनि राजमोले प्रवासी नेपालीहरुका लागि आफ्नै ठाउँबाट संसदीय निर्वाचनमा मतदानको व्यवस्था गर्न पाउनुपर्ने माग उठाउँदै आएको छ भने भारतमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज र अन्य देशमा पनि एकता समाजले यो माग उठाउँदै आएका छन् । सर्वोच्च अदालतले समेत प्रवासीलाई मतदानको व्यवस्था मिलाउनु भनेर आदेश दिइसकेको अवस्थामा यहाँका ठुला दल भनिनेहरुले वेवास्ता गरिरहेका छन् ।
देशमा गणतन्त्र आएपनी हाम्रो अवस्थामा भिन्नता देखिएको छैन । संघीयताका कारण आठ वटा सरकार पाल्नुपर्दा कर बढेको छ । बजारको महँगी, बच्चाको स्कूलको फिस बढेर गएको छ । प्रवासको कमाइले घर खर्च चल्न गाह्रो भइरहेको हजुर हरुलाई थाहा नै छ।
मित्रहरु ! नेपालमा नेकपाको दुई तिहाईको सरकार रहेको कुरा त यहाँहरुलाई विदितै छ । तर, यसले जनताको पक्षमा थोरै पनि काम गर्न सकिरहेको छैन । भष्टाचारमा चुर्लुम्म डुबेको समाचारहरु प्रकाशित भइरहेका छन् । यहाँसम्म कि कोरोना भाइरसको महामारी विरुद्धको औषधि खरिदमासमेत करोडौं भ्रष्टाचार गरेको समाचार सार्वजनिक भएको छ । यो अति घ्रिणित काम हो ।
राष्ट्र, राष्ट्रियताको पक्षमा सरकार उदासीन छ । हालै नेपालको भूभाग कालापानी लिपुलेक, लिम्पियाधुरा भारतले आफ्नो भूभागमा समेटेर नयाँ नक्सा प्रकाशित गरेको सबैलाई थाहा नै छ । नेपालमा यसको विरुद्ध ठूलो आन्दोलन भयो । जनताले आफ्नो भूमि फिर्ता गर्न संघर्ष गर्दै आएका छन् । प्रवासमा पनि यसविरुद्ध आवाज उठाउँदै आएका छौं ।
तर सरकारले भारतसँग सम्बन्ध बिग्रने र कुर्ची ढल्ने डरले कुनै चासो गरेको छैन । विपक्षी दल नेपाली कांग्रेस त सँधैँ भारतको गुलामी र चाकडी गर्ने हुनाले बोल्ने कुरै भएन । कांग्रेसले आफू सत्तामा हुँदा नेपालका मुख्य नदी, कलकारखानाहरू भारतलाई कौडीको मूल्यमा बेचेको हजुरहरुलाई अवगतत नै होला ।
प्रिय मित्रहरु ! गाउँमा चुनावको बेला तपाइँ हाम्रा बुबा आमा, श्रीमतीलाई ठुला ठूला विकासका आश्वासन दिएर भाइ बहिनीलाई नोकरीको लालचा देखाएर, सिदासादा जनतालाई रक्सी, मासु खुवाएर पैसाको भरमा ठेकेदार, दलालहरुले चुनाव जितेका छन् । हाम्रा घर परिवारलाई विदेशी संघ संस्थाहरुले उपयोग गरिरहेका छन् । वित्तीय संस्थाहरुले घर घरमा गएर चर्को ब्याजमा ऋण बाँडेका छन् । श्रीमती, आमाहरु समूह बैठक मा हिँड्छन् । अझ कोहि कोही त क्रिश्चियन धर्ममा लागे बिरामी सञ्चो हुन्छ भन्दछन् । शनिबार मादल बजाएर नाचगान गर्छन् । अहिले कतिपयलाई क्रिश्चियनमा लागे कोरोना भाइरस लाग्दैन भन्ने भ्रम र अन्ध विश्वासमा पारिएको छ ।
प्रिय प्रवासी मित्रहरु ! गाउँमा आउनुहोस्वि, विकृति विसंगतिविरुद्ध चेतना जगाउनुहोस् । समाजमा रहेको अन्याय, अत्याचार, भ्रष्टाचार विरुद्ध संघर्ष गर्न सिकाउनु होस् । यहाँ जो भ्रष्टाचारी छ, उसैलाई समाज सेवी मान्दछन् । विद्यालय, मठ मन्दिर, उपभोक्ता समिति, संघ संस्था सबैमा भ्रष्टाचार छ । जसले राष्ट्रघात गरेको छ उसैले राष्ट्रवादी हुँ भन्छन् ।
जसले लाखौं विदेशीलाई नागरिकता दिएका छन्, उनैले आफूलाई देशभक्त भन्छन् । जसले भ्रष्टाचार गरेर अकुत धन सम्पती कमाएका छन्, उसैलाई आफूलाई समाजसेवी भन्छ । भ्रमवस जनताले त्यो कुरा पत्याइदिन्छन् । प्रवासमा काम गर्ने मजदुर साथीहरू देशको राजनीतिक व्यवस्था परिवर्तन हुँदै आएपनि वास्तविक किसान मजदुर हरुको पक्षमा तथा गास बास, कपासको ग्यारेन्टी गर्ने र नेपालमा नै रोजगार दिने व्यवस्था आएको छैन । यसको लागि तपाईं हामीले हाम्रै पक्षमा राजनीतिक गर्नु पर्दछ । यो व्यवस्थाका उपलब्धिहरुको रक्षा गर्दै नयाँ जनवादी व्यवस्थाको तयारीमा जुट्नु पर्ने आजको आवश्यकता भएको छ ।
अन्त्यमा, कोरोना भाइरसको महामारीको बेलामा सबैले आ–आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुने छ । हामी पनि बचौं अरुलाई पनि बचाउन लागौं भन्ने कामना सहित यो सन्देश पत्र यही अन्त्य गर्दछु ।
तपाईहरुको पीरमर्कामा चिन्तित उही
केर सिंह अदै, शिवराज नगरपालिका ३ खरेन्द्रपुर, कपिलवस्तु मोबाइल नं ९८४७५४८९२७
(अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) केन्द्रीय सदस्य)

