जीवन शाही
दिनभर कम्युटर मै झुम्मिएर बस्दा अलिक धेरै नै आँखा र मस्तिष्कले पट्यार मानिसकेको थियो । कोठाभित्र बसेको पनि लगातार तीन दिन वितिसकेको थियो । पहिलो दिन त अलिकति उकुशमुकुश नै भयो । त्यसपछि अलिअलि बानी परे जस्तो भएको थियो । तर, बाहिर अलिकति आवाज आउँदा वित्तिकै बारदलीमा जान मन लागिहाल्थ्यो । अहिले भने जति आवाज आउँदा पनि बाहिर बारदलीमा निस्कन पनि पट्यार लाग्न थालिसकेको छ । म लगातार कम्प्युटरमा नै व्यस्त भइरहँदा मेरी जीवन संगीनीलाई भने उचित लागिरहेको छैन भन्ने मलाई महशुस भएको थियो ।
बेला–बेला उनले सम्झाउँथिन्, ‘कति कम्प्युटरमै आँखा च्यातेर हेरिरहको ? आँखा कमजोरी भ’काले एकछिन त नहेरेपनि हुँदो हो नि ?’ भान्साको काम सँग–सँगै, दैनिक गृहकार्यमा व्यस्त जीवन संगिनीका मुखबाट अलिअलि रिस मिसिएको अलिअलि माया मिसिएका शब्दहरु बेला–बेलामा सुनिरहन्छन् । म ती शब्दहरुको प्रवाह नै नगरिकन आफ्नै धुनमा हुन्छु । उनी भने घरीघरी मुर्मुरिएझैं गर्थिन् । म चुपचाप आफ्नै गतिमा अघि बढिरहन्थे ।
कोठामा हामी दुईजना मात्र छौं । बुवा–मुवा, बहिनी सँग कान्छो छोरा रेडियो नेपाल नजिक बस्छ । ठूलो छोरा चाहिँ मामाघरमा बस्छ । स्कुल विदा भएपछि दुवै जना हामीसँग छैनन् । उनीहरु मसँग भएपछि कम्युटर चलाउन नपाउने भएका कारण दुवै जना आ–आफ्नो व्यवस्थापनका लागि हजुरबुवा–हजुरमुवा सँग बस्ने गरेकाछन् । दुवै भाइ एकठाउँमा लडाभाँती गर्ने भएकाले पनि उनीहरुलाई छुट्टा–छुट्टै बस्न पठाउने सल्लाह भए बमोजिम उनीहरु त्यसै गरि नै बसेका छन् ।
यसकारण पनि हामी दुई जनामात्र कोठामा भएका कारण कोठा प्रायः सुनसान नै हुन्छ । बाहिर सानो आवाज आए पनि अलिक बढी नै टाठो सुनिन्छ । यस्तै–यस्तै परिवेशमा मेरो दिनचर्या वितिरहेको छ ।
घरी निदाउने गरी उठ्ने, अनि कम्प्यु्टरमा झुम्मिने गर्दागर्दै घर भित्र बस्न थालेको चौथो दिनको विहान भइसकेको थियो । भान्साको कुकरले सिट्ठी मारिहेको थियो । म भने विछ्यौनामा लमतन्न परिरहेको थिएँ । बाहिर आँगनको हल्ला मेरो कानमा ठोक्कियो ।
‘ए साग राख्नुहोस् साग, ताजा–ताजा खोले साग’
मेरो छिमेकी हरिशंकर जी र किराना पसलको साहुजी ‘खै यता ल्याउनुहोुस, त खै’ भन्दै थिए । मैले झयालबाट चिहाएर हेरें । डोका भरी साग बोकेकी, खुट्टामा चप्पल समेत नभएकी एक अधवैंशे महिला बाटोमा उभिएको देखें । त्यो सँग–सँगै वरीपरीका छिमेकीहरु पनि उनी भएतर्फ लम्कँदै थिए ।
त्यतिवेला नै मञ्जु (मेरो जीवन संगीनी)ले कराएन्, ‘ओ हलो साग खाने हो ?’
मैले जवाफ फर्काइन । जवाफ नपाउँदा उनले फेरि सोधिन् –‘साग खाने हो कि नाइँ ?’
मैले फेरि पनि जवाफ फर्काइन । उनले फेरि भनिन् –‘कस्तो आँटो खाई ढाड्या जस्तो केही नबोलेको ?’
अब मलाई बोल्नै पर्ने बाध्यता भयो । ‘होइन घरबाट बाहिर ननिस्कने भनिरहेको बेलामा फेरि किन साग किन्न जानु प-यो ? जे छ त्यही खाए भईहाल्यो नि ।’
उनले मेरो प्रतिउत्तरमा भनिन्– ‘अब यस्तो होला भन्ने थाहा पनि भएन । म सँग पैसा थिएन, पसलमा ग्राहक जो चल्दैन्थे। अनि पैसा पनि होस् कसरी ? आफूले ल्याउने होइन । भएको दाल चामल पनि सकिएला जस्तो भइसक्यो । ग्यास पनि धिप–धिप गरिरहेको छ । अलिदिन चलाउनलाई जोहो त गर्नप-यो नि भनेर भन्या हो ।’
मैले उनको जवाफ नदिएर हेरिनै रहेँ । अनि उनले फेरि थपिन्, ‘छोराहरु छैनन्, उनीहरु खाइहाल्छन् । जेसुकै होस् त मलाई पनि के खाँचो । ल्याए पकाईदिन्छु । नल्याए मपनि भोकै बसिदिन्छु ।’
यति भनेर उनी फन्किँदै बाथरुमतर्फ धुनु पर्ने कपडाको बाटा बोकेर गइन् । म केही पनि बोलिन । बोलेको भएपनि निकास निकाल्ने जिम्मा उनकै हुन्थ्यो । तर म बोलिन, अनि त झन् तनाव भयो । एकातिर सामल सकिएको पीडा, अर्काे तिर खल्ती रित्तिएको बेला । अलिअलि व्यापार हुने पसल पनि बन्द छ । रुपैयाँ आउने स्रोत सबै बन्द । एक्कासी बन्दको घोषणा हुँदा पूर्व तयारी पनि केही गर्न सकिएको थिएन । अब कसरी चलाउने होला दैनिकी भन्ने चिन्ता बढ्यो ।
अब यस्तो संकटमा कसरी एैंचो–पैंचोको कुरा के गर्नु । कसले पैंचै दिन तयार भएर बस्या होला र भन्ने पनि लाग्यो । सबैलाई यस्तै त होला ।
अब कसो गर्ने होला भनेर सोचिरहेको थिएँ । मेरो मानसपटलमा अनेक चित्रहरु देखापरे । दमकलले बाहिर किटनाशक औष्धी छर्किदै घर बाहिर नआउन माइकिङ गरिरहेको थियो । मलाई यस्तो लागिरहेको थियो कि, रंगमञ्चको पर्दा पछाडीबाट कोही अदृष्य भएर बोलिरहेको छ । रंगमञ्च खाली छ । त्यत्तिकैमा मेरो मानसपटलमा त्यही अघिको आवाज घुम्यो –‘साग राख्नुहोस् साग’ ।
मलाई यति बेला आफ्नो भन्दा पनि ध्यान अन्यत्रै मोडियो । अनि मनमनै गम्न थालें ।
अलिअलि हामी जागिर गर्ने र व्यवसाय गर्नेको हालत त यस्तो छ । झन् दिनभर मजदुरी गरेर जीवन गुजारा गर्नेहरुको हालत के भएको होला ? उनीहरुले कसरी जीवन गुजारा गरिरहेका होलान् ?
यी र यस्तै प्रश्नहरु मनमा खेलिरहे ।
मैले अनुमान गरें बिहानै डोकामा साग बेच्न आउने ती अधवैंशे उमेरकी महिला त्यसै साग बेच्न आएकी होइनन् । तीनलाई पनि मेरो भन्दा कम्ता समस्या भएर डोकोमा साग बेच्न आएकी होइनन् होला ?
कमसेकम म र मेरो परिवार घर भित्रै त छ, म मनमनै गमें ।
तर उनी सडकमा हाँक हाल्दै हिँडिरहेकी छन् ।
‘यस्तै समस्या भएर नै आएकी होलिन् ।’
‘मेरो जस्तै होइन, मेरो भन्दा बढी समस्या भएर आएकी हुन् ।’
हुने खानेहरुका लागि घरमै बार रेष्टुरेन्टहरु छन् । दिनभर ज्याला मजदुरी गर्नेहरुका लागि त उही दश नङग्रा न खियाएसम्म त केही पनि छैन । मजदुरी गरे पेट भरिन्छ, नत्र भोकै ।
हुनेखानेहरुलाई मास्क र स्यानिटाइजर प्रयोग गरेर १ मिटरको दुरीमा घर भित्रै बसे पनि रोग नसर्ने कुराको ग्यारेण्टी नै छ ।
विडम्वना खुट्टामा चप्पल धरी लाउन नपाएकी कि ती अधवैंशे महिलाका लागि ढाक्ने पर्ने अंग ढाक्नलाई कपडाको जोहो छैन । के को मास्क ?
खानलाई एक चिम्टी त छैन, केको हात धुनलाई स्यानिटाइजर ?
अरुको हातमा साग नपु¥याई बिक्दैन केको १ मिटरको दूरी कायम गरी बस्नु ।
अब कसरी सम्भव छ ?
घरमै बसेर रोग विरुद्ध संघर्ष गर्न ?
यहाँ भोक विरुद्ध संघर्ष गर्न हम्मे–हम्मे भएका बेला कसरी रोग विरुद्ध संघर्ष गर्नु । यो नै हाम्रो समाजको वास्तविक यथार्थता हो ।
घरमै बसेर रोग विरुद्ध लड्नका लागि सरकारले ‘लकडाउन’ गरिहेको छ । सारा शहर सुनसान छ । सुकिला मुकिलाहरु सडकमा देखिँदैनन् । बरु उनीहरु सामाजिक सञ्जालका भित्तामा देखिन्छन् । जो दैनिक ज्यालादारी गरेर खाने किसान र मजदुरहरु हुन उनीहरु रित्ता सडकमा देखिन्छन् । उनीहरु रोग विरुद्धको संघर्षमा होइन भोक विरुद्धको संघर्षमा भौँतारिरहेकाछन् । यसप्रकारको चित्र देखिन्छ । अहिलेको लकडाउनको अवस्थामा । अनि कसरी हामी ‘लकडाउन’मार्फत कोरोना भाइरस विरुद्धको युद्ध जित्न सक्छौं ?
क्रमस…

