काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्राज्ञिक केन्द्र तथा प्राध्यापकहरुले विश्वविद्यालयको उपकुलपतिमा प्राज्ञिक, शैक्षिक, आर्थिक, प्रशासनिक, व्यवस्थापकीय अनुभव भएका व्यक्तिलाई नियुक्त गर्न अनुरोध गरेका छन्।
आज प्रधानमन्त्री समक्ष अनुरोध पत्र दिँदै उच्च शिक्षा र त्रिविलाई बुझेको, प्रशासनिक एवम् व्यवस्थापकीय अनुभव भएको व्यक्तित्वलाई अविलम्ब उपकुलपतिमा नियुक्त गर्न अनुरोध गरेका हुन्।
त्यसैगरी पत्रमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार नियुक्ति गर्ने प्रक्रिया प्रारम्भ गर्नसमेत अनुरोध गर्दै त्यसका लागि १३ आधारसमेत पेस गरेका छन्।
विश्वविद्यालय प्राज्ञिक केन्द्र तथा त्रिविका प्राध्यापकले अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्राज्ञिक उत्कृष्ट नेतृत्व, प्रशासनिक नेतृत्व, दूरदर्शी नेतृत्व, विगतमा असल तथा सफल नेतृत्वको रेकर्ड भएको, अन्तर्राष्ट्रिय प्रकाशन, टाइम्स हायर एजुकेसनको उच्च स्तरमा परेको विश्वविद्यालयबाट पीएचडी र पोस्ट पीएचडी भएको हुनुपर्ने भनेका छन्।
त्यसैगरी अन्तर्राष्ट्रिय अनुभव, पहुँच र सम्बन्ध, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उच्च शिक्षाको राम्रो बुझाइ, स्रोत परिचालनका लागि अन्तर्राष्ट्रिय दातृ निकायहरूसँगको सम्बन्ध र अनुभव, अनुसन्धानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव, नेपालको उच्च शिक्षाको विकासको ज्ञान, नेपाली कर्मचारीतन्त्रको ज्ञान र अनुभव तथा सरोकारवालालाई समन्वय गर्ने दक्ष तथा क्षमतावान् उम्मेदवार खोज्नसमेत सल्लाह दिएका छन्।
यस्तो छ पत्र

