काठमाडौँ । इपिएस परीक्षार्थीको प्रदर्शनमा दुई जनाको मृत्यु हुने गरी ललितपुरको बालकुमारीमा २०८० पुस १३ गते शुक्रबार भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति बनाएको छ ।
उपत्यका प्रहरी कार्यालयका डिआइजी लालमणि आचार्य नेतृत्वमा छानबिन समिति बनेको हो
समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य रहेका छन् ।
रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा दिन नपाएपछि प्रदर्शन गरेका युवाहरूले मन्त्रीको गाडीमा आगजनी गरेपछि झड्प भएको थियो भने प्रहरीले अश्रुग्याँस हानेको थियो । त्यस क्रममा दुई जनाको मृत्यु भएको छ भने १७ जना पक्राउ परेका छन् ।
पानिजहाज बनाउने कम्पनीका लागि परीक्षा फर्म भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने इपिएस कार्यालयले जनाएको थियो ।
पानिजहाजसम्बन्धी कम्पनीमा परीक्षा दिएका तर अनुत्तीर्णले फर्म भर्न नपाउने निर्णय विरुद्ध युवाहरू अदालत गएका थिए ।
उत्पादनमूलक तथा कृषिक्षेत्रमा हुने परीक्षामा पनि उनीहरूलाई सहभागी गराउन अदालतले आदेश दिएको थियो । इपिएस कार्यालयले अदालतमा रिट दायर गर्नेलाई मात्रै आवेदन दिन आह्वान गरेको थियो । अरू विद्यार्थीले फर्म भर्न नपाउने स्थिति भएपछि विरोध प्रदर्शन भइरहेको थियो ।
प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्याँस हानेको थियो । स्थिति साम्य हुने स्थिति नदेखिएको भन्दै हवाई फायर गरेको थियो ।
