नयाँदिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले कोयम्बटोर नगर समितिका अध्यक्ष रेशमबहादुर थापाको निधन भएपछि केन्द्रीय समितिले श्रद्धाञ्जली व्यक्त गरेको छ ।
अध्यक्ष ठाकुर खनालको हस्ताक्षरमा डिसेम्बर १९, २०२३ का दिन शोकवक्तव्य जारी गर्दै श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको हो ।
शोकवक्तव्यमा भनिएको छ :
“मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोयम्बटोर नगर समितिका अध्यक्ष रेशमबहादुर थापाको दु:खद निधन भएको समाचारले हामी अत्यन्तै मर्माहत छौँ । उहाँ केही समयदेखि क्यान्सरबाट ग्रस्त हुनुहुन्थ्यो । उहाँले मूल प्रवाहमा सन् १९९८ देखि आबद्ध सङ्गठनको विभिन्न जिम्मेवारी निर्वाह गर्दै आउनुभएको थियो । सातौँ दक्षिण भारत क्षेत्रीय सम्मेलनद्वारा उपाध्यक्षको जिम्मेवारी निर्वाह गर्नुभएका थापा हाल दक्षिण भारत क्षेत्रीय समितिको सदस्य एवम् कोयम्बटोर नगर समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आउनुभएको थियो ।
उहाँको निधनले सिङ्गो मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई र भारत प्रवासमा श्रमजीवी वर्गको पक्षमा गरिने गतिविधिमा क्षति पुगेको छ । मृतक थापाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ ।”