तमघासबजार । गुल्मी कालीगण्डकी गाउँपालिका पुर्तिघाटस्थित राधाकृष्ण बचत तथा ऋण सहकारी संस्थाको बाह्रौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
२०८० मङ्सिर २३ गते शनिबार कालिगण्डकी गाँउपालिकाको पुर्तिघाट बजारमा सो साधारणसभा सम्पन्न भएको हो ।
कार्यक्रममा शुभकामना मन्तव्य दिँदै प्रमुख अतिथि कालिगण्डकी गाँउपालिकाका अध्यक्ष वेदबहादुर थापाले संस्थाले पालिकाको वित्तीय विकासको क्षेत्रमा महत्व र योगदान पुर्याएको बताउनुभयो ।
सभामा गाउँपालिकाभरिका सम्पूर्ण सहकारी संस्था, बैङ्क तथा वित्तीय सङ्घसंस्था, सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधिलगायतले शुभकामना दिनुभएको थियो ।
सो अवसरमा सातओटै वडाअध्यक्षहरूको समेत आतिथ्य रहेको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष सूर्यबहादुर क्षेत्रीले आगामी वर्षको लागि नीति तथा कार्यक्रम पेस गर्नुभयो ।
त्यस्तै, सञ्चालक समितिको तर्फबाट सस्थाका कोषाध्यक्ष शान्ति विकले आव २०७९र८० को कार्यप्रगति विवरण तथा आव २०८०र८१ को अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो ।
एवम् प्रकारले लेखा सुपरीवेक्षण समितिका संयोजक रामहरि शर्माले आर्थिक वर्ष २०७९र८० को कार्यप्रगति विवरणबारे प्रतिवेदन पेस गर्नुभयो ।
सभामा आर्थिक वर्ष २०७९र८० को सहकारीको अनुमानित आयव्याय तथा वार्षिक कार्यक्रम र लेखा समितिको प्रतिवेदन पारित गरिएको थियो ।

संस्थाका अध्यक्ष क्षेत्रीले प्रस्तुत गर्नुभएको प्रतिवेदनअनुसार आव २०७९र८० मा संस्थाको सेयर पुँजी ५५ लाख १६ हजार रहेको छ । संस्थामा चार सय ४२ जना सदस्य आबद्ध छन् । यस अवधिमा संस्थाको जगेडा र अन्य कोषमा ९५ लाख रुपियाँ रहेको प्रतिवेदन सभामा प्रस्तुत गरिएको थियो ।
त्यस्तै, संस्थाले दुई करोड ५३ लाख निक्षेप सङ्कलन गरी चार करोड ४५ लाख कर्जा लगानी गरेको छ । सहकारीले सदस्यलाई वित्तीय साक्षरता दिँदै सदस्यलाई उत्पादनसँग जोड्न लगानी गर्ने योजना सञ्चालनमा ल्याएको छ । जसअनुसार न्यूनतम ब्याजदरमा सदस्यलाई कृषि, उद्यम एवम् आर्यआर्जनका क्षेत्रमा पाँच लाखसम्म बिनाधितो ऋण दिने सुविधा रहेको बताइएको छ ।
साधारणसभाले हाल सदस्यलाई १७ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावसमेत पारित गरेको संस्थाका सञ्चालक अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।

सभामा छ जना ज्येष्ठ सदस्यलाई सम्मान गरिएको थियो । त्यस्तै सेयर सदस्यका छोराछोरीको तर्फबाट सामुदायिक विद्यालयबाट एसइई तथा कक्षा १२ मा उत्कृष्ट अङ्क ल्याउने एक एक जना विद्यार्थी तथा टोल समितिका संयोजकलाई सम्मान गरिएको थियो ।
एवम् प्रकारले ५० हजारभन्दा माथिका सेयरधनीलाई कार्यक्रममा प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।
सञ्चालक समितिका अध्यक्ष क्षेत्रीको अध्यक्षता तथा सेयर सदस्य गोविन्द गौतमको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।