काठमाडौँ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले मकैको पोस्टर र थाकलबाट झोला र टोपी बनाउँदै बेरोजगारी हटाउने प्रयासको थालनी गरेको छ ।
नगरप्रमुख झबिलाल थापाले २०८० मङ्सिर १६ गते शनिबार काठमाडौँमा युगदर्शनलाई सो जानकारी दिनुभएको हो ।
उहाँका अनुसार यतिखेर पालिकाका दसओटै वडामा एकमहिने तालिम चलिरहेको छ ।

‘भूमिकास्थान नगरपालिकाका दसओटै वडामा दस दस जनाको टोली बनाएर यतिखेर तालिम चलिरहेको छ’ उहाँले भन्नुभयो– ‘कात्तिकबाट सुरु भएको यो तालिम एक महिनासम्म चल्ने छ ।’
उहाँले मकैको पोस्कर र थाकल (वनस्पती) बाट झोला र टोपी बनाउन सिकाउने काम चलिरहेको बताउनुभयो ।
यसलाई “कर्मशील जनशक्ति रोजगार कार्यक्रम–२०८०” नाम दिइएको छ ।
टोलीका सदस्य कसरी छानिन्छन् भन्ने हाम्रो प्रश्नको उत्तरमा उहाँले त्यसका लागि बेग्लै प्रक्रिया भएको उहाँले बताउनुभयो ।
‘टोलीका सदस्यहरू हामीले बेरोजगारको सूचीबाट छानेका छौँ’ उहाँले भन्नुभयो– ‘हामीले न्यून आय भएका दलित, जनजाति, महिला आदिबाट फाराम भराएर नै बेरोजगार जनशक्तिको सूची तयार गरेका छौँ । तिनीहरू नै अहिले यस काममा लागेका छन् ।’
भूमिकास्थानको उक्त प्रयास आगामी दिनमा पनि यथावत् रहन्छ कि रहँदैन भन्ने हाम्रो प्रश्नमा उहाँले भन्नुभयो– ‘एक महिनापछि यसले साना उद्योगको रूपमा विकास गर्ने छ । अहिले तालिम लिएको जनशक्तिले गरेको उत्पादनका लागि नगरपालिकाले बजार व्यवस्थापन गरिदिने छ ।’

उहाँले नगरपालिकाको यस कामका लागि ओमश्री मल्टिएग्रो प्रालिसँग सहकार्य भइरहेको बताउनुभयो ।
‘हाम्रो यस प्रयासलाई ओमश्री मल्टिएग्रो प्रालिले सघाइरहेको छ’ उहाँले भन्नुभयो– ‘अहिले तालिम दिइरहेको यही कम्पनीले एक महिनापछि प्रतिक्विन्टल १५ हजारको दरले पोस्कर खरिद गर्ने छ र यसरी तयार भएको झोला र टोपीको बजारीकरण पालिकाले गर्ने छ ।’
उहाँले एक महिनापछि अहिले काम सिकेका जनशक्तिलाई १० देखि ५ बजेसम्म रोजगार दिने र त्यसबापत् प्रत्येकलाई ६६८ रुपिया दैनिक ज्याला दिइने पनि बताउनुभयो ।
उहाँले यो योजना प्रधानमन्त्री स्वरोजगार योजना कार्यक्रमअन्तर्गत रहेको जानकारी पनि दिनुभयो ।
बाझो जग्गा आवाद गर्ने योजना पनि
मेयर थापाले पालिकाबाट बेरोजगारी अन्त्य गर्ने योजनाअन्तर्गत बाझो खेत जोत्ने अभियान पनि सँगसँगै चलाइएको बताउनुभयो ।
‘पालिकामा रहेका बाझो जमिन हामीले दुईदेखि पाँच वर्षका लागि लिजमा लिएका छौँ’ उहाँले भन्नुभयो ।
ती बाँझो खेतमा अहिले रैथानी गहत बाली लगाएको उहाँले जानकारी दिनुभयो ।
‘हामीले प्याजखेतीको तयारी पनि गरिरहेका छौँ’ उहाँले भन्नुभयो– ‘अहिले सय केजी प्याजको बिउको ब्याड तयार भइरहेको छ । अब हामीले त्यो बिउलाई बाझो खेतमा लगाउने छौँ ।’
भविष्यमा अरू तरकारी वा अन्य खेती गर्ने योजना पनि रहेको उहाँले बताउनुभयो ।
उहाँले यो अभियानबाट बेरोजगारी र बसाइँसराइ तथा विद्यार्थी पलायन रोक्ने योजना रहेको उहाँले दाबी गर्नुभयो ।
पालिकामा उत्साह
यस खालको योजना ल्याएपछि भूमिकास्थानमा उत्साहको वातावरण सिर्जना भएको मेयर थापाले बताउनुभयो ।
‘पहिला पहिला त यो काम के सफल होला र भनेर आशङ्का गर्दथे’ उहाँले भन्नुभयो– ‘अहिले भने त्यस्तो शङ्का गर्दैनन् । अहिले त प्याजका ब्याडमा आएर फोटो खिँच्छन् अनि भन्छन्, नगरे के नहुने रहेछ र ?’

उहाँले पालिकाको उपर्युक्त दुई योजनालाई कर्मचारीको तर्फबाट उत्साहजनक सहयोग पाएको बताउनुभयो ।
‘कर्मचारी साथीहरू उत्साहजनक प्रकारले लागिरहनुभएको छ’ उहाँले भन्नुभयो– ‘त्यति मात्रै होइन, राज्यका अन्य निकायहरू, जस्तै, वन, उद्योग, कृषिले पनि हाम्रो यस अभियानमा सहकार्य गर्ने प्रस्ताव लिएर आएका छन् ।’
उहाँले अन्य राजनीतिक दलबाट आफूहरूको यो अभियानमा उत्साह थप्ने काम भइरहेको बताउनुभयो ।