काठमाडौँ । आज काठमाडौँका अलग–अलग स्थानमा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूहले शक्ति प्रदर्शन गर्दै छन्।
युवा संघले तीनकुने र प्रसाईं समूहले बल्खुमा कार्यक्रम स्थल तोकेका छन्।
मेडिकल व्यवसायी प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले प्रदर्शनको कार्यसूची सार्वजनिक गरेको छ। काठमाडौंको बल्खुमा हुने उक्त कार्यक्रमका लागि आठवटा रुट तय भएको अभियानका सह–प्रवक्ता राजानन्द माण्डव्यले जानकारी दिए।
धार्मिक झण्डा र राष्ट्रिय झण्डा बाहेक अन्य कुनै झण्डा प्रयोग गर्न नपाउने सो समितिले जनाएको छ। विभिन्न ७ वटा स्थानबाट सुरु भएको र्याली बल्खुमा गएर सभामा परिणत हुने माण्डव्यले बताए।
प्रसाईंबाहेक सभामा सम्बोधन गर्ने अन्य व्यक्तिहरूको नाम अझै टुंगिएको छैन।
यी हुन भेला हुने स्थानहरूः
१) परीक्षा नियन्त्रण अगाडिको खुला चौर, भक्तपुर सानोठिमी
२) गंगबु चोक
३) स्वयम्भु
४) कलंकी
५) जावलाखेल
६) सातदोबाटो
७) त्रिवि प्रवेशद्वार अगाडि
८) चाबहील
युवा संघको प्रदर्शनमा कहाँबाट ?
युवा संघको कार्यक्रममा ३० हजारसम्म युवा/विद्यार्थी सहभागी हुने दाबी संघको दाबी छ । आजको कार्यक्रममा काठमाडौँ उपत्यकामा उपलब्ध युवा तथा विद्यार्थी मात्र सहभागी हुने बाहिरी जिल्लाबाट मानिस नल्याइने राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेवेको भनाइ छ।
कार्यक्रमअघि बिहीबार बिहान पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै संघका अध्यक्ष थेवेले भने, ‘उपत्यकामा रहेका युवा विद्यार्थीलाई आह्वान गरेका छौँ। हामीले उपत्यकाबाहिरबाट कसैलाई पनि झिकाएका छैनौँ। उपत्यकामा रहेका युवा विद्यार्थी स्वस्फूर्त रूपमा सहभागी हुन्छन्। अनेरास्ववियु र युवा संघबाट गरेर सामान्य ढंगले पनि २५/३० हजार सहभागी आउनुहुन्छ।’
एकअर्कालाई आरोप प्रत्यारोप गरिरहेका यी दुई समूहका समर्थकबीच झडप हुने सक्ने सम्भावनालाई विचार गरेर काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ।
