काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर ७ गते काठमाडौंमा हुन लागेको प्रदर्शनलाई लक्षित गर्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार विज्ञप्ति प्रकाशित गरी एक महिनाका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको जनाएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जारी गरेको विज्ञप्तिमा मंसिर ४ देखि ३० दिनसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको जनाइएको छ ।
अब सो क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेलाई भई जुलुस, प्रदर्शन, धर्ना घेराउ, अनशन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाइने भएको छ।
मंसिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा राजतन्त्र पक्षधर एक समूहले प्रदर्शन गर्ने तयारी गरेको छ भने नेकपा (एमाले) का नेता महेश बस्नेत नेतृत्वको अर्को समूहले प्रतिकार गर्ने चेतावनी दिएको छ ।
प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान भनेका छन् भने युवा संघले सरकार र अराजकतावादीविरुद्ध युवा विद्यार्थीको शक्ति प्रदर्शन गर्ने भनेको छ ।
एकै दिन दुई समूहले एकै स्थानमा प्रदर्शन गर्न लागेपछि सम्भावित झडपलाई रोक्न प्रशासनले पद्मोदय मोडदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको हो ।