ढुण्डिराज शर्मा ##
माओत्सेतुङको भनाइ थियो : एउटा झिल्कोले डढेलो लाग्न सक्छ । हुन पनि त्यस्तै भयो । सन १८९६ सालमा रसियन सामाजिक जनवादी पार्टीको स्थापना भयो र अक्टोबर १९१७ मा २१ वर्षको छोटो अवधिमै महान् लेनिनको नेतृत्वमा रसियन कम्युनिस्ट पार्टीले पृथ्वीको एकतिहाइ भूभाग भएको देश रुसमा अक्टोबर समाजवादी क्रान्ति सम्पन्न गर्नमा सफलता मिल्यो ।
उहाँले प्रथम विश्वयुद्धको विरोध गर्नुभयो र पूर्वी युरोपका समपूर्ण कम्युनिस्ट पार्टीलाई विश्वयुद्धको जोडदार विरोध गर्न भन्नुभयो । विरोधीहरू एकआपसमा लडिरहेका बेला आफ्नो पक्षमा क्रान्तिकारी ऊपयोग गर्न लगाउनु भयो तर रुसको भन्दा बलियो सङ्गठन भएका पूर्वी युरोपका मुलुकहरूले सर्वहारा क्रान्ति सम्पन्न गर्न सकेनन् । ठोस परिस्थितिको ठोस मूल्याङ्कन गर्न सक्ने असाधारण क्षमताका धनी महान् लेनिनले अक्टोबर क्रान्ति सफल पारेर विश्व समुदायका अगाडि पुँजीवादको विकल्प पेस गर्नुभयो ।
चीनमा माओले पनि लेनिन र लेनिनवादलाई पछ्याउनुभयो र भन्नुभयो– एउटा झिल्कोले सारा जङ्गल डढाउन सक्छ । उहाँले अझै अगाडि बढेर भन्नुभयो– बहादुरहरूले मात्र बादशाहलाई घोडाबाट खसाल्न सक्छन् ।
माओको नेतृत्वमा सन् १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भयो । २८ वर्षको छोटो अवधिमै सन् १९४९ मा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो ।
संसारभरिका साम्राज्यवादी देशहरू जापान, अमेरिका, बेलायत, पोर्चुगललगायतले चीनलाई लुछिरहेका थिए । कुकुरले हाड चुसे जस्तै एकआपसमा लुछाचुँडी गर्दै चिनियाँ भूभागमाथि कब्जा जमाइरहेका थिए । जापानी सेनाले लाखौँ चिनियाँ महिलामाथि हत्या, हिंसा, बलात्कार गर्ने, बन्धक बनाएर अनेकौँ यातना दिन्थे । चीनमा बाघको छालामा स्यालको रजाइँ थियो । सारा चिनियाँ जनतालाई अफिम खुवाएर लठ्याइएको थियो । चीनका अमूल्य प्राकृतिक स्रोतसाधन, धनदौलत, सुनचाँदी, हीरामोती जस्ता धातुहरू मुख्य मुख्य बन्दरगाह कब्जा गरेर आआफ्ना मुलुकमा ओसारिरहेका थिए ।
उता, कोमिङताङ पार्टीका नाइके च्याङकाइसेक भने आफ्नो सत्तालिप्साको लागि जस्तोसुकै राष्ट्रघाती हर्कत गर्न तयार भएर उनै विदेशी साम्राज्यवादी लुटेराको दलाली, चाकरी गरेर कुर्ची जोगाउने खेलमा मस्त थियो ।
यस्तो जटिल परिस्थितिमा चिनियाँ कम्युनिस्ट पार्टी एक्लैले देशीविदेशी प्रतिकृयावादी साम्राज्यवादी शक्तिलाई परास्त गरी देशलाई उनीहरूको चङ्गुलबाट मुक्त गर्न सक्ने सामथ्र्य राख्दैनथ्यो । तसर्थ माओले प्रतिकृयावादी च्याङकाइसेकलाई संयुक्त मोर्चामा आउन बाध्य पार्नुभयो । जनमुक्ति सेना र सरकारी सेनाको संयुक्त प्रत्याक्रमणवाट साम्राज्यवादी शक्तिलाई परास्त गर्न सफल हुनुभयो ।
विदेशीलाई चीनबाट लखेटिसकेपछि अब माओले रणनीति परिवर्तन गरी च्याङकाइसेकको प्रतिकृयावादी कोमिङताङ सरकारको विरूद्ध मोर्चा कस्नुभयो ।
दोस्रो विश्वयुद्धको प्रभाव चीनमा पनि पर्दै गयो । सशक्त बन्दै गएको चिनियाँ कम्युनिस्ट पार्टीले विश्वयुद्धको विरोध गर्यो । साथै यसलाई क्रान्तिको पक्षमा उपयोग गर्ने निर्णय गर्यो र आफ्नो सम्पूर्ण शक्ति क्रान्तिमा लगायो । फलस्वरूप सन् १९४५ मा विश्वयुद्घ समाप्त भयो । सन् १९४९ मा विश्वको एकतिहाइको हाराहारीमा जनसङ्ख्या भएको चीनमा नयाँ जनवादी क्रान्ति सफल भयो ।
रुसबाट निस्केको डढेलोले चीनका दुस्मनशक्तिलाई मात्र डढाएन, डढेलोको राप र तापले विश्वभरका पुँजीवादी शक्तिको मुटु हल्लियो ।
समाजको विकासक्रमलाई कसैले रोक्न सक्दैन । दासयुगलाई आदिम साम्यवादी युगले रोक्न सकेन । सामन्तवादी युगलाई दास युगले रोक्न सकेन । पँुजीवादी युगलाई सामन्तवादी युगले रोक्न सकेन भने समाजवादी क्रान्तिलाई कुनै पनि हालतमा पुँजीवादले रोक्न सक्ने छैन । ढिलो वा चाँडो क्रान्ति निश्चित छ । पुँजीपति वर्गले आजको विश्वमा पुँजीवादी सङ्कट समाधान हैन, व्यवस्थापन मात्र गरेका हुन् ।
हरेक पदार्थको गति, समाज विकासको गति वा ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादको नियमले यही भन्छ : समाजवादी क्रान्ति अवश्यम्भावी छ । एउटा झिल्कोले सारा संसारभरका शोषितपीडित जनताका दुस्मनलाई डढाउन सक्ने छ ।

