अबुजा नाइजेरियो । पश्चिम अफ्रिकी देश बुर्किनाफासोमा भएको नरसंहारमा करिब १०० सर्वसाधारणको मृत्यु भएको छ ।
युरोपेली सङ्घको कूटनीतिक सेवाले सोमबार जनाएअनुसार बुर्किनाफासोको उत्तरमध्य क्षेत्रको जाओन्गो गाउँमा भएको नरसंहारमा महिला र बालबालिकासहित करिब एक सय सर्वसाधारणको मृत्यु भएको हो ।
जाओन्गो गाउँ बोल्सा सहरबाट करिब ६० किलोमिटर टाढा छ । घटनाको कारण र संलग्नताबारे अहिलेसम्म कुनै जानकारी सार्वजिनक भएको छैन । अभियोजक साइमन ग्यानोउले बताएअनुसार अहिलेसम्म घटनाको यथेष्ट प्रमाण भेटिएको छैन ।
बुर्किनाफासो २०२२ को जुलाईदेखि सैनिक शासनको अधीनमा छ । सैन्य अधिग्रहणपछि जन्टाले सुरक्षालाई प्राथमिकता दिएको छ तर इस्लामवादी समूहलाई नियन्त्रण गर्न सङ्घर्षरत छ ।
विभिन्न आतङ्ककारी आक्रमणबाट सयौँ नागरिकको मृत्यु भएको छ । बुर्किनाफासो हिंसाको केन्द्र बनेको छ । अलकायदा र इस्लामिक स्टेटसँग सम्बन्धित इस्लामवादी समूहका गतिविधि विशाल सहेल क्षेत्रमा फैलिएको छ ।
एम्नेस्टी इन्टरनेसनलका अनुसार गरिब राष्ट्रको ठुलो भाग “युद्धअपराध र मानवअधिकार उल्लङ्घन गर्ने” सशस्त्र समूहको घेराबन्दीमा छ । यसै वर्षको अप्रिलमा छुट्टाछुट्टै गाउँमा कम्तीमा ४४ जनाको ज्यान गएको थियो । जन्टा अधिकारीहरूले इस्लामवादी आतङ्कवादीमाथि त्यसको दोष लगाएका थिए ।
अप्रिलमा नै सैन्य पोसाकमा सशस्त्र व्यक्तिले सोही क्षेत्रको एउटा गाउँमा गरेको आक्रमणमा १३६ जना नागरिक मारिएका थिए । (रासस–एएनआई)