नयाँदिल्ली । भारतको उत्तराखण्ड उत्तरकाशीमा निर्माणाधीन सुरुङ भत्किँदा त्यसभित्र फसेका ४० जना कामदार सुरक्षित रहेका छन् ।
उद्धार टोली सुरुङको १५ मिटरभित्रसम्म पस्न सफल भएको छ । उद्धारकर्मीले सुरुङभित्र फसेका ४० जना कामदारको स्थानसम्म पुग्न अझै ३५ मिटरको फोहर हटाउन बाँकी रहेको बताएका छन् । साथै फसेका कामदारसँग सञ्चार स्थापित गर्न सक्षम भएको उनीहरूले बताएका छन् ।
‘सुरुङ करिब ६० मिटर गहिरो छ । हामीले फोहर हटाउने क्रममा माथिबाट फोहर खसिरहेको छ । हिजो हामीले सुरुङभित्र फसेका मानिससँग सम्पर्क स्थापना गर्यौँ । हामी सुरुङभित्र करिब १५ मिटरसम्म पुगेका छौँ र अझै पनि ३५ मिटर जान बाँकी छ’ उत्तरकाशीका सर्कल अधिकारी प्रशान्त कुमारले भन्नुभयो– ‘अहिलेसम्म सबै जना सुरक्षित छन् । हामीले अक्सिजन र पानी उपलब्ध गराएका छौँ । हामीले सुरुङभित्र जानका लागि छेउमा अर्को बाटो बनाइरहेका छौँ ।’
उद्धार दलले सुरुङभित्र फसेका कामदारलाई खाजा र पानी दिएको भन्दै सोमबार साँझसम्ममा भग्नावशेष पन्छाएर कामदारलाई बाहिर निकाल्न सकिने अपेक्षा गरिएको जनाएको छ ।
‘हामीले फसेका कामदारलाई केही चिप्स र पानी दिएका छौँ । उनीहरू सुरक्षित रहेको पुष्टि गर्दछौँ’ टोलीका सहायक कमान्डर कर्मवीर सिंह भण्डारीले भन्नुभयो– ‘उद्धार कार्य जारी छ । सोमबार साँझसम्ममा भग्नावशेष पन्छाएर फसेका कामदारसम्म पुग्ने अपेक्षा गरेका छौँ । सुरुङ भत्किएको स्थानमा प्लास्टरको काम पूरा भएको थिएन ।’
शनिबार ब्रह्मखाल–पोलगाउँको सिल्क्यारातर्फको विन्दुभन्दा करिब दुई सय मिटर अगाडि सुरुङको एक भाग भत्केको थियो । त्यसले गर्दा ४० जना कामदार सुरुङभित्र फसेका थिए । (रासस/एएनआई)