काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभा सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले इजरायलले तत्कालै युद्धविराम गर्नुपर्ने आवश्यकता औल्याउनुभएको छ ।
राष्ट्रियसभाको २०८० कात्तिक १६ गते बिहीबारको बैठकमा बोल्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
‘प्यालेस्टाइनमा भयावह स्थिति छ । इजरायलतर्फ एक हजार चार सयभन्दा बढी र प्यालेस्टाइनतर्फ आठ हजार पाँच सयभन्दा बढीको मृत्यु भइसकेको छ । त्यहाँ २४ देशका नागरिक युद्धबाट पीडित छन् । २२ जना त पत्रकारकै मृत्यु भइसकेको छ’ उहाँले भन्नुभयो– ‘यो अवस्थालाई रोक्न तत्कालै इजरायलले युद्धविराम गर्नुपर्दछ ।’
संयुक्त राष्ट्र सङ्घमा प्रस्तुत युद्धविरामलाई असफल तुल्याइएकोमा सांसद विश्वकर्माले भन्नुभयो– ‘जसरी संयुक्त राष्ट्र सङ्घमा प्रस्तुत युद्धविरामको प्रस्ताव असफल तुल्याइयो, यसबाट कतै देश तेस्रो विश्वयुद्धटतर्फ त गइरहेको छैन भन्ने आशङ्का उत्पन्न भएको छ ।’
उहाँले इजरायलले तत्कालै युद्धविराम गरेर त्यहाँका जनताको शान्तिपूर्वक बाँच्न पाउने अधिकारको ग्यारेन्टी गर्न विश्व समुदायसित आग्रह गर्नुभयो ।
सन् १९४८ भन्दा पहिले प्यालेस्टाइन क्षेत्रमा यहुदीहरू आठ प्रतिशत मात्रै भएको उल्लेख गर्दै उहाँले अहिले त्यस क्षेत्रमा अन्य समुदाय दस प्रतिशत मात्रै भएको, यसरी त्यहाँ इजरायली प्रभुत्व बढ्दै गएको बताउनुभयो ।
हमास र इजरायलमध्ये इजरायलको आक्रमणलाई गम्भीर रूपमा लिँदै उहाँले हमासको तरिका पनि गलत भएको टिप्पणी गर्नुभयो ।
मन्तव्यको क्रममा उहाँले इजरायलमा ज्यान गुमाएका दस नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै हमासद्वारा बन्धक बनाइएका विपिन जोशीको शीघ्र उद्धार गर्नका लागि नेपाल सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।





