काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समानुपातिक निर्वाचन प्रणालीबाट धनाढ्य र पहुँचवालाहरू सांसद निर्वाचित भएको भन्दै यसको औचित्यमाथि विचार गर्नुपर्ने बताउनुभएको छ ।
२०८० कात्तिक १५ गते बुधबार प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा बोल्दै अध्यक्ष केसीले निर्वाचन प्रणाली खर्चिलो भएको बताउनुभएको हो ।
उहाँले वर्तमान निर्वाचन प्रणालीबाट योग्य, क्षमतावान र राम्रो मान्छेले सपनामा पनि निर्वाचन जित्न नसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘चुनाव यति खर्चिलो भयो कि अब योग्य, क्षमतावान्, राम्रो मान्छेले चुनाव सपनामा पनि जित्न सक्दैन, बिपनाको कुरा छाडिदिउँ । यसमा राजनीतिक पार्टी नै जिम्मेवार छन् । आयोगले पनि राम्रोसँग चुनावको अनुगमन गरेको छैन । समानुपातिक निर्वाचन प्रणाली डरलाग्दो कुरा भयो । समानुपातिक राखेको त दलित, विपन्न समुदाय, जनजाति, त्यस ठाउँका जसले सदनमा आउनै सक्दैनन्, त्यस्तो मान्छेका लागि हामीले समानुपातिक राखेका हौँ ।’
उहाँले समानुपातिक निर्वाचन प्रणाली दलित, जनजाति तथा विपन्न समुदायका लागि राखिएको भए पनि धनाढ्य र पहुँचवालाहरू सांसद बन्ने गरेका बताउनुभयो ।
उहाँले शक्ति र सम्पत्ति भएकाहरू समानुपातिक निर्वाचन प्रणालीबाट दोहोरिएर सांसद हुने गरेका भन्दै यसको औचित्यमाथि प्रश्न उठाउनुभयो ।
उहाँले थप्नुभयो– ‘तर समानुपातिकमा त पार्टीभित्रका सबभन्दा धनाढ्य, पहुँचवाला आएपछि समानुपातिकको औचित्य के ? यसमा गम्भीर रूपले विचार गर्नुपर्छ । समानुपातिकमा पटक पटक शक्ति, सम्पत्ति भएकाहरू दोहोरिएर आउने हो भने समानुपातिकको औचित्य नरहने हाम्रो पार्टीको ठहर छ ।’
उहाँले निर्वाचन शिक्षा पनि अझ राम्रोसँग दिनुपर्ने बताउनुभयो ।
त्यस्तै, उहाँले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।