भक्तपुर । मध्यपुर थिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिन्डेजात्रा आज २०८० कात्तिक ८ गते बुधबार मनाइएको छ ।
नेवार भाषामा खाँः भनेर चिनिने सो जात्रा घटस्थापनाको दिन थिमिको लायकूस्थित तलेजू मन्दिरमा जमरा राखेर सुरु भएको थियो ।
कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैँघरमा भित्र्याएपछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ ।
नवमीका दिन कोतमा काटिएको राँगोको टाउको र दशमीको दिनदेखि पूजा गरेको कुभिन्डोलाई बाजागाजाका साथ विगुल फुक्दै लायकू दरबारबाट दिगुभैरव परिक्रमा गरी बालकुमारी ल्याइएको थियो । आज एकादशीका दिन तीन जना पमा (थकाली), बाजा बजाउने कुस्ले, कपाली, मुखुन्डो लगाएर तरबार बोक्ने र माला बोक्ने कुटु, बिगुल फुक्ने, राजदण्ड समाउने नाइके र राजोपाध्यायसहितको संलग्नतामा जात्रा निकाल्ने गरिन्छ ।
बाजागाजासहित लायकूबाट ल्याइएको कुभिण्डोलाई बालकुमारीअगाडि कर्माचार्यले पूजा गरी थकाली (पमा) ले काटेका थिए ।
कुभिण्डोको टुक्रा टिपेर लान सक्नेको घरमा सुखशान्ति हुने र ती टुक्राले औषधिको समेत काम गर्ने जनविश्वास रहिआएको छ । (रासस)

