काठमाडौं । भारतको सिक्किममा केही दिनअघि गएको बाढी पहिरोपछि पाँच जना नेपाली सम्पर्कविहीन भएका छन् ।
जिल्ला प्रशासन कार्यालय इलामका अनुसार सम्पर्कविहीन हुनेमा ४० वर्षीय सेनबहादुर कार्की, ३० वर्षीय लाक्पा शेर्पा, नरमाया बस्नेत, ९ वर्षीया खुसी बस्नेत र २८ वर्षीय कुमार खड्का छन् । उनीहरु सबै इलाम ९ गोलखर्कका हुन् ।
एकै गाउँका उनीहरु केही समयअघि उत्तरी सिक्किमको लाचेन भन्ने ठाउँमा निर्माण श्रमिकका रुपमा गएका थिए ।
ती श्रमिक खोजीका लागि पहल सुरु गरेको प्रशासनले जनाएको छ । इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सिक्किम पहिरोमा हराएकामध्ये पाँच जनाको मात्रै पहिचान भई खोजबिनका लागि सिक्किम सरकारसँग समन्वय भइरहेको जनाएका छन् ।
प्रजिअ पोखरेलका अनुसार नेपाली नागरिक खोजीका लागि भारतीय सीमा सुरक्षा बलमार्फत सिक्किम सरकारलाई नामावलीसहित पत्राचार गरिएको छ । एसएसबीले उद्धारका आश्वासन दिएको प्रजिअ पोखरेलले बताए ।
एक साताअघि हिमताल विस्फोटका कारण सिक्किममा ठूलो बाढी गएको थियो । त्यही बेलादेखि उनीहरु बेपत्ता भए पनि नेपालीहरु कार्यरत रहेको क्षेत्रमा बाढीले खासै क्षति नपुर्याएकाले उनीहरु कसरी बेपत्ता भए भन्नेबारे सिक्किम सरकारले खोजबिन गरिरहेको जनाइएको छ ।
असोज १७ गते बिहान साढे १ बजेतिर उत्तरी सिक्किमको ल्योनाक हिमताल विस्फोटपछि टिष्टामा आएको बाढीका कारण ५५ जनाको मृत्यु हुनुका साथै भारतीय सैनिकसहित १ सय ४१ जना बेपत्ता छन् । बाढीका कारण अर्बौं रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।