नरबहादुर सिंह ##
रुसलगायत अन्य धेरै देशको वामपन्थी अखडाबाट झस्किएको साम्राज्यवाद सोभियत सङ्घको पतनसँगै अस्थायी रूपमा विश्वलाई एकतन्त्रीय धु्रवमा बाँधी विश्वलाई गुलाम बनाउने सपना साकार पार्न तल्लीन रह्यो । त्यसै क्रममा उसले विश्वका धेरै देशमा विभिन्न बहानामा प्रवेश गरेको छ । त्यसका लागि उसले सबैभन्दा पहिला विश्वका कम्युनिस्ट पार्टी र निमुखा जनतामाथि इस्लामिक कट्टरपन्थी उत्पादन गर्ने काम तीव्र रूपमा अगाडि बढाएको छ ।
यता, वामपन्थीसँगको सङ्घर्षमा तिनै इस्लामिक कट्टरपन्थीसित सङ्घर्ष वा मुकाबिला गर्न कठिन भयो । जब स्लामिक कट्टरपन्थीहरू अमेरिकी साम्राज्यवादका विरुद्धमा उत्रिए, त्यसपछि अमेरिकी साम्राज्यवाद विरुद्धको असन्तोष झन् चुलिएर गयो । त्यसपछि अमेरिकी साम्राज्यवाद झन् आक्रोशित भयो । त्यस क्रममा कथित आतङ्कवाद नियन्त्रण गर्ने नाउँमा रानीबिनाको मौरी चिढिए झँै विश्वका त्योभन्दा साना साम्राज्यवादी देश र विकासोन्मुख देशमा आफ्ना देशमा सेना पठाउन सफल भयो । फेरि पनि अमेरिकी साम्राज्यवाद कथित आतङ्कवाद नियन्त्रण गर्ने नाउँमा सर्वसाधारण जनताको हत्या गर्दै अघि बढेको छ । त्यतिले मात्र रक्षा हुने नदेखेपछि अमेरिकी साम्राज्यवादले पुँजीवाद पनि सँगसँगै अघि बढाएको छ ।
आज विश्वका जनताले चिनेका छन्, वास्तविक आतङ्कवादको जननी स्वयम् अमेरिकी साम्राज्यवाद हो । साम्राज्यवाद पुँजीवाद र युद्धबिना बाँच्न सक्दैन । पुँजी र नाफाबाट मात्रै सन्तुष्टि साम्राज्यवादलाई मिल्न सक्दैन । नाफा कमाउने उद्देश्यले आफ्नै घरेलु बजारबाट समेत साम्राज्यवाद निस्केर विश्वका बजार कब्जा गरी ती देशका साना र मझौला बजार तथा व्यापारीलाई विस्थापित गर्दै सिङ्गो देशमै वा सिङ्गो विश्व कब्जा गर्ने उद्देश्यका साथ अमेरिका अघि बढेको छ । स्वयम् साम्राज्यवादको उद्योगधन्दाबाट निस्किएका तयारी मालवस्तु बिकाउन उसलाई चुनौती थपिएको छ ।
उता, विश्वका विभिन्न देशमा राष्ट्रिय मुक्तिको अन्दोलन चर्को रूपले अगाडि बढ्दै जाँदा सो आन्दोलन साम्राज्यवादको नियन्त्रणभन्दा बाहिर रहेर उसलाई ठुलो चुनौती थपिएको छ । यसरी दिनानुदिन विश्व सर्वहारा वर्ग सचेत बन्दै गइरहेको उदाहरणले साम्राज्यवादको आयु छोटिने निश्चित छ ।
सोभियत सङ्घको विघटनबाट साम्राज्यवाद र पुँजीवाद आत्मसन्तुष्टि लिनबाट फेल भएको छ । त्यसैले विश्वभरि विशालु हतियार निर्यात, पुँजी निर्यात, विभिन्न धर्मको नाममा सङ्गठन विस्तार गरेर पनि अमेरिकी साम्राज्यवाद र युरोपियन युनियनको सुरक्षा छाता बलियो नभएको महसुस उनीहरूलाई भइरहेको छ । त्यसैले उसले सिरिया, अफगानिस्तान, कङ्गो, लेबनान, भेनेजुयला, इराकलगायतका विश्वका धेरै देशमा आफ्नो सैनिक क्याप स्थापना गर्ने काममा समेत पछि परेको छैन अमेरिकी साम्राज्यवाद ।
बुझ्न गाह्रो पर्दैन कि विश्वका प्राकृतिक स्रोतसाधनमाथि पनि साम्राज्यवादको आक्रमण जारी नै छ । हत्या, रक्तपात र युद्ध अपराधमा सन्तुष्टि खोज्दै जाँदा स्वयम् उसैका निमित्त दिनानुदिन घातक हुँदै गइरहेको छ । अर्कोतिर, कम्युनिस्ट वा वामपन्थी आन्दोलनबाट अछुतो रहन खोज्ने साम्राज्यवादको अकल्पनीय अवसरवादबाट पृथक रहन सकिरहेको छैन ।
नवउदारवादी नीतिमार्फत् मुक्त व्यापार र खुल्ला अर्थनीति अपनाएर बहुराष्ट्रिय भर्याङमै चिप्लिएको साम्राज्यवाद पुँजीको होडबाजी चलाएर विश्वबजार कब्जा गर्ने रणनीतिबाट विस्तारै विस्तारै हार स्वीकार गर्न वाध्य भएको छ किनभने चीन, रुसलगायत देशले दिएको आर्थिक चुनौतीको सामना गर्न नसकी शीतयुद्धमा फसेकोफस्यै छ । पुँजीवादबाट साम्राज्यवादग्रस्त निद्राका साथ सन्तुष्टि लिन सकिरहेको छैन उसले र यस सन्तुष्टि लिने एक मात्र बाटो हो साम्राज्यवाद ।
आज साम्राज्यवादलाई साम्यवाद निल्नु न ओकल्नु भएको छ किनभने विश्वभरि शोषित, पीडित जनता उसको विरुद्धमा उभिएका छन् भने उसैका सहयोग मित्रदेशहरू युरोपका साम्राज्यवादी देश, भारतका साम्राज्यवादी देश, अमेरिकी साम्राज्यवादको एकाधिकारको नाफासँग सहमत छैनन् । यी देशहरू नाफासँग जीवनमरणको साथी बनाइरहेका छन् भने उनीहरूकै देशमा उत्पन्न हुने नाफाले सन्तुष्टि दिन सकिरहेको छैन । यसबाट यो बुझ्न सकिन्छ कि नाफाको कुनै मापदण्ड हुँदैन, न त त्यो स्थायी नै हुन्छ । पुँजीबाट कुनै देश साम्राज्यवादी होडबाजीमा नजाला भन्ने प्रमाण कसैसँग छैन भने चरम पुँजीवाद हावी भएको देशमा सर्वहारा वर्ग झन् गरिबी, भोकमरीको चपेटामा फसेको इतिहास विश्वका साम्राज्यवादी देशबाट छर्लङ्ग भइसकेको छ । विश्वका त्यो प्रेमी जनताले साम्राज्यवाद स्वीकार नगर्ने निश्चित भएपछि उसको यस खालको हुनुका साथै होस नभएको बहुला कुकर झैँ बहुलाएको छ । त्यसकारण आफ्नो सास जानुभन्दा पहिला ऊ छिमेकी देशलाई डस्न खोज्दै छ ।