मस्को । रुसी सरकारले दुई जना अमेरिकी कूटनीतिज्ञलाई निष्काशन गरेको छ ।
मस्कोस्थित अमेरिकी राजदूतावासमा काम गरेका एक जना रुसी नागरिकसँग सम्पर्क कायम गरेको अभियोगमा उनीहरूलाई निष्काशन गरिएको हो ।
अमेरिकी प्रसारण संस्था केबल न्युज नेटवर्क (सिएनएन) का अनुसार अमेरिकी दूतावासका पूर्वकर्मचारी रुसी नागरिकलाई सूचक भएको आरोप लगाएर कूटनीतिज्ञद्वय जेफ्री सिलिन र डेभिड बर्नस्टेनलाई एक साताभित्र रुस छाड्न आदेश दिइएको छ ।
अमेरिकाले रुसको उक्त निर्णयको निन्दा गर्दै मस्कोलाई रचनात्मक कूटनीतिक संलग्नतामा द्वन्द्व निम्त्याएको टिप्पणी गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याट मिलरलले रुसी निर्णयका निम्ति मस्कोलाई उचित जवाफ दिने बताएका छन् ।
वासिङ्टनमा बिहीबार भएको पत्रकार सम्मेलनमा प्रवक्ता मिलरले अमेरिकी कूटनीतिक कर्मचारीलाई अकारण निष्काशनको आदेश दिइएको तथा दूतावासका कर्मचारीलाई मात्र नभई आफ्नै नागरिकलाई पनि मस्कोले धम्क्याइरहेको बताएका छन् ।
रुसी सञ्चारमाध्यममा सार्वजनिक भएका समाचार सामग्रीको मिडिया क्लिप उपलब्ध गराउने रोबर्ट सोनोभलाई पक्राउ गरिएको जानकारी उनले दिएका छन् । रुसले देश छाडेर जान आदेश दिएका अमेरिकी कूटनीतिज्ञले रुस नछाडेको पनि उनले बताए ।
वासिङटन र मस्कोबिचको सम्बन्ध तनावपूर्ण बनेका बेला रुसले अमेरिकी कूटनीतिलाई देश छाड्न भनेको हो । निष्काशन गरिएका कूटनीतिज्ञले रुसको आन्तरिक मामिलामा हस्तक्षेप हुने गरी गैरकानुनी एवम् गैरकूटनीतिक गतिविधि सञ्चालन गरेका रुसी विदेश मन्त्रालयले एक विज्ञप्ति निकालेर बताएको छ ।
सको राष्ट्रिय सुरक्षामा खलल पुग्ने गतिविधिमा जेफ्री सिलिन र डेभिड बर्नस्टेन लागेका तथा उनीहरूले रोबर्टसँग गोप्य सहयोग मागेर त्यसको बदलामा निजलाई आर्थिक सहयोगको प्रस्ताव गरेको जनाएको छ ।
रुसी सुरक्षा अधिकारीले पक्राउ गरेका राबर्टले भ्लादिभोस्तकस्थित अमेरिकी कूटनीतिक नियोगमा २५ वर्ष काम गरेका थिए । निजसँग अमेरिकी अधिकारीले रुसका गोप्य सूचना उपलव्ध गराउन अनुरोध गरेको मस्कोको आरोप छ । (रासस/एएनआई)