ढुण्डीराज शर्मा ##
हाम्रो देशमा आर्थिक सङ्कटको एउटा महत्त्वपूर्ण जिम्मेवार भ्रष्टाचार हो । राज्य, कर्मचारी र विचौलिया—यी तिनै तत्त्वहरूको मिलेमतोबाट भ्रष्टाचारले चरम रूप लिएको हो । विचौलियाको अन्तर्राष्ट्रिय ठगसँग पनि सम्बन्ध जोडिएको हुन सक्छ ।
चुनावको बेला आइसी र डलरको खेती गरेर आफ्ना दलाललाई उठाउँछन्† जिताउन्छन्† आफै पनि उठ्छन् र पैसाको बलमा चुनाव जित्छन् । देशको बागडोर सम्हाल्ने, नियम कानुन बनाउने थलो संसद् दलाल विचैलियाको अखाडा बन्न पुग्दछ र आपसमा मिलेमतो कायम गरेर ठुला ठुला भ्रष्टाचार, आपराधिक क्रियाकलाप गर्दछन् अर्थात् “आफै बोक्सी आफै झाक्री”, “आफ्नै हात जगन्नाथ”, आफ्नो गोजी भर्ने, देश डुबाउन, देशमा बसेर विदेशीको हितका लागि मात्र काम गर्ने ।
राजनीतिको भ्रष्टीकरण, भ्रष्टाचारको अपराधीकरण, अपराधको राजनीतिकरण—देशको मुख्य समस्या यिनै हुन् । उदाहरणको रूपमा मोहम्मद आफताब आलम, जसले अनेकोँ अपराध गरे, २५ जना मान्छेलाई एउटै इँटाभट्टाको आगोमा हालेर खरानी बनाए तर उनी राजनैतिक संरक्षण पाएर पटक पटक सांसद बने; कैयौँपटक मन्त्री बने । वाइडबडी काण्ड, सुडान घोटाला काण्ड, अहिले आएर नक्कली भुटानी शरणार्थी प्रकरण यसको ज्वलन्त उदाहरण हो । सेटिङबाट हुने यस्ता कैयौँ दृष्यअदृष्य घोटाला/काण्डहरूले देश अक्रान्त छ; थला परेको छ ।
भ्रष्टाचार यति मौलाएको छ कि भ्रष्टाचार गर्नु धर्म हो† कर्तव्य हो भन्ने खालको भाष्य खडा भएको छ । सिंहदरबारदेखि गाउँपालिकासम्मका सबै अङ्ग, न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका सबै भ्रष्टाचारको जालोमा मुछिएका छन् । न्याय बिकेको छ । पुलिस प्रशासन, कर्मचारी बिकेका छन् । राज्य पूरै सेटिङमा चलेको छ । महङ्गीले आकाश छोएको छ । भ्रष्टाचारले सीमा नाघेको छ । पेसाव्यवसाय प्राय: बन्द अवस्थामा छन् । देश झन्डै असफल राष्ट्रमा परिणत भइसकेको अवस्था छ ।
हाम्रो देश कृषिप्रधान हो । झन्डै ६५ प्रतिशत जनता कृषिमा आधारित छन् । निर्वाहमुखी खेती गर्ने ६० प्रतिशत जनताको उत्पादनले वर्षभरि खान नपुगी आयात गरी खानुपर्ने स्थिति छ । नेपालमा खेतियोग्य जमिन झन्डै ४१ लाख हेक्टर छ । १० लाख हेक्टर (२५ प्रतिशत) जमिन बाझै रहेको छ । कुल ग्रार्हस्थ उत्पादनको ३३ प्रतिशत जिडिपी कृषिबाट मात्र प्राप्त हुन्छ ।
नेपालमा करिब ५० प्रतिशत किसान निरपेक्ष गरिबीको रेखामुनि छन । नेपालको कुल घरपरिवार ५४,२३,२९७ देखिन्छ भने त्यसमध्य ७४ प्रतिशत (४० १३,२४०) किसान परिवार रहेको छ । वास्तविकता के छ भने ५३ प्रतिशत किसान परिवारले कुल कृषियोग्य जमिनको १८ प्रतिशत भूमि उपयोग गर्छन् जबकि चार प्रतिशत ठुला किसानले २२ प्रतिशत जमिन ओगटेको देखिन्छ । भूउपयोगको सही नीति नहुँदा देश झन् परनिर्भरतातर्फ धकेलिएको छ । परनिर्भरताको तस्बिर यस्तो देखिन्छ ।
गत वर्षको आयात झन्डै २१ खर्ब, निर्यात झन्डै दुई खर्ब, व्यापारघाटा १९ खर्ब रहेको छ । कृषिक्ष्ोत्रमा मात्रै झन्डै ३ खर्ब छ । त्यस्तै, धानचामल ५० अर्ब, हरियो तरकारी ३९ अर्ब, तेलहन ८३ अर्ब, फलफूल २१ अर्ब, मकै १६ अर्ब, कागती चार अर्ब, आलु र बदाम नौ अर्ब आयात गरेको पाइन्छ । अन्य वस्तुहरूको समेत आयात जोड्दा भारतसँग मात्र परनिर्भरता व्यापार ५८ प्रतिशत देखिन्छ ।
देशको मुद्रा सञ्चिति ५० खर्ब रहेकोमा झन्डै ३० खर्ब १०० जना धनाड्य, त्यसमा पनि खासमा २० जना (विनोद चौधरी, पशुपति मुरारका) जस्ता घरानिया विचौलियाले गबिव नेपालीको निक्षेपमाथि रकम कब्जा गरेका छन् । श्रीलङ्का, अफ्रिकी मुलुकलगायत अन्य मुलुकमा लगानी बढाएर देशलाई टाट पल्टाउने खेलमा छन् । देशको पैसा विदेशमा ओसारेर उतै पलायन हुने सम्भावना देखिएको हँदा भोलिका दिनमा अर्थतन्त्र झनै चौपट हुने देखिन्छ ।
अर्कोतिर, देशको आम्दामी (राजस्व) ले चालु खर्च पनि धान्न सक्ने स्थिति छैन । राजस्व नौ खर्ब उठ्छ । नेपालमा १० लाख मान्छेले तलब खान्छन् । साढे १० खर्ब खर्च हुन्छ । साधारण चालु खर्च धान्न पनि १ खर्ब ५० अर्ब अपुग छ भने अब देश विकासको कुरा कसरी सम्भव होला ? आन्तरिक र बाह्य ऋण र अनुदानको भरमा देश कहिलेसम्म चल्न सक्ला ? अझ विकासे ढ्वाङ फुकेर ठुला भनाउँदा पार्टीका ठेकेदारहरू गरिब जनतालाई भ्रममा पारेर भोटको राजनीति गर्छन् । अनेक प्रलोभन देखाउँछन् । भ्रष्टाचार गरेर थुपारेका पैसा फिटेर चुनाव जित्छन् । “न रहे बाँस, न बजे बाँसुरी” न देशका अपार प्राकृतिक स्रोत रहे, न देशको विकास नै । नेपाली टोपी लगाएर विदेशीहरूका लागि मात्र काम गर्ने यी दलाल तत्त्वहरू विदेशीका खसीबोका चराएर जीविका चलाएका छन् ।
१५ वर्षदेखि ५९ वर्षसम्मको उर्जाशील युवा उमेर समूहको जनसङ्ख्या नेपालमा उल्लेखनीय सङ्ख्यामा हुनु खुसीको कुरा हो । यो संयोग विश्वमा कमै देशमा प्राप्त हुछ । त्यो नेपालमा प्राप्त छ । त्यसलाई देशको विकास योजनामा प्रयोग गर्न सके देशको स्थितिमा कायापलट हुने सम्भावना उत्तिकै देखिन्छ तर पचासौँ लाख युवा जनशक्ति देशमा रोजगारी नपाएर विदेशका गल्लीमा भौतारिनुपरेको छ । तिनै युवाहरूले पठाएको रेमिट्यान्सले बाँच्नुपरेको छ ।
के हाम्रो देशमा स्रोतसाधन नभएर युवा जनशक्ति पलायन हुनुपरेको हो त ? विश्वकै सर्वोच्च शिखर सगरमाथा नेपालमा छ । वीरभूमि, शान्तिभूमि लुम्बिनी नेपालमा छ । विश्वप्रसिद्ध शुद्ध पानी नेपालमा पाइन्छ । युरेनियम, जसको मूल्य किलोको २८ करोडभन्दा बढी रुपियाँ पर्छ, मुस्ताङमा रहेको यो देश युरेनियम संसारकै उत्कृष्ट मानिन्छ । के छैन नेपालमा ? वनजङ्गल, जडिबुटीमा धनी नेपाल छ । हिमालय शृङ्खलाहरू संसारमै बढी भएको देश नेपाल हो । विविध भाषा, संस्कृतिमा धनी नेपाल सुन्दर शान्त देश नेपाल पनि हो ।
झन्डै ८३,००० मेगावाट जलविद्युत् क्षमता भएको देश नेपाल हो । चुनखानी, फलामखानी आदि धेरै खानीहरू गर्भमा बोकेर बसेको देश नेपाल हो । प्रकृतिले नेपाललाई सुनको थाली उपहार दिएको छ । लाचार नेताहरू त्यही सुनको थालीमा भिक माग्दै छन् । हामी भने भाग्यलाई दोष दिएर बसिरहेका हुन्छौँ ।
आफ्नै देशमा गरे के हुन्न ? एउटा उदाहरण पेस गर्न चाहान्छु ।
इजरायल नेपालभन्दा सात गुना सानो छ । त्यहाँको ६० प्रतिशत जमिन मरुभूमि छ । पानी वर्षमा एकदुई पटक पनि पर्दैन । राजनीतिमा पनि उतारचढाव भइरहने देश हो । यहाँको कुल जनसङ्ख्याको १.७ प्रतिशत अर्थात् ७२ हजार जनता कृषिमा आबद्ध छन् । त्यो मुलुकले पर्याप्त फलफूल, तरकारी उत्पादन गरी २१ भन्दा बढी मुलुकमा निर्यात गरेर बैदेसिक मुद्रा आर्जन गरेर देशलाई समृद्ध बनाउन सफल भएको छ तर हाम्रो देशको जनसङ्ख्ख्याको ६५ प्रतिशत (१ करोड ८० लाख) जनता कृषिपेसा अपनाएर झन्डै ३२ लाख हेक्टरमा खेती गर्दा पनि खर्बौं रुपियाँको खाद्यपदार्थ आयात गरेर बाँच्नुपर्ने स्थिति छ ।
अब यसलाई बदल्नैपर्छ । देश बदल्न, आर्थिक समृद्धि ल्याउन, भ्रष्टाचार निर्मूल गरी देशमा सुशासन कायम गर्न, परनिर्भरतालाई तोडेर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नका लागि सिन्डिकेट कायम गरेर राज्यका सबै अङ्गहरू क्षत्विक्षत् बनाई अस्थिरतामा खेलिरहेका देशीविदेशी प्रतिकृयावादी शक्तिका विरुद्ध निर्मम सङ्घर्षको आँधीबेहरी ल्याउनु आजको प्रमुख आवश्यकता हो ।

