टोकियो । चीन र कोरियाको चर्को विवादका बाबजुद जापानले फुकुसिमा आणविक ऊर्जा केन्द्रबाट प्रशोधित रेडियोधर्मी पानी प्रसान्त महासागरमा प्रवाह गरेको छ ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को स्वीकृतिमा पानी प्रवाह गरिएको हो ।
लगभग पाँच सय ४० ओटा ओलम्पिक पौडीपोखरीमा हुने बराबरको प्रशोधित पानी प्रसान्त महासागरमा अगस्त २४, २०२३ देखि प्रवाह गरिएको जनाउँदै जापानले त्यो सुरक्षित रहेको दाबी गरेको छ ।
सन् २०११ को सुनामीपछि बिग्रिएका आणविक रिएक्टरलाई चिसो पार्न प्रयोग गरिएको उक्त परिमाणको सबै पानी समुद्रमा विसर्जन गर्न १७ दिन लाग्ने जापानी वैज्ञानिकले बताएका छन् ।
आइएइएएका सुपरीवेक्षकहरू आणविक केन्द्रको जलप्रवाहस्थलमा बस्ने र उनीहरूले केन्द्रबाट महासागरमा प्रवाह भएको पानी र माछाको नमूना सङ्कलन गर्ने छन् ।
जापानले ट्रिटियमबाहेक सबै रेडियोएक्टिभ तत्त्वलाई प्रशोधन गरिएको बताएको छ । ती तत्त्वलाई पानीबाट हटाउन सकिँदैन । हाइड्रोजन आइसोटोप पनि प्रवाह गरिएको छ ।
आइएइएले आणविक केन्द्रको दूषित पानी प्रशोधन गरी सुरक्षित रूपमा महासागरमा प्रवाह गर्ने जापानको योजनाले स्वास्थ्य र वातावरणमा प्रभाव नगण्य हुने भन्दै गत महिना जापानी प्रस्तावलाई अनुमोदन गरेको भए पनि त्यसको निरन्तर विरोध भइरहेको छ ।
चीन र दक्षिण कोरियाले जापानको उक्त कदमलाई अत्यन्त स्वार्थी भन्दै त्यसको कटु आलोचना गरेका छन् । उनीहरूले महासागर कुनै पनि देशको फोहर विसर्जन गर्ने स्थल नभएको बताएका छन् ।
‘समुद्र सम्पूर्ण मानवजातिको साझा सम्पत्ति हो र फुकुसिमाको आणविक फोहोर पानीलाई जबरजस्ती समुद्रमा मिसाउनु अन्तर्राष्ट्रिय सार्वजनिक हितको बेवास्ता गर्ने अत्यन्त स्वार्थी र गैरजिम्मेवारपूर्ण कार्य हो’ चीनको विदेश मन्त्रालयले एक विज्ञप्ति निकालेर भनेको छ ।
यसअघि चीन, मकाउ र हङकङले फुकुसिमा र टोकियो वरपरबाट जापानी समुद्री उपज आयातमा प्रतिबन्ध लगाएर विकिरण अनुगमनलाई तीव्र पारेका थिए । हङकङका प्रमुख कार्यकारी जोन लीले जलप्रवाहलाई गैरजिम्मेवार कदम भनेका छन् ।
वैज्ञानिकहरूले पानी प्रवाहबाट कुनै समस्या नहुने बताए तापनि सार्वजनिक चिन्ताका बिच दक्षिण कोरियाले पनि फुकुसिमाबाट माछा र खाद्यान्नको आयातमा प्रतिबन्ध लगाएको छ । दक्षिण कोरियाको मुख्य विपक्षी पार्टीले उक्त कदम विरुद्ध मैनबत्ती बालेर राजधानी सोलमा विरोध प्रदर्शन गरेको छ ।
सोलस्थित जापानी दूतावासमा पनि विरोध प्रदर्शन भएको छ । प्रदर्शनकारी युवाको एउटा समूह दूतावास रहेको आठौँ तलामा पुगेको थियो । त्यहाँ प्रवेश गरेका १४ जना प्रदर्शनकारीलाई हिरासतमा लिइएको छ ।
सन् १९८६ मा भएको चेर्नोबिल दुर्घटनापछि फुकिसिमा आणविक केन्द्र दुर्घटना विश्वकै दोस्रो भयानक विपत्ति हो । सुनामीसँगै भएको नौ रिक्टर स्केलको भूकम्पमा परी उत्तरपूर्वी जापानका २० हजारभन्दा बढीको मृत्यु भएको थियो । (रासस/एएफपी)