काठमाडौं । बारामा बच्चा चोरेर भारत लैजाँदै गर्दा एक व्यक्ति पक्राउ परेका छन् । सशस्त्र प्रहरीले चोरिएको दुईवटा बच्चासहित बाराको देवताल गाउँपालिका ३ अमुवाबाट भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको पूर्वीचम्पारण मुर्तिया ग्रामपन्चायत ४ आधारपुर घर भएका २२ वर्षीय ताबरेज आलम रहेका छन् ।
बच्चाहरूलाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा बीओपी दक्षिण झिट्कैयाले आलमलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
सोही गाँउपालिका ३ नन्की अमुवा बस्ने शिवपुजन महत्तोको ९ महिनाकी छोरी लक्ष्मी महत्तो र प्रेमचन्द महत्तोको २ वर्षीय छोरा सत्यमकुमार महत्तोलाई आलमले चोरी गरी बोरामा हालेर भारततर्फ लैजाँदै थिए।
सीमावर्ती ईलाकामा गस्तीमा खटिएको सशस्त्र प्रहरीले शंका लागि आलमले बोकेको बोरा जाँच गर्दा दुईवटा बच्चा फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो।
उद्धार गरिएका बच्चाहरुलाई अभिभावकको जिम्मा लगाइएको छ भने नियन्त्रणमा लिइएका आलमलाई आवश्यक कारबाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ।