काठमाडौं । बाराका पत्रकार वीरेन्द्र साह हत्याका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ । पत्रकार साहको हत्यापछि फरार कुन्दन फौजदारलाई प्रहरीले शनिबार राति उनकै घरबाट पक्राउ गरेको हो।
एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार साहलाई २०६४ असोज १८ गते बाराको पिपरा बजारबाट अपहरण गरी टाँगिया बस्ती जंगलमा लगेर हत्या गरिएको थियो । शान्ति सम्झौतामा आइसकेको तत्कालीन नेकपा (माओवादी) का कार्यकर्ताले उनको हत्या गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार फौजदारलाई बाराको बारागढी नगरपालिका वडा नम्बर ६ (साविक गडहल गाविस ५) स्थित उनकै घरबाट पक्राउ गरिएको हो । पक्राउ गर्ने क्रममा अभियुक्त भाग्न खोजेका र स्थानीयले पनि अवरोध गर्न थालेपछि प्रहरीले चार राउण्ड हवाई फायर गरेको थियो ।
पत्रकार साह हत्यामा संलग्न ५ जनामध्ये फौजदारसमेत गरेर ३ जना पक्राउ परे भने २ अझै फरार छन्। अभियुक्त मनेजर गिरी ११ वर्ष जेल सजाय भोगेर कैदमुक्त भइसकेका छन् भने रामएकवाल सहनी अझै जेलमा छन् । अब अझै दुई अभियुक्त पक्राउ पर्न बाँकी छन्।

