काठमाडौँ । नेपाली चलचित्र “गाउँ आएको बाटो” टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको अठचालिसौँ संस्करणमा छनोट भएको छ ।
निर्माण टोलीले २०८० साउन २५ गते बिहीबार प्रेसविज्ञप्ति जारी गर्दै छनोटबारे जानकारी दिएको हो ।
टोरन्टोको यो संस्करण आगामी सेप्टेम्बर ७ देखि १७ तारिखसम्म चल्ने छ ।
नवीन सुब्बाले निर्देशन गर्नुभएको उक्त चलचित्रमा राई जातिको सामाजिक पृष्ठभूमिमा तयार भएको छ भने गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई नियाल्ने प्रयास गरिएको छ ।
निर्देशक सुब्बाले विश्वको प्रतिष्ठित चलचित्र महोत्सवमा नेपाली चलचित्र छनोट हुनुले यसले सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘यसले हाम्रा चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्न सघाउने विश्वास छ ।’
निर्देशक सुब्बाले निर्देशनको सुरुआत गर्नुभएको पहिलो चलचित्र ‘खाङ्ग्री’ नै पहिलोपटक अन्तर्राष्ट्रिय बजार पुगेको थियो । यसअघि उहाँद्वारा निर्देशित ‘नुमाफुङ’ फुकुओका, गोटेवर्ग, सन्फ्रान्सिस्कोजलगायत थुप्रै अन्तर्राष्ट्रिय महोत्सवमा छनोट भएको थियो ।
चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायत कलाकारले अभिनय गर्नुभएको छ ।
महेश राई र निर्देशक सुब्बाले लेख्नुभएको चलचित्रमा जोस हेरमले छायाँङ्कन, क्वान पुन लिउङले सम्पादन र हेडी लीले सङगीत भर्नुभएको छ । (रासस)

