काठमाडौँ । नेकपा (मसाल) का महामन्त्रीसमेत रहनुभएका वरिष्ठ कम्युनिस्ट नेता मोहनविक्रम सिंहको बहुप्रतिक्षित उपन्यास ‘कामरेड जलजला’ र आत्मकथा अर्को वर्ष प्रकाशित हुने भएको छ ।
महामन्त्री सिंहले सामाजिक सञ्जाल (फेसबुक) मा २०८० साउन २२ गते सोमबार स्टाटस राख्दै सो जानकारी दिनुभएको हो ।
उहाँले आत्मकथा घोस्टलेखक डा. बालचन्द्र मिश्रले तयार पारेको सूचना दिँदै त्यसलाई दोहोर्याएर पढ्ने समय नमिलेकाले सो कृति प्रकाशन हुन नसकेको बताउनुभएको छ ।
त्यसैगरी उहाँले ‘कामरेड जलजला’ पनि यस वर्ष प्रकाशन हुन नसक्ने बताउनुभयो ।
मसालद्वारा २०८१ वैशाखसम्म चल्ने ऐतिहासिक तीन अभियानमा लाग्नुपर्ने भएकाले समय दिन नसकिएको उहाँले स्टाटसमा बताउनुभएको छ ।
वि.सं. २०८१ सालमा आफू ९० वर्षको पुग्ने बताउँदै सोही वर्षमा आफ्ना दुवै कृति प्रकाशन हुने अपेक्षा उहाँले गर्नुभएको छ ।
महामन्त्री सिंहको स्टाटस जस्ताको जस्तै :
“मैले पहिले असारसम्ममा मेरो आत्मकथा प्रकाशित हुने कुरा लेखेको थिएँ तर त्यो सम्भावना नभएको कुरा मैले स्पष्ट गर्न चाहान्छु ।
मेरो आत्मकथा मैले आफै लेखेको नभएर एक जना ‘घोस्ट’ लेखक डा. बालचन्द्र मिश्रले तयार पार्नुभएको थियो । उहाँले मसित सम्बन्धित विभिन्न पुस्तक, लेखहरू पढेर तथा मसित एक दर्जनभन्दा बढी अन्तवार्ता लिएर त्यो आत्मकथा तयार पार्नुभएको हो । त्यस सिलसिलामा उहाँ हाम्रो गाउँ ओखरकोटमा पनि जानुभएको थियो र त्यहाँका विभिन्न व्यक्तिसित मेराबारे अन्तवार्ता लिनुभएको थियो । त्यो सम्पूर्ण कामको लागि उहाँले दुई वर्षजति कडा मिहिनेत गर्नुभएको थियो । उहाँले गत वैशाखमा नै त्यो कार्य पूरा गरेर मलाई त्यसको प्रतिलिपि दिनुभएको थियो । त्यसपछि उहाँले लेखेको त्यो आत्मकथालाई एक पल्ट पूरै दोहोर्याएर पढ्ने जिम्मा मेरो थियो । म त्यो काममा लागेको पनि थिएँ । त्यो आत्मकथामा लाग्दा मेरो उपन्यासको काम पछाडि पर्दथ्यो । त्यसकारण त्यो आत्मकथालाई दोहोर्याएर पढ्ने कामलाई स्थगित गरेर म मेरो उपन्यास ‘कामरेड जलजला’ पूरा गर्ने कामतिर लागेँ तर त्यो काममा पनि पूरै लाग्नु मेरा लागि सम्भव भएन ।
पार्टीको एक बर्से ‘ऐतिहासिक तीन अभियान’ का कार्यक्रम पूरा गर्न मैले धेरै समय दिनुपर्यो । त्यस सिलसिलामा पार्टीका कैयौँ कार्यक्रम पूरा गर्न म नेपालका विभिन्न जिल्ला र भारतका पनि कैयौँ स्थानमा जानुपर्यो । पार्टीको नवौँ महाधिवेशनका लागि विभिन्न दस्तावेज तयार पार्ने कार्यमा पनि म व्यस्त हुनुपरेको छ । त्यही प्रकारले लेनिनको शताब्दी स्मृतिदिवस र पार्टीस्थापनाको हीरक जयन्तीसित सम्बन्धित कैयौँ कार्यक्रममा पनि मैले समय दिनुपरेको छ । यी सबै व्यस्तताका कारणले अब यो सालमा आत्मकथा वा उपन्यास पूरा हुने सम्भावना कमै देखिन्छ ।
ऐतिहासिक तीन अभियानको कार्यक्रम अर्काे सालको वैशाखमा नै समाप्त हुने छ । सम्भवत: त्यसपछि नै आत्मकथा र उपन्यास दुबै प्रकाशित हुन सक्ने छन् तर त्यो बेलासम्म घटनाक्रमको कुन रूपमा विकास हुन्छ ? त्यसले पनि आत्मकथा वा उपन्यास प्रकाशनको मितिलाई केही प्रभावित गर्न सक्ने सम्भावनालाई पनि पूरै अस्वीकार गर्न सकिन्न तैपनि मेरो मोटामोटी सोचाइ के छ भने अर्काे सालको वैशाखदेखि म ९० वर्षमा पनि लाग्ने छु । त्यही वर्षमा नै आत्मकथा र उपन्यास दुबै प्रकाशित हुने छ भन्ने मेरो मोटामाटी सोचाइ छ ।
हाम्रा धेरै शुभेच्क्षुकहरूले उत्सुकतापूर्वक मेरो उपन्यासको प्रतिक्षा गरिरहनु भएको छ । उहाँको आशालाई छिटै पूरा गर्न नसकेकोमा मलाई धेरै दु:ख छ तैपनि पार्टीका विभिन्न दायित्व र घटनाक्रमका बाबजुद ती दुबै कृतिलाई अर्काे सालमा प्रकाशित गर्ने मेरो कोसिस हुने छ ।
मैले माथि भनिसकेको छु, आत्मकथा पनि लेखेर तयार भएको छ । त्यही प्रकारले उपन्यास पनि लेखेर पूरै तयार भएको छ । त्यसलाई टाइप गर्ने र पु्रफ पढने काम पनि सक्किसकेको छ तैपनि त्यसलाई मैले एक पल्ट दोहोर्याएर हेर्नुपर्ने छ । उपन्यास १३/१४ सय पृष्ठजतिको हुनाले त्यसलाई दोहोर्याएर पढ्न तथा अन्तिम रूपले मिलाउन पनि केही महिना लाग्ने छ ।
आशा छ, अर्काे सालमा अर्थात् २०८१ सालमा उक्त दुबै कृति प्रकाशित भइसक्ने छन् ।”

