कावासोती । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दुमा बँदेलले मकै खाइदिँदा कृषक चिन्तित भएका छन् ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मध्यविन्दु नगरपालिका–३ ब्रह्मस्थानमा लगाइएको मकैबाली बँदेलले खाएको हो ।
पछिल्लो एक सातादेखि राति बँदेल बारीमा पसेर मकैबालीमा क्षति पुर्याउन थालेको स्थानीय खिमादेवी उपाध्यायले बताउनुभयो ।
‘सुरु सुरुमा एक दुईओटा मकै खाने गरेको थियो‘ उहाँले भन्नुभयो– ‘तर हिजो राति बारीका सबै मकै खत्तमै बनाएछ ।’ उपाध्यायले सात कठ्ठा बारीमा लगाउनुभएको मकै बँदेलले नष्ट गरिदिएको बताउनुभयो ।
‘केही मकै भर्खरै हारी पस्दै गरेका थिए, कोही पोलेर खाने बेला भएका थिए’ उहाँले भन्नुभयो– ‘यो समयमा बर्सेनि बँदेल आएर हामीले लगाएको मकै खाने गरेको छ ।’
निकुञ्जबाट वन्यजन्तु आएर कृषकको अन्नबाली खाइदिँदा पनि यसको नियन्त्रणमा निकुञ्ज तथा मध्यवर्तीले खासै चासो नदेखाएको उपाध्यायको भनाइ छ ।
‘हिजो राति सुत्ने बेलासम्म बारीमा सबै मकै राम्रै थिए’ उहाँले भन्नुभयो– ‘आज बिहान उठेर बारीमा जाँदा सबै मकै ढलेका, मकैका घोगा कोपरेको थिए, बारीभरि बँदेलको पाइला थियो ।’
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवम् सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले मध्यवर्ती क्षेत्रमा जङ्गली जनावरबाट अन्नबालीको क्षति पुगेको अवस्थामा निकुञ्जले राहत रकम उपलब्ध गराउने गरेको जानकारी दिनुभयो ।
‘बँदेल, हात्ती, गैँडा, बाघसहित विभिन्न १६ प्रजातिका वन्यजन्तुबाट धनजनको क्षति भएमा अवस्था हेरेर राहत रकम प्रदान गर्ने गरी निर्देशिका बनेको छ’ उहाँले भन्नुभयो– ‘राहत रकम कृषकले माग दाबी गरेको एक महिनाभित्र उनीहरूको बैङ्क खातामा दिने गरी निर्देशिकाले व्यवस्था गरेको छ ।”
निर्देशिकामा उल्लेख भएअनुसार बँदेलबाट मानवीय क्षति (मृत्यु, घाइते) तथा निजी जमिनमा लगाएको बालीमा क्षति भएमा राहत पाइने व्यवस्था भएको तिवारीको भनाइ छ ।
वन्यजन्तुबाट मानवीय क्षति, पशुधन, घरगोठ क्षति, खाद्यान्न बाली र भण्डारण गरेको अन्न तथा किसानले खोरमा पालेका कुखुरा तथा पोखरीमा पालेका माछा नष्ट भएमा पनि राहत पाइने निर्देशिकामा उल्लेख भएको उहाँले बताउनुभयो ।
मगरगोहले माछामा क्षति गरेमा राहत पाइने छ भने अजिङ्गर, जङ्गली कुकुर, ब्वाँसो, ध्वाँसेचितुवा, हिउँचितुवा र चितुवाबाट कुखुरा नष्ट भएमा पनि क्षतिपूर्ति पाइने उहाँको भनाइ छ ।
निकुञ्जले उपलब्ध गराउने राहत क्षतिको मूल्याङ्कनका आधारमा वर्षमा एकपटक मात्र बढीमा रु १० हजार प्रदान गरिने उहाँले जानकारी दिनुभयो । (रासस)