खिमराज चालिसे चन्डिगढ (भारत) ।
भारतको चन्डिगढस्थित इन्डस्ट्रियल एरियाको एक कारखानामा २४ जुलाई भएको आगलागीमा परी १९ वर्षीय नेपाली युवती ज्योती थापा (मुस्कान) को मृत्यु भएपछि पीडित परिवारको पक्षमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उभिएको छ ।
त्यस क्रममा मूल प्रवाहले गत तीन दिनदेखि अस्पताल तथा प्रशासनसामु आवाज उठाउँदै मृतक थापाको दाहसंस्कार र शोकसभा समेत सम्पन्न गरेको छ ।
चन्डिगढ इन्डस्ट्रियल एरियाको प्लट नम्बर ३५० राजदरबारमा आमाबुबासहित बस्ने मुस्कान थापाको उनले काम गर्ने फ्याक्ट्रीमा आगलागी हँुदा मृत्यु भएको थियो । त्यस क्रममा उनीसमेत १८ वर्षीय भारतीय युवती सुहानीको पनि मृत्यु भएको थियो भने अन्य तीन जना अन्य गम्भीर घाइते भएका थिए ।
मूल प्रवाहका नेताकार्यकर्ता, परिवार र आफन्तजनको सहभागितामा जुलाई २६, २०२३ का दिन दाहसंस्कार गरिएको थियो । त्यस क्रममा शोकसभा पनि सम्पन्न गरिएको थियो ।
मृतकका पिता कमल थापाको अध्यक्षतामा तथा सञ्चारकर्मी खिमराज चालिसेको सञ्चालनमा सम्पन्न शोकसभामा एक मिनेट मौनधारण गरिएको थियो ।
त्यसपछि मूल प्रवाहका नगर अध्यक्ष मानबहादुर केसीले शोक मन्तव्य राख्नुभएको थियो ।
मृतक ज्योती थापा सिन्धुली जिल्ला, कसौली गाउँपालिका वडा नम्बर ३ चपौली निवासी कमल थापाकी माइली छोरी हुनुहुन्थ्यो ।